PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

आन्दोलनको तयारीमा कांग्रेस: सातवटै प्रदेशमा छलफल गर्दै



बीपी साह

आन्दोलनको तयारीमा कांग्रेस: सातवटै प्रदेशमा छलफल गर्दै

काठमाडौं : नेपाली कांग्रेसले कम्युनिष्ट नेतृत्वको सरकारविरुद्ध आन्दोलनको तयारी थालेको छ। शान्तिपूर्ण आन्दोलनको तयारी चरणमा सातवटै प्रदेशमा कांग्रेसले सुझाव संकलन गर्न लागेको हो। 

उपसभापति विमलेन्द्र निधिको संयोजकत्वको राजनीतिक समितिले आन्दोलन लगायतको विषयमा मंसिर २ गतेदेखि ६ गतेसम्म सातवटै प्रदेशमा सुझाव संकलन गर्न लागेको हो। 

निधिको संयोजकत्वको समितिले छलफल गरी तयार पार्ने राजनीतिक प्रतिवेदनको मस्यौदा राजनीतिक समितिमा छलफलपछि केन्द्रीय समिति र अन्तिममा महासमिति बैठकमा पेश हुनेछ। 

महासमिति बैठकबाट पारित हुने राजनीतिक प्रतिवेदनका आधारमा आन्दोलनको स्वरुप निर्धारण हुनेछ। देशमा आएको परिवर्तन वर्तमान सरकारले समाप्त पार्न खोजेको र स्थानीय तहसम्म जनताले परिवर्तन महसुस गर्न नसकेको भन्दै कांग्रेसले आन्दोलनको तयारी थालेको हो।

शुक्रबार बसेको राजनीतिक समितिको बैठकले प्रदेशस्तरमा छलफल गर्ने निर्णयसँगै आन्दोलनका विषयलाई छलफलमा ल्याउन लागेको हो।
‘हामीले प्रदेशमा छलफलका लागि सम्भावित दश वटा शीर्षक चयन गरेका छौं,’ आन्दोलनबारे पहिलोपोस्टसँग उपसभापति निधिले भने, ‘देशमा भएको राजनीतिक परिवर्तनको विषयमा वैचारिक छलफल सातवटै प्रदेशमा गर्नेछौं र दस्ताबेज तयार पार्नेछौं।’

संघीयता, धर्मनिरपेक्षता, विदेश नीति, सरकारको कार्य सञ्चालन, स्थानीय तह, प्रदेश सरकार र शान्तिपूर्ण आन्दोलनका विषयमा छलफल गरी राजनीतिक प्रस्ताव तयार हुने उपसभापति निधिले जानकारी दिए।

‘संघीयता, धर्मनिरपेक्षता, लोकतन्त्र लगायतका मुलभूत परिवर्तन कांग्रेसबाटै सम्भव भएको छ। यसको भविष्य सुरक्षित गर्ने कांग्रेसकै जिम्मेवारी हो,’ निधिले भने, ‘भएको परिवर्तनलाई अहिलेको कम्युनिष्ट सरकारले क्षतविक्षेत पार्न खोजेको छ। त्यसको विरुद्धमा जागरण र चेतनाको अभियान चलाउन सक्छौं। शान्तिपूर्ण आन्दोलनमा जाने तयारी हो।’
 

प्रदेशमा छलफलको यस्तो छ तयारी

राजनीतिक प्रतिवेदनका लागि सातवटै प्रदेशमा हुने छलफलमा पार्टीका शीर्ष नेताहरु सहभागी हुनेछन्। 

मंसिर २ गते प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा छलफल हुनेछ। समितिका सदस्य दिलबहादुर घर्तीको नेतृत्वमा हुने छलफलमा रामचन्द्र पौडेल सम्भावित प्रमुख वक्ता हुनेछन्।

सोही दिन ४ नम्बर प्रदेशको अस्थायी राजधानी पोखरामा हुने छलफलमा उपसभापति निधि स्वयम् सहभागी हुनेछन्।

३ गते प्रदेश नम्बर तीनको छलफल काठमाडौंस्थित पार्टी कार्यालयमा हुनेछ। जसको नेतृत्व गगन थापाले गर्नेछन्।

४ गते तीनवटा प्रदेशमा एकैसाथ छलफल हुनेछ। प्रदेश ७ को धनगढीमा हुने छलफलमा जीवन परियारले नेतृत्व गर्नेछन् भने पौडेल नै प्रमुख अतिथि हुने सम्भावना छ। प्रदेश ६ को सुर्खेत र प्रदेश एकको विराटनगरमा छलफल हुनेछ।

६ गते प्रदेश नम्बर पाँचको बुटबलमा छलफल हुनेछ।

सभापति शेरबहादुर देउवा गण्डकी प्रदेश, विराटनगर, पोखरा र बुटवलको छलफलमा सहभागी हुने सम्भावना रहेको निधिले जनाए।

छलफल कार्यक्रममा नेताहरु कृष्णप्रसाद सिटौला, विजय कुमार गच्छदार र पूर्णबहादुर खड्का लगायत पनि सहभागी हुने तयारी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell