PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

२४ घण्टा नथाक्ने, तलब पनि दिन नपर्ने एआई न्युज एङ्कर नेपालमा आयो भने के होला? 



रीना मोक्तान

२४ घण्टा नथाक्ने, तलब पनि दिन नपर्ने एआई न्युज एङ्कर नेपालमा आयो भने के होला? 

'सबै जनालाई अभिवादन। म आर्टिफिसियल इन्टिलिजेनस  'एआई' समाचारवाचक। आज मेरो सिन्ह्वा समाचार समितिमा पहिलो दिन हो।’ 
यो परिचयपछि मान्छे झैँ देखिने तर रोबोटले टिभीमा समाचार पढ्न थाल्छ।

विश्वकै पहिलो एआई न्युज एङ्करलाई चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले काममा लगाएको हो।


२४ घण्टा नथाक्ने र तलब पनि महिनैपिच्छे दिनु नपर्ने यस्ता एआई न्युज एङ्करबारे नेपाली न्युज एङ्करहरु के सोच्छन् त?

चार वर्षदेखि न्यूज ट्वान्टी फोर टेलिभिजनमा समाचार वाचन गर्दै आएकी रश्ना पौडेललाई जागिर धरापमा पर्ने चिन्ता छ। तर यसले समाचार वाचनसँगै रिपोर्टिङका काम गर्न नसक्ने तर्क गर्छिन्।

उनले यो आविस्कारले समाचार वाचनमै करिअर बनाउन चाहनेलाई निरुत्साहित बनाउने बताइन्। सुनाइन् 'यसलाई नै करियर बनाएर अघि बढ्नेहरुलाई हत्तोत्साहित गर्छ। तर,हामीले सकरात्मक पनि सोच्नुपर्छ। यस्तो कुराले मिडियाहरु प्रविधितर्फ बढेको देखिन्छ।‘ 

हाल एपी वानमा समाचार वाचन गर्दै आएकी रुपा खड्का भट्टराई, यो प्रविधि नेपालमा असम्भव रहेको दावी गर्छिन्। 


'हामी समाचार मात्र वाचन गर्दैनौं। त्यसले समाचार मात्र वाचन गर्छ। तर हामी रिपोर्टिङ अनि सम्पादनमा पनि सहभागी हुन्छौं', १५ वर्षदेखि समाचार वाचन गर्दै आएकी उनले भनिन्। 

यसबारे थाहा पाएपछि उनले त्यो समाचार नियालेर हेरिन्। समाचार पढ्दा चलाएको ओठ अप्राकृतिक देखियो। दर्शकले समाचारवाचक चाहिँ प्राकृतिक खोज्ने भएकोले रुपालाई एआई समाचारवाचक खास लागेन। 

'एक त दर्शकले टिभी हेर्न कम गर्न थालेका छन्। त्यो एआई समाचार वाचकले समाचार पढ्न थालेपछि दर्शकले टिभी हेर्न छाड्छन्, उनले थपिन्, 'ऊ रिपोर्टिङमा त जाँदैन नि त्यही भएर मलाई खास लागेन'। 

पहिलोपटक एआई न्युज एङ्करबारे सुन्दा पहिले एपी वानमा र हाल हिमालय टिभीमा समाचार पढ्ने तयारीमा रहेकी सृजना कुँवर पोख्रेल छक्क परिन्। उनलाई सुरुमा नै लाग्यो 'अब हाम्रो काम चाहीँ चुनौतिमा छ'। 

यसले उनलाई समाचारलगायत डेस्कमा पनि काम गर्नुपर्छ भन्ने बोध गरायो। 'अब मलाई सम्पादनदेखि डेस्कमा बसेर काम गर्नुपर्छ जस्तो लाग्यो। समाचारवाचन मात्र मेरो काम भनेर सोच्नु भएन’, उनले भनिन्। 

नेपाल टेलिभिजनकी समाचारवाचिका अनिता बिन्दू एआईको आविस्कारमा डराई हाल्नुपर्ने अवस्था नरहेको बताउँछिन्। उनी पनि एआई समाचार वाचक अप्राकृतिक देखिने तर्क गर्छिन्। 

'यसबारे मलाई डिटेलमा त थाहै छैन। तर हामी त प्राकृतिक कुरा खोज्छौं नि। त्यसमा कत्तिको प्राकृतिक हुन्छ', उनले सुनाइन् , 'प्रविधिको विकास एकातर्फ राम्रो हो। एआई समाचार वाचकले त जे सिकायो त्यो गर्ने हो। हामीसँग त धेरै एक्सप्रेसन छ। त्यसले मानिसले गर्ने सबै हाउभाउ त गर्न नसक्ला।‘ 

एपीवानबाट कान्तिपुर फर्केका रुपेश श्रेष्ठ यसले मानिसलाई विस्थापित गर्न नसक्ने दावी गर्छन्। उनले पहिलोपोस्टलाई भने, 'त्यो प्रविधिको विकास हो। मान्छेलाई विस्थापित गर्न चाहिँ त्यसले सक्दैन जस्तो लाग्छ।‘ 

प्रविधिको हिसाबले एआई न्युज एङ्कर रोचक भएको उनी स्वीकार्छन् तर  टेलिभिजनमा मानिसले जसरी काम गर्न नसक्ने उनलाई लाग्छ।

एआई न्युज एङ्करले मानिसले जसरी सोच्न र कारण दिन नसक्ने उनको तर्क छ। उनी भन्छन् 'मानिसका सबै एक्सप्रेसन त्यसले दिन सक्दैन। त्यसलाई मानिसले सृष्टि गरेको हो।‘ 

उनले उदाहरण पनि दिए,  'काठमाडौंमा रेष्टुराँमा रोबोट वेटर देखिए पनि सबैले त्यसको प्रयोग गरेनन्। 'ए आई' न्यूज रिडर, एउटा प्रयोग हो यसले मानिसलाई अझै बढी काम गर्नका लागि उत्साह दिन्छ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell