PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

आज किन बालुवाटारबाट बाहिरिएनन् प्रधानमन्त्री ओली? निस्क्रिय सिंहदरबार, सक्रिय बालुवाटार



विधुर ढकाल

आज किन बालुवाटारबाट बाहिरिएनन् प्रधानमन्त्री ओली? निस्क्रिय सिंहदरबार, सक्रिय बालुवाटार

काठमाडौं : लामो समय स्वास्थ्य अवस्था बिग्रिएपछि सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार पहिलो पटक सार्वजनिक कार्यक्रममा जाने कार्यक्रम तय थियो। तर, उनी आज पनि कार्यक्रममा उपस्थित भएनन्। 

कोलम्बो प्रोसेसको छैटौं मन्त्रीस्तरीय बैठकको उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथिको रुपमा निम्त्याइएको थियो। प्रधानमन्त्रीको सचिवालयले उनी कार्यक्रममा सहभागी हुने कार्यसूची समेत तयार पारेको थियो। लामो समय थलिएका प्रधानमन्त्री आज सार्वजनिक कार्यक्रममा उपस्थित मात्र हुँदै थिएनन्, बालुवाटारबाट पनि महिना दिन पछि औपचारिक कार्यक्रमका लागि बाहिरिँदै थिए।  

टीका लगत्तै अस्वस्थ

प्रधानमन्त्री ओलीले दशैंको दिन राष्ट्रपति कार्यालय टिका थाप्न पुगेका थिए। त्यसयता उनले बालुवाटारमै पूर्णिमासम्म सर्वसाधारणलाई दशैँको टिका लगाएर बसेका थिए। प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंहका अनुसार उनलाई दशैँको टिका लगाईदिने क्रममा संक्रमण भएको थियो।
 
त्यसयता कार्तिक १० गते शनिबार नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को चियापान कार्यक्रममा सहभागी हुने कार्यक्रम तय थियो। तर, सो कार्यक्रममा प्रधानमन्त्री अस्वस्थ भएपछि उपस्थित भएनन्। साँझसम्म उनी आउने आशमा कार्यकर्ताहरु बसेका थिए। त्यसको अघिल्लो दिन शुक्रबार उनी त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पुगेका थिए। शुक्रबार नै मन्त्रिपरिषदको बैठक बालुवाटारमा डाकिएको थियो। बैठक ११ गते आइतबार ११ बजे सम्मका लागि सारियो, उनको स्वास्थ्य अवस्थाका कारण। 

त्यसको अघिल्लो दिन ८ गते चिकित्सक सन्तकुमार दास बालुवाटारमै पुगेर उनको स्वास्थ्य परीक्षण गरेका थिए। उनीसँग चिकित्सक दिलिप शर्मासमेत थिए।

त्यसयता उनी स्वास्थ्यलाभका लागि बालुवाटारमै थिए। उनी तन्दुरुस्त नभएकै कारण ११ गते ११ बजे बस्ने भनेको बैठक तीन बजेमात्र सुरु भयो। बैठक पनि छोटै समयमा टुंगियो। 

१२ गते सोमबार बिहान १ बजे उनका निजी चिकित्सक दिव्या सिंह अमेरिकाबाट काठमाडौँ आइपुगिन् र विहान २ बजे नै बालुवाटर पुगिन्। उनले प्रधानमन्त्रीलाई बिहान ४ बजे नै त्रिवि शिक्षण अस्पताल पुराइन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्टको सीसीयुमा राखेर उपचार गरियो। उनी १६ कार्तिक, शुक्रबार उपचारपछि बालुवाटार फर्किए। 

सिंहदरबार निष्क्रिय बालुवाटार सक्रिय

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि प्रधानमन्त्री कार्यालयसमेत पुगेका छैनन्। सिंहदरबारको कामसमेत बालुवाटारबाटै हुँदै आएको छ। 
त्यसपछि उनी देवकोटा जयञ्ती विशेष समारोहमा उनी सहभागी भए। प्रधानमन्त्रीको अस्वस्थ्ताका कारण कार्यक्रम बालुवाटारमै आयोजना गरिएको थियो। उनले कार्यक्रममा लक्ष्मीप्रसाद देवकोटाको घर किनेर संग्रालय बनाउने घोषणासमेत गरे। 

कार्यक्रममा उनले श्रष्टाहरुलाई स्वास्थ्य प्रति सजग हुन सल्लाह दिँदै चुरोट नखान सुझाबसमेत दिएका थिए। 

बालुवाटारमै उनले आफ्ना बहिनीहरुबाट भाइटिका लगाए। त्यसपछि बालुवाटारमै २५ गते मन्त्रिपरिषदको बैठक बस्यो। बैठकले २२ वटा निर्णय गरेको थियो। त्यस्तै २९ गते बिहीवार पनि बालुवाटारमै मन्त्रिपरिषदको बैठक बस्यो। 

आज किन निस्किएनन् बालुवाटारबाट?

बालुवाटारमा २५ गते सम्पन्न मन्त्रिपरिषदको बैठकले कार्तिक २९ र ३० गते कोलम्बो प्रोसेसको उच्च अधिकारीस्तरीय बैठक र मन्त्रिस्तरीय परामर्स बैठक काठमाडौँमा गर्ने निर्णय गरेको थियो। बढी कामदार निर्यात गर्ने दक्षिण तथा दक्षिण पूर्वी एसियाका १२ देशहरुको समूह हो कोलम्बो प्रोसेस। हाल नेपाल यसको अध्यक्ष राष्ट्र समेत हो। 

उच्च अधिकारीस्तरीय बैठक बिहीवार सम्पन्न भएको छ। बैठकले आजको मन्त्रिस्तरीय परामर्स बैठकको एजेण्डा तय गरेको थियो। आज सुरु भएको मन्त्रिस्तरीय बैठकको उद्घाटनका लागि प्रधानमन्त्री ओली होटल सोल्टी पुग्ने कार्यक्रम बालुवाटारले तय गरेको थियो। तर उनी सो कार्यक्रममा सहभागि भएनन्। 

प्रधानमन्त्री व्यस्तताका कारण कार्यक्रममा सहभागी नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले जानकारी दिए। ‘कार्यक्रममा सहभागी हुने कार्यसूची थियो। तर उहाँको व्यस्तताका कारण सहभागी नहुनु भएको हो। विरामी भएका कारण होइन्,’ उनले पहिलोपोस्टसँग भने।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell