PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

राष्ट्रवादको नाममा यसरी हुँदैछ ‘फेक न्यूज’को खेती, भारतीय प्रम मोदीले दिन्छन् आधिकारिकता



विधुर ढकाल

राष्ट्रवादको नाममा यसरी हुँदैछ ‘फेक न्यूज’को खेती, भारतीय प्रम मोदीले दिन्छन् आधिकारिकता

भारतमा राष्ट्रवादको नाममा आम मानिसहरुलाई ‘फेक न्यूज’ सेयर गर्न हौस्याइँदै आएको एक अध्ययनले देखाएको छ। बीबीसीले गरेको एक अनुसन्धानमा राष्ट्रबादको बढ्दो लहरले आम मानिसलाई झुट्टा समाचार फैलाउन हौस्याउने भूमिका निर्वाह गरिरहेको उल्लेख छ। 

राष्ट्रवादको खोक्रो नारालाई लिएर मानिसहरु तथ्य नबुझी भावनात्मक रुपमा समाचारहरु सेयर गरिरहेको अनुसन्धानले देखाएको हो। 

यसमा दक्षिणपन्थी र वामपन्थीहरु बढी सक्रिय देखिएका छन्। सामाजिक सञ्जालका विज्ञहरूका अनुसार दक्षिणपन्थीको सञ्जाल वामपन्थीको भन्दा अझ बढी संगठित रुपमा राष्ट्रवादसँग जोडिएका झुट्टा समाचारलाई अघि बढाउन सक्रिय छ।

प्रधानमन्त्री नरेन्द्र मोदी तथा उनका समर्थकहरुको सञ्जालले फेक न्यूज ओभरल्याप हुँदै आएको अनुसन्धानमा उल्लेख छ। 

गलत सूचना र झुट्टा समाचारले विश्वभरि मानिसहरूलाई कसरी असर पारिरहेको छ भन्नेबारे ‘बियोन्ड फेक न्यूज’ कार्यक्रम अन्तर्गत बीबीसी विश्व सेवाले भारत, केन्या र नाइजेरियाका आम नागरिकमाझ अध्ययन गरेको थियो।
 
अनुसन्धानमा सहभागीले बीबीसी मिडियाका अनुसन्धानकर्तालाई आफ्नो मोबाइल फोन सात दिनसम्म अध्ययन गर्न दिएका थिए। त्यसबाट उनीहरुले कस्ता समाचार सेयर गरेका छन्। उनीहरुले कस्ता सामाग्रीलाई प्रयोग भन्ने अध्ययन गरिएको थियो। 

अनुसन्धानमा सामेल गरिएका देशहरुमा मुलधारका समाचार आउटलेटप्रति अविश्वास गर्दै गएपछि मानिसहरु तथ्य जाँच विनै वैकल्पिक स्रोतको प्रयोग गर्दै गएको देखिन्छ। यसरी समाचार सेयर गर्नेहरु सत्य समाचारलाई फैलाउन सहयोग गरिरहेको भ्रममा रहेकोसमेत अनुसन्धानमा उल्लेख छ। 

यसरी समाचार सेयर हुँदा आफ्ना नजिकका मित्र, परिवारका सदस्यहरु सेयर गर्ने र त्यसलाई तथ्य जाँचविनै अरुले पनि फैलाउने गरेको देखिन्छ। 

भारतमा ह्वाटस् एप्सबाट भएको फैलिएको अफवाहका कारण हिंसासमेत भड्किएको थियो। बीबीसीको छुट्टै अनुसन्धानले गत वर्षमात्र सामाजिक सञ्जालमा फैलिएको गलत सन्देशका कारण ३२ जना मारिएको उल्लेख छ। 

गत जुलाईमा आसाम गुहाटीका निलोटपाल दास पनि यस्तै सिकार भएका थिए। संगीतकारसमेत रहेका उनी र उनका साथी अभिजित नाथलाई यस्तै समाचार हेरेकै भरमा गाउँलेको समूहले विभत्स हत्या गरेको थियो। सामाजिक सञ्जालमा फैलिएको बच्चा अपहरण गर्ने मानिसहरु काला हुन्छन् भन्ने गलत अफवाहका कारण कालो वर्णका उनीहरु हिंसाको सिकार भएका थिए।  

सन् २०१८ मा फैलिरहेको डिजिटल सूचनाको बाढीले समस्या झन् बढाउँदै लगेको छ।

अनुसन्धानमा सहभागीहरूले झुट्टा समाचारका वास्तविक स्रोत पत्ता लगाउन खासै प्रयत्न नगर्ने र ती सूचना भरपर्दो रहेको मान्न वैकल्पिक स्रोत नखोज्ने गरेको देखिएको छ।

फेसबुक पोस्टमा गरिने टिप्पणी, पोस्टमा राखिने तस्बिरहरू र ह्वाट्स्एपमा परिवारका सदस्य तथा साथीहरूले पठाउने सूचनाको पुष्टि नगरी पत्याउने गरेको पाइएको छ।

भारतले तीव्र गतिमा प्रगति गरिरहेको, हिन्दू धर्म महान् थियो र फेरि महान् बनाउनुपर्छ अथवा भारतको प्राचीन ज्ञान हरेक क्षेत्रमा अझै सर्वश्रेष्ठ छ, गाईले अक्सिजन लिन्छ र अक्सिजन नै फाल्छ जस्ता समाचार भारतमा निकै फैलाउने गरिएको छ। यसको सत्यता जाँचविनै सामाजिक सञ्जालमा सेयर हुन्छ। यस्तो सन्देश पठाउनेलाई लाग्छ कि उनीहरु राष्ट्र निर्माणका लागि योगदान पुराइरहेका छन्। 
नाइजेरिया र केन्यामा भने ब्रेकिङ न्यूज सेयर गर्नेको होड बढिरहेको उल्लेख छ। 

यसरी फेक न्यूज फैलनुमा मुलधारका मिडियाहरु पनि जिम्मेवारी पाइएको छ। अनुसन्धान अनुसार मुलधारका मिडियाले यस्ता गलत अपवाह फैलाउनबाट रोक्न आफूलाई मजबुद बनाउन सकेका छैनन्। मानिसहरु मुलधारका भिडिया राजनीतिक र व्यवसायिक दबाबमा रहेर सत्य लेख्दैनन् भन्ने भ्रम बढी छ। 

बीबीसीले फेक न्यूज फैलाउने करिब १६ हजार एकाउन्ट मार्फत् अनुसन्धान गर्दा मोदीका समर्थकहरु एकाआपसमा जोडिएर यसमा सक्रिय रहेको देखिएको छ।

हिन्दुत्व, राष्ट्रवाद, मोदी, सेना, देशभक्ति, पाकिस्तान विरोध, अल्प संख्यकलाई दोषी देखाउने ट्वीटर एकाउन्टहरु एकापसमा जोडिएका छन्। 
गलत सन्देशविरुद्ध पनि समाजिक सञ्जालमा सक्रिय हुनेहरु छन् तर उनीहरु संगठित छैनन्। उनीहरु मोदी, वा हिन्दुत्व वा राजनीतिको विरोध गर्छन्। तर, अलग अलग विचारधाराबाट प्रेरित उनीहरु मोदीका समर्थकहरु जस्तो एक जुट भएर सक्रिय हुँदैनन्। 

यस्तै तस्बिर ह्वाट एप्समा पनि देखिन्छ। ह्वाट् एप्समा हिन्दु राष्ट्रवादीको रुझानलाई तीन वर्गमा विभाजन गर्न सकिन्छ। 

पहिलो पुरातनवादी हिन्दु जो कुनै सामाजिक परिवर्तनलाई स्वीकार गर्दैनन्। दोस्रो अलि प्रगतीशील छन् उनीहरु अन्ध भक्त होइनन् तर हिन्दु धर्मको अस्थित्व रक्षा प्रति चिन्तित छन्। यी दुवै वर्गले मोदीलाई आफ्नो नेता मान्छन्। 

अर्को वर्ग भनेको कट्टरपन्थी हो। उनीहरु अल्पसंख्यकप्रति उग्र हिंस्रक विचार राख्छन्। 

यस्तैमा मोदी विरोधीहरु चार वर्गमा विभाजन गर्न सकिन्छ। नोटबन्दी, जीएसटीलगायतको विरोध गर्ने समूह, अर्को समूह अल्पसंख्यक हो जो उग्र हिन्दुवादी राजनीतिको विरोध गर्छ। तेस्रो समूह मोदीलाई भोट दिएका र उनको काम देखि निराश भएका छन् भने चौथो समूह उनका राजनीतिक विरोधी छन्। उनीहरु समाजिक सञ्जालमा संगठित भने छैनन्। स्वतन्त्र रुपमा देखिन्छन् उनीहरु। 

फेक न्यूज फैलाउनेलाई फलो गर्छ मोदीको ट्वीटर एकाउन्ट

अनुसन्धानले भारतीय प्रधानमन्त्री मोदीको आधिकारिक ट्वीटर एकाउन्टले यस्ता केही एकाउन्टलाई फलो गरेको छ जसले फेक न्यूज फैलाउँछ। 

मोदीको ट्वीटर हेन्डलले जति एकाउन्टलाई फलो गरेको छ त्यसमध्ये ५६.२ प्रतिशत भेरिफाइड छैनन्। उनीहरु जो पनि हुन सक्छन्। यसरी फेरिफिकेसन नभएका एकाउन्ट मध्ये ६१ प्रतिशतले बीजेपीको प्रचार गर्छन्। 

बीजेपीले भने प्रधानमन्त्रीले यी एकाउन्टलाई फलो गरेर आम मानिससँग जोडिएको दाबी गर्दै आएको छ। तर, यी अकाउन्टहरु साधारण भने छैनन्। किनकि यिनीहरुको औशत फलोअर २५ हजार भन्दा माथि छ भने करिब ५० हजार ट्वीट गरिएको छ। 
प्रधानमन्त्रीले यी एकाउन्टलाई फलो गरेर उनीहरुलाई मान्यता दिएका छन्। 

अनुसन्धानबाट सामाजिक सञ्जालमा शब्द भन्दा बढी तस्बिरमार्फत् फेक न्यूज फैलिने उल्लेख छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell