PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सेनाको हेलिकप्टर चढेर बेनी पुगेका गृहमन्त्री र प्रचण्ड 'रोग पखाल्न' तातोपानी कुण्डमा डुबे



पहिलोपोस्ट

सेनाको हेलिकप्टर चढेर बेनी पुगेका गृहमन्त्री र प्रचण्ड 'रोग पखाल्न' तातोपानी कुण्डमा डुबे

काठमाडौँ : सेनाको हेलिकप्टर चढेर म्याग्दीको सदरमुकाम बेनी पुगेका गृहमन्त्री रामबहादुर थापा बादल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नजिकैको तातोपानी कुण्डमा नुहाएको दृश्य स्थानीय समाचार पोर्टल बेनी अनलाइनले सार्वजनिक गरेको छ। 

फोटो र भिडियोमा गृहमन्त्री 'द नर्थ फेस' लोगो भएको टोपी लगाएरै कुण्डमा डुबेका देखिएका छन् भने प्रचण्डको चाहिँ जिउमा अण्डरवेयरबाहेक अरु केही छैन। 

बेनी अनलाइनका अनुसार जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको उद्घाटनसहित जिल्लाको निरीक्षणका लागि गृहमन्त्री रामबहादुर थापा बादल पत्नी नैनासहित त्यहाँ पुगेका हुन्। प्रचण्ड पनि आफ्नी पत्नी सीता र छोरी गंगा दाहालसहितका आफन्तसँग कुण्डमा स्नान गर्न पुगेका हुन्। 

प्रचण्ड र उनकी पत्नी तीन दिनसम्म बेनीस्थित होटल याकमा बसेर नियमित कुण्डमा स्नान गर्ने कार्यक्रम रहेको स्रोतलाई उद्‍धृत गर्दै बेनीअनलाइनले जनाएको छ। 

छोरा प्रकाशको मृत्युपछि प्रचण्ड पत्नी सीता बिरामी पर्दै आएकी छिन्। उनलाई उपचारका लागि केही अघि सिंगापुर लगिएको थियो। त्यतिबेला त्यहाँको स्विमिङ पुलमा वाटर थेरापी गर्दै गरेको फोटो पनि सार्वजनिक भएको थियो। 

बेनी नगरपालिकास्थित सिंगामा पर्ने तातोपानी कुण्डमा नुहाउँदा रोग पखालिने विश्वास छ। २०४२ सालमा यो तातोपानीको मुहान फेला परेपछि कुण्ड बनाइएको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell