PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपालमा फेरि व्यवसायिक रुपमा 'हट एअर बेलुन' उडान हुने



पहिलोपोस्ट

नेपालमा फेरि व्यवसायिक रुपमा 'हट एअर बेलुन' उडान हुने

काठमाठौँ : बेलुनमा झुन्डिएर आकाशमा उड्दै सुन्दर दृश्यावलोकन गरिने साहसिक खेल 'हट एअर बेलुन'को अब नेपालमा फेरि व्यावसायिक रुपमा उडान हुने भएको छ।

सन् १९९८ को नेपाल भ्रमण वर्षमा काठमाडौंमा हट एअर बेलुनको उडान सुरु भएको थियो। केही समय संचालनमा आए पनि उक्त साहसिक उडान धेरै टिक्न सकेन।

नेपाल बेलुन प्रालीले पर्यटकीय नगरी पोखरामा हट एअर बेलुन उडान कार्य गर्न लागेको हो। आयोजकले शुक्रवार पत्रकार सम्मेलन गर्दै बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने खेलको रुपमा हट एअर बेलुनलाई परिचय गराउन पाउँदा खुशी लागेको बताए।

नेपाल बेलुन प्रालिले यसका लागि स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग करिब २ करोड लगानीमा बेलुन खरिद समेत गरिसकेको छ। स्पेनबाट दुई वटा बेलुन खरिद गरेको कार्यक्रमका संयोजक प्रविण महर्जनले बताए।

हट एअर बेलुन उठान मंसिर १ गतेदिख सुरु हुँदैछ। हट एअर बेलुन पोखराको धम्पुसबाट सुरु गरि मार्दी खोलाको तिरमा अवतरण गरिने आयोजकले जनाएको छ।

यसबाट प्रत्यक्ष रुपमा २५ जनालाई रोजगारी पुग्ने आयोजकको भनाई छ।

हट एअर बेलुनमा एक पटकमा आठ जनासम्मलाई एक घण्टा उडान गर्न सकिनेछ। त्यसका लागि नेपालीले प्रतिव्यक्ति ११ हजार रुपैयाँ र विदेशीले १६० अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ।

यस खेलका लागि तालिमप्राप्त बेलुन पाइलटद्वारा उडान गरिनेछ त्यसका लागि आयोजकले भारतबाट दक्ष पाइलट ल्याउने आयोजकले जनाएको छ। यस्तै ग्राउण्डह्याण्डलिङका लागि स्वदेशी युवाहरुलाई तालिम दिएर तयार पारिएको आयोजकले जनाएको छ।

अब नेपालकै स्थानीयलाई तालिम दिई स्वदेशमै हट एअर बेलुन उडानका लागि दक्ष जनशक्ति तयार पार्ने लंक्ष्य समेत आयोजकको छ।

नेपाल बेलुन प्रालीले हट एअर बेलुन उठानका लागि नेपाल सरकार, पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणसँग इजाजत लिने र हट एअर बेलुनबाट बन्जी जम्प, इकाई डाइभ लगायत हट एअर बेलुनसँग सम्बन्धित अन्य गतिविधि गर्ने उदेश्य लिएको कार्यक्रम संयोजक महर्जनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell