PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'म पत्ता लगाउँछु', 'अपराधीलाई छाड्दिनँ' भन्दै नेपाल प्रहरीका कुकुर भाइबर मेसेजमा



पहिलोपोस्ट

'म पत्ता लगाउँछु', 'अपराधीलाई छाड्दिनँ' भन्दै नेपाल प्रहरीका कुकुर भाइबर मेसेजमा

काठमाडौँ : भाइबरको मेसेजमा अहिले ‘म पत्ता लगाउँछु’ भन्दै गरेको एउटा कुकुर देख्न पाइन्छ। जुलेट नामको यो कुकुर नेपाल प्रहरीको हो। यसले बन्दूक र विस्फोटक पदार्थ पत्ता लगाउने काम गर्छ।  

त्यस्तै ‘अपराधीलाई छोड्दिनँ’ भन्दै गरेको अर्को कुकुर पनि भाइबरको मेसेजमा भेट्न सकिन्छ। जोली नामको यो कुकुर नेपाल प्रहरीसँग भएका अन्य कुकुरभन्दा विशेष क्षमता भएको तालिम प्राप्त कुकुर हो।

करिब एक वर्ष तालिम पाएको प्रहरीको 'जोली'सित ९६ घण्टा पुरानो घटनाको समेत अनुसन्धान गर्ने क्षमता छ।

जुलेट र जोलीमात्र हैन भाइबरले कुकुर तिहारको दिन पारेर नेपाल प्रहरीका ८ वटा कुकुरका स्टिकर सार्वजनिक गरेको हो। यी १२ वटा स्टिकरहरु भाइबरबाट निःशुल्क डाउनलोड गरेपछि जसलाई पनि मेसेजमार्फत् पठाउन मिल्छ। 

भाइबरमा राखिएका नेपाल प्रहरीका अन्य कुकुरहरुमा सोल (त्रिभुवन विमानस्थलमा हतियार र विस्फोटक पदार्थ खोज्न खटिने), रेस्क्यु (सुख्खा पहिरोमा परेका एक इञ्जिनियरको शव पाँच दिनपछि फेला पार्ने), ब्रुक (बिमस्टेक सम्मेलनमा हतियार र विस्फोटक पदार्थ पत्ता लगाउन प्रयोग भएको), लिसा (सर्ट सुँघेर मर्डर केसका अपराधी पत्ता लगाउने), सिया (लागू औषध व्यापारीलाई पक्रन सघाउने) र भुन्टी (श्रीमान-श्रीमतीलाई मार्न प्रयोग भएको आइरन रड सुँघेर अपराधी पत्ता लगाउने) छन्। 

नेपाल प्रहरीले अपराध अनुसन्धानमा कुकुरहरुको सहयोग लिन थालेको ५० वर्ष पुगेको अवसरमा कुकुर तिहारको दिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको कुकुर तालिम केन्द्रमा आयोजित कार्यक्रममा औपचारिक रूपमा स्टिकरको उद्घाटन गरेका थिए। 

तालिम केन्द्रका प्रहरी निरीक्षक रामचन्द्र सत्यालका अनुसार नेपालको लागि भाइबरको आधिकारिक कम्पनी भित्री प्राइभेट लिमिटेडको समन्वयमा स्टिकर प्रयोगमा ल्याइएको हो। 

‘सहकार्य भए अनुसार नै हामीले कम्पनीलाई कुकुरको बारेमा सम्पूर्ण जानकारी उपलब्ध गराएका हौँ। यसले नेपाल प्रहरीको कुकुरको बारेमा आम मानिसलाई जानकारी गराउन सहयोग पुग्ने अपेक्षा राखेका छौँ,' निरीक्षक सत्यालले भने।

अहिले नेपाल प्रहरीसँग देशभर ७९ वटा तालिम प्राप्त कुकुर रहेका छन्। केन्द्रीय कुकुर तालिम केन्द्रमा मात्र ४१ वटा कुकुर छन्। त्रिभुवन विमानस्थलमा ७ वटा कुकुर खटाइएका छन्। कुकुरको हेरचार र तालिमको लागि ६० जना प्रहरी रहेका छन्।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell