PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विमान बढे पनि अन्तर्राष्ट्रिय उडानमा सिट अकुपेन्सी ह्वात्तै घट्यो



वसन्तराज उप्रेती

विमान बढे पनि अन्तर्राष्ट्रिय उडानमा सिट अकुपेन्सी ह्वात्तै घट्यो

काठमाडौं : अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगमको अकुपेन्सी दर ४० प्रतिशतसम्मले घटेको छ। चालु वर्षको साउनको तुलनामा भदौमा निगमको अन्तर्राष्ट्रिय उडानतर्फको अकुपेन्सी दरमा उल्लेख्य गिरावट आएको हो।

साउनको तुलनामा भदौमा काठमाडौं - दोहा उडानमा एयरबस ३३० को सिट अकुपेन्सी दरमा ४० प्रतिशतले गिरावट देखिएको छ। यो रुटमा साउनमा एयरबस ३३० को अकुपेन्सी ९२ प्रतिशत रहेकोमा भदौमा ५१ प्रतिशतमात्र देखिएको हो। 

यसैगरी दोहा-काठमाडौं उडानमा एयरबस ३३० को सिट अकुपेन्सी ३३ प्रतिशतले घटेको छ। साउनमा ९४ प्रतिशत सिट अकुपेन्सी रहेकोमा भदौमा ६१ प्रतिशतमात्र रहेको निगमले जनाएको छ। 

काठमाडौं-दिल्ली उडानमा निगमको एयरबस ३२० र बोइङ ७५७ ले ८१ प्रतिशत सिट अकुपेन्सी कायम गरेकोमा भदौमा ७८ प्रतिशतमात्रै छ। एयरबस ३३० ले साउनमा ७१ प्रतिशत सिट ओगटेकोमा भदौमा ५६ प्रतिशतमात्रै सिट अकुपेन्सी छ। साउनमा दिल्ली-काठमाडौं उडानमा एयरबस ३२० र बोइङ ७५७ ले ७७ प्रतिशत अकुपेन्सी कायम राखेकोमा भदौमा नौ प्रतिशतले बढेर ८६ प्रतिशत पुगेको छ। यो रुटमा एयरबस ३३० को अकुपेन्सी ७८ प्रतिशत रहेकोमा १२ प्रतिशत घटेर ६६ प्रतिशतमा आइपुगेको छ। 

यसैगरी एयरबस ३२० र बोइङ ७५७ मार्फत् काठमाडौं-मुम्बई उडानमा साउनको तुलनामा भदौमा १३ प्रतिशत अकुपेन्सी घटेको छ। साउनमा ५१ प्रतिशत अकुपेन्सी कायम गरेकोमा भदौमा ३७ पारतिशत मात्रै अकुपेन्सी रहेको छ। यसैगरी मुम्बई-काठमाडौं उडानमा यी दुई जहाजमा अकुपेन्सी दर दुई प्रतिशतले घटेको छ। निगमका अनुसार साउनमा ६० प्रतिशत अकुपेन्सी कायम गरेको निगमले भदौमा ५८ प्रतिशत अकुपेन्सी कायम गरेको छ। 

एयरबस ३२० र बोइङ ७५७ मार्फत् काठमाडौं-बैंग्लोर उडानमा साउनमा ८१ प्रतिशत अकुपेन्सी कायम राखेको निगमले भदौमा त्यसलाई कायम राख्न सकेको छैन। भदौमा अकुपेन्सी दर १७ प्रतिशतले घटेर ६४ प्रतिशतमात्र रहेको छ। एयरबस ३३० ले भने भदौमा ५२ प्रतिशत अकुपेन्सी कायम गरेको छ। 
एयरबस ३२० र बोइङ ७५७ मार्फत् बैंग्लोर-काठमाडौं उडानमा साउनमा ६३ प्रतिशत अकुपेन्सी कायम रहेकोमा भदौमा घटेर ५५ प्रतिशतमा आइपुगेको छ। एयरबस ३३० ले ४४ प्रतिशत अकुपेन्सी कायम गरेको छ। 

एयरबस ३२० ले दुबई उडान गर्दै आएको निगमको साउनको तुलनामा भदौमा १० प्रतिशत अकुपेन्सी घटेको छ। साउनमा यो गन्तब्यतर्फ निगमले ८५ प्रतिशत अकुपेन्सी कायम गरेको थियो भने भदौमा निगमको ७५ प्रतिशत मात्रै रहेको छ। यस्तै दुबई-काठमाडौं उडानमा साउनमा ७२ प्रतिशत अकुपेन्सी रहेकोमा दुई प्रतिशतले वृद्धि भई ७४ प्रतिशत  पुगेको छ। 

हङकङमा भने निगमको अकुपेन्सी बढेको छ। साउनमा ६७ प्रतिशत अकुपेन्सी रहेकोमा भदौमा १९ प्रतिशतले वृद्धि भई ७४ प्रतिशत अकुपेन्सी कायम भएको निगमले श्वेतपत्रमा जनाइएको छ। एयरबस ३३० ले भने भदौमा ४० प्रतिशत अकुपेन्सी राखेको छ। हङकङ-काठमाडौं उडानमा साउनमा ८९ प्रतिशत अकुपेन्सी कायम राखेको निगमले भदौमा अकुपेन्सी ३७ प्रतिशत घटेर ५२ प्रतिशतमा आइपुगेको छ। एयरबस ३३० ले भने यो हवाई रुटमा ३३ प्रतिशत  अकुपेन्सी कायम राखेको छ। 

काठमाडौं-क्वालालाम्पुर उडानमा साउनको तुलनामा निगमको अकुपेन्सी पाँच प्रतिशतले वृद्धि भएको छ। साउनमा निगमको अकुपेन्सी ४० प्रतिशत रहेको थियो भने भदौमा ४५ प्रतिशत रहेको छ। यो गन्तब्यमा एयरबस ३२० र बोइङ ७५७ ले उडान गर्दै आएको छ। 

क्वालालाम्पुर-काठमाडौं उडानमा साउनमा ७७ प्रतिशत अकुपेन्सी रहेकोमा भदौमा १५ प्रतिशतले वृद्धि भई ९२ प्रतिशत अकुपेन्सी कायम राखेको छ। यो गन्तब्यमा एयरबस ३२० र बोइङ ७५७ ले उडान गरेका थिए। 

काठमाडौं-बैंकक उडानमा साउनमा ८४ प्रतिशत अकुपेन्सी कायम राखेको निगमले भदौमा ९ प्रतिशतले वृद्धि भई अकुपेन्सी ९३ प्रतिशत कायम राखेको छ। एयरबस ३३० ले भने यो गन्तब्यमा ७७ प्रतिशत अकुपेन्सी कायम राखेको छ। 

निगमले बैंकक-काठमाडौं रुटमा अवस्था सुधार गरेको छ। साउनमा ५५ प्रतिशत अकुपेन्सी रहेकोमा भदौमा ९१ प्रतिशत पुगेको छ। यो गन्तब्यमा निगमको एयरबसले भदौमा ६८ प्रतिशत अकुपेन्सी राखेको छ।

भदौमा सिट अकुपेन्सी कम भएका कारण आर्थिक भार थपिएको निगमका एक कर्मचारीले बताए। भदौमा पर्यटन आवगामन कम भएका कारण अकुपेन्सी घटेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले दावी गरे। 'निगमले भदौदेखि एयरबस ३३० संचालनमा ल्याउने तयारी गर्यो। एक सय ५८ सिटे जहाजबाट नियमित यात्रु थिए,' उनले भने, 'ठूला जहाज सञ्चालनमा ल्याउँदा सुरुको अवस्थामा अकुपेन्सी कम हुनु स्वभाविक हो तर हामीले यसको समाधानका लागि गम्भीर रुपमा गृहकार्य थालिसकेका छौं।' 

अन्तर्राष्ट्रिय उडानमा निगमको एक सय ५८ सिट क्षमतायुक्त दुईवटा न्यारोबडी, दुई सय ७० सिट  क्षमतायुक्त दुईवटा वाइडबडी र एक सय ९० सिट क्षमतायुक्त एउटा बोइङ छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell