PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कलकत्ताबाट बनारस आइपुग्यो कन्टेनरसहितको पानीजहाज, कहिले आइपुग्छ नेपाल?



कलकत्ताबाट बनारस आइपुग्यो कन्टेनरसहितको पानीजहाज, कहिले आइपुग्छ नेपाल?

काठमाडौं: भारतको कलकत्ताबाट गंगा हुँदै मालवाहक पानीजहाज बनारस आइपुगेको छ। मालवहाक पानी जहाजलाई सोमवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन्। 

उनले बनारस गंगा किनारमा बनाइएको मल्टी मोडल टर्मिनलकोसमेत उद्घाटन गरे। गत महिना ३० तारिखमा कोलकाताबाट हिँडेका पानी जहाज सोमवार साँझ बनारस आइपुगेको हो। 

भारतले सन् २०१६को जुनदेखि बनारसमा मल्टी मोडल टर्मिनल बनाउन थालेका थियो। ३३.३४ हेक्टर जमिनमा फैलिएको टर्मिनलमा वार्षिक १२ लाख ६० हजार टन सामान ओराल्न सकिन्छ।

भारतले विश्व बैंकको सहयोगमा हल्दियादेखि बनारससम्म जलमार्ग विकास आयोजना निर्माण गरिरहेको छ। एक खर्ब बढीको लगानी रहेको यस परियोजनामा विश्व बैंक र भारतसरकारको बराबर लगानी छ। 

पानी जहाजलाई स्वागत गर्दै मोदीले भारतको पूर्वी उत्तर प्रदेश र पूर्वी भारत जलमार्गबाट बंगालको खाडीसम्म जोडिएको बताएका छन्। उनले जलमार्गबाट समय र पैसाको बचन हुनुका साथै सडकमा जाम कम हुने बताएका छन्। 

‘केही समय पहिले मैले नदीमार्गबाट आएको पहिलो कन्टेनर भेसललाई स्वागत गरे। आज म प्रफुल्लित छु की देशले जे सपना देखेको थियो। आज साकार भयो,’ उनले भने, ‘यो कन्टेनर भेसल चल्नुको मतलव हो की पूर्वी उत्तर प्रदेश, पूर्वाञ्चल र पूर्वी भारत जलमार्गबाट अब बंगालको खाडीसँग जोडिएका छन्। 

उनले कासी, पूर्वाञ्चल, पूर्वी भारत र पूरै भारत वर्षका लागि आजको दिन ऐतिहासिक भएकोसमेत बताए।
 

साहिबगञ्जबाट नेपाल आउने छ पानी जहाज


भारतले साहिबगञ्जमा मल्टी मोडल टर्मिनल निर्माण गर्दै छ। यो टर्मिनलको प्रयोग नेपालले गर्दै नेपालसम्म पानी जहाज ल्याउने तयारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चैतमा भएको भारत भ्रमणका क्रममा दुई देशबीच जलमार्गको अध्ययन गर्ने सहमति भएको थियो। सोही अनुसार अध्ययन भइरहेको छ। 

विराटनगरदेखि साहिबगञ्ज १ सय ५० किलोमिटर पर छ। यो टर्मिनल आगामी मेमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यो टर्मिनल सञ्चालनमा आएपछि नेपाल आउने सामान पनि जलमार्गबाट कलकत्ता हुँदै साहिबगञ्जबाट विराटनगरबाट नेपाल प्रवेश गर्नेछ। 

बनारसबाट हल्दिया आइपुग्ने जलमार्गको बीचमा कोशी नदी मिसिन्छ भने पटना नजिकै पुग्दा गण्डकी (नारायणी) नदी गंगामा मिसिन्छ। त्यहाँसम्म आइपुग्ने पानीजहाजलाई नारायणीमा ल्याउने गरी अध्ययन भइरहेको छ। 

असोजको पहिलो साता नेपालबाट गएको टोलीले बनारसदेखि कलकत्तासम्म अध्ययन भ्रमण गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell