PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन



पहिलोपोस्ट

उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन

काठमाडौँः आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिइएको थियो। उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती र नख्खु नदी किनारका अन्य स्थानमा पनि छठीघाट निर्माण गरी सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो।

गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारको दायाँबायाँ बेहुलीझैँ सिङ्गारेर छठ घाट बनाइएको थियो। भक्तजनहरुले मङ्गलबार बेलुकी यहाँ अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए। तिनै भक्तजनले आज उदाउँदो सूर्यलाई अर्घ दिएर चार दिन लामो सूर्य उपासना पर्व अन्त्य गरेको छठ पूजा समितिका सदस्य चन्द्रकान्त यादवले जानकारी दिए।

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजनले नदी किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गरेका थिए। आइतबार बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ। दुई दशक अघिदेखि राजधानीमा शुरु भएको छठमा प्रत्येक वर्ष सहभागी हुने भक्तजनको सङ्ख्या बढिरहेको छ। विसं २०४६ अघि छठ तराई क्षेत्रमा मात्र मनाइन्थ्यो। हाल पहाडी क्षेत्रसहित प्रमुख शहरमा छठको रौनक बढ्न थालेको छ। यस पर्वमा पहाडी क्षेत्रका मानिस पनि उत्तिकै सहभागी हुन थालेका छन्। तराई र पहाडका मानिसका बीच सामाजिक सद्भाव बढाउने पर्वका रुपमा छठ स्थापित हुन थालेको छ।


पोखरा- उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै पोखरामा छठ पर्व आज विधिवत रुपमा सम्पन्न भएको छ। जलाशयको किनारमा छठ पूजाका लागि राखिएका ठेकुवा, भुसुवा, केरा, मिठाई, उखुलगायतका प्रसाद सूर्यदेव र षष्ठी माता अर्थात् छठी मातालाई अघ्र्य अर्पन गरेपछि पर्व सम्पन्न भएको हो।

पोखराको फेवातालस्थित केदारेश्वर मन्दिरको क्षेत्र र सेती गण्डकी र कालीखोलाको दोभानमा रहेको रिट्ठाघाटमा ब्रतालुले विधिपूर्वक छठ पुजन सम्पन्न गरेका हुन्। यी पर्व हेर्नका लागि ठूलो सङ्ख्यामा पोखरेली पूजास्थलमा पुगेका थिए। मधेशी समुदायमा मात्र सीमित रहेको यो पर्व केही वर्षदेखि पहाडी समुदायमा पनि आफ्नो प्रभाव विस्तार गर्दै गइरहेको देखिन्छ।

बुटवल- रुपन्देहीको शुद्धोद्धन गाउँपालिका–१ घमाहा खोलामा उल्लासपूर्ण वातावरणमा छठ पर्व सम्पन्न भएको छ।

छठ पूजा गर्ने स्थल ध्वजापताकाले सजाइएको थियो। राम्रा र सुकिला लुगा लगाएर खोलामा पानीभित्र रहेर महिलाले सूर्यदेवको आरधाना गर्दै अर्घ दिएर दीप प्रज्जवलन गरेका थिए।

जनकपुरधाम- आस्थाको महापर्व छठका ब्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन्। ब्रतालुले गङ्गासागर र अरगजा लगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ अर्पण गरेका थिए।

अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ। सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ। छठको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो। छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो।

अस्ताउने र उदाउने सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो। धनी, गरीब एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ।

आफ्नै खेतवारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यस पर्वको थप मौलिकता विशेषता हो। सूर्यको आराधनाबाट चर्मरोग निको हुनुकासाथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ। ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि ब्रतालुले यस पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ। छठका अवसरमा बेहुलीझैँ सिङ्गारिएका पोखरी र तलाउमा नववस्त्रमा सजिएका श्रद्धालुको भीड लागेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell