PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


मिस इण्डियाबाट रितुको नेपालमा कर्पोरेट यात्रा : भारतको स्ट्रिक्ट परिवारदेखि नेपालको प्रतिष्ठित घरानासम्म


भावना शर्मा

मिस इण्डियाबाट रितुको नेपालमा कर्पोरेट यात्रा : भारतको स्ट्रिक्ट परिवारदेखि नेपालको प्रतिष्ठित घरानासम्म

गोरो बर्ण, सुन्दर अनुहार, पातलो र अग्लो जिउडाल अनि बोल्ड पर्सनालिटी। कर्पोरेट वर्ल्डमा रितु सिंह बैद्य इन्टरप्रेनरका रुपमा मात्र होइन ब्युटी क्विनका रुपमा पनि चिनिन्छिन्। नेपालमा टोयोटा ब्राण्डका गाडीहरुको एकमात्र आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिकी म्यानेजिङ डाइरेक्टर रितु एक जमानाकी मिस इण्डिया हुन्। 

सन् १९९१ मा मिस इण्डिया वर्ल्डको ताज जितेकी रितु सौन्दर्यको दुनियाँलाई छोडेर कर्पोरेट क्षेत्रमा पसिन्। भारतको नयाँदिल्लीमा जन्मिएर नेपालका प्रतिष्ठित घराना बैद्यज अर्गनाइजेनसभित्र बुहारीका रुपमा भित्रिएकी रितु हाल यस्तो ब्राण्डको गाडी प्रवर्द्धनमा तल्लिन छिन् जुन प्रभावशाली बर्गले चढ्ने ब्राण्डका रुपमा ५० वर्षअघि नेपाल आएको थियो।  

नेपालमा टोयोटा चढ्नेहरुको सर्कल नै बेग्लै मानिन्छ। टोयोटाको ब्राण्ड नै यस्तो बनिसकेको छ जुन एलिट सर्कलले रुचाउँछन्। टोयोटाका एक करोड मूल्य माथिका ल्यान्डक्रुजर प्राडो, र्याभ फोर, फर्चुनर जस्ता गाडीका ‘भिआइपी’ ग्राहक छन्। बार्षिक अर्बौंको कारोबार गर्ने औंलामा गन्न सकिने नेपालका केही कम्पनीमध्ये बैद्यज अर्गनाइजेसन अफ इन्ड्रस्टिज एण्ड ट्रेडिङ हाउसको एउटा युनिट युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि अर्थात रितुले लिड गर्ने कम्पनी पनि पर्छ।  



रितुका लागि अहिले एकमात्र मेन्टल अक्युपेसन नै बिजनेस हो। उनी बिहान ६ बजे उठ्छिन्। त्यसपछिका डेढ दुई घण्टा चिया र  पत्रपत्रिकामा भुल्छिन्। साढे सातदेखि साढे ९ सम्म उनको जिमको समय हो जसले उनलाई आजका दिन पनि मिस इण्डियाकै ताकाको जस्तो फिट बनाएको छ। दिनभर धुम्बाराहीमा टोयोटा ब्राण्डको प्रवर्द्धनमा समय खर्चिने रितु बेलुकी दरबारमार्गस्थित आफ्नै स्पा ‘प्राना’को बिजनेस पनि हेर्न भ्याउँछिन्।


‘म उद्यमी हुँ। मैले मेरा कम्पनीका लागि कस्ता व्यक्ति चयन गर्नुपर्छ भनेर सोच्नुपर्छ। बिजनेस सेन्स, फाइनान्सियल सेन्स,यी सबैकुराले सम्बन्ध राख्छ।’ त्यसकै लागि दिनरात नभनी मेहनत गर्नुपर्ने उनको तर्क छ। अनि त्यो शक्ति कहाँबाट आउँछ त? रितुसँग यो प्रश्नको पनि सहज उत्तर छ- ‘क्वालिफिकेसन। क्वालिफिकेसन छ भने कन्फिडेन्स पनि हुन्छ। कम्पनी राम्रोसँग चलाउन पनि सकिन्छ।’ 

रितु धुम्बाराहीस्थित भब्य भवनको तेस्रो तलामा रहेको कर्पोरेट अफिसमा बिगत सम्झिइरहेकी छिन्। फिलोसफीका किताबमा रुची राख्ने रितु आफ्नो नेपालसँगको साइनो र करियरका टर्निङ प्वाइन्टबारे भन्छिन्- ‘डेस्टिनी भन्ने कुरा पनि गजबको हुँदोरहेछ। त्यो बेलासम्म नेपाल आउँछु भन्ने मेरो लिस्टमा पनि थिएन। नेपालबारे सुनेकी थिएँ। कुनै बेला घुम्न जाउँला भन्ने मात्र थियो। कल्पना बाहिर थियो यहीँ बसुँला भन्ने, अझ यहीँ जीवन बिताउँला भन्ने त छँदै थिएन!’ 

इन्दिरा गान्धीका  'ह्युज फ्यान' कर्णेल रविन्द्र सिंहका घरमा लगातार तीन छोरी जन्मिए। जेठी छोरी रितु सानैदेखि यति सुन्दर थिइन् कि बलिउडमा काम गरेका केही नातेदार घर आउँदा ‘यति राम्री छोरीलाई त कलाकार बनाउनुपर्छ है’ भन्थे। तर कर्णेल रविन्द्रलाई छोरीहरु उनका रोल मोडल इन्दिरा गान्धी झैं बोल्ड र विशेष बनाउनु थियो। बुवाले सँधै रितुलाई भन्ने गरेका थिए-‘इफ उमन क्यान लिड अ नेसन देन ह्वाइ क्यान्ट यु?’



तीन दिदीबहिनी हुर्कदैं गए। बुवाको अनुशासन उत्तिकै कडा। पार्टीमा जानु त सपनाभन्दा परको कुरा थियो। बाहिर घुम्न जान पनि परिवारका सदस्यसँग मात्र अनुमति मिल्थ्यो। साथीहरुको घरमा समेत रात बस्न अनुमति थिएन। रितु र उनका दुबै बहिनीहरुका लागि घरको बातावरण आर्मी शासन जस्तै थियो।  

कडा स्वभावका बुवाको सामुन्ने पर्दा थर्कमान हुन्थिन् रितु। बचपन निकै कडा बातावरणमा बित्यो। बुवाको अनुशासन यति कडा थियो कि आफ्ना कुरा राख्न परे आमा प्रतिमाको साहारा चाहिन्थ्यो। तर बुवाले दुई बहिनी र उनको बाल्यकालमा जुन अनुशासन दिए त्यो त कुम्हालेले भाँडालाई आकार दिएजस्तै लाग्छ रितुलाई। 

बुवा जति स्ट्रिक्ड थिए उती नै सपोर्टिभ पनि। पार्टीमा जानुलाई समयको बर्बादी मान्ने उनले छोरीहरुलाई संगीत र खेलकुदमा लाग्न कहिल्यै नाईं भनेनन्। छोरीलाई बिचरा भन्दै कुनामा राखिन्छ र छोरालाई मात्र मैदानमा पठाइन्छ भने कसरी छोरीमान्छेमा बोल्डनेस आउँछ? यस्तै भन्थे रितुका बुवा। उनी चाहन्थे छोरीहरुमा लजालुपन नआओस्।  बुवाकै बेसिक पर्सनालिटी रितुमा पनि बिस्तारै पस्न थाल्यो। हरेक काममा अघि सर्ने र कसैसँग नडग्ने रितु स्कुलमा ब्याडमिन्टनकी च्याम्पियन भैसकेकी थिइन्।

जब स्कुल सकेर रितुले कलेज ज्वाइन गरिन् त्यहीँबाट उनमा नयाँ सपना र रहर पलाउन थाल्यो। डाक्टर बन्नुपर्छ भन्ने सल्लाह थियो घरमा। तर एकदिन साथीको लहैलहैमा भरेको एउटा ब्युटी प्याजेन्टको फर्मले रितुको रहर बदलिदियो। त्योसँगै रहर मात्र होइन उनको जिन्दगी बदलियो। बिस्तारै करियर र देश पनि बदलियो।  

उनको मोडलिङ करियर १२ कक्षा पढ्दा पढ्दै सुरु भयो। अग्ली र निकै राम्री रितुलाई साथीहरुले उक्साए। उनीहरुकै करमा उनले ‘मे क्विन’ ब्युटी प्याजेन्टको फर्म भरिन्। यो प्याजेन्ट जितेपछि उनमा मोडलिङप्रति झुकाव बढ्यो। त्यही प्याजेन्ट नै उनको करियरको टर्निङ पोइन्ट बन्यो। त्यसपछिको लक्ष्य बन्यो मिस इन्डिया। रितुले सन् १९९१ मा मिस इन्डियामा भाग लिइन्। मिस इन्डिया वर्ल्डको ताज जित्दा उनी २० वर्षकी मात्र थिइन्। उनले मिस एसिया वर्ल्ड प्याजेन्टमा भारतको प्रतिनिधित्व गरिन्। जहाँ उनले सेकेन्ड रनर अपको उपाधि हात पारिन्। 



डाक्टर पढ्न साइन्स स्ट्रिम ज्वाइन गरिसकेकी उनको बाटो अचानक फेरिएर मोडलिङमा करियर बन्यो।  पछि उनले दिल्ली युनिभर्सिटीबाट इकोनोमिक्स र पोलिटिकल साइन्सबाट ग्रयाजुएसन सकिन्। योसँगै फेसनको पढाइलाई पनि निरन्तरता दिइन्। ब्युटी क्विनकै रुपमा एकदिन नेपाल झरेकी रितुलाई यहाँ पनि अर्को मोड कुरिरहेको थियो। 

एउटा इन्टरनेसनल ब्युटी प्याजेन्टकै सिलसिलामा एक महिना चीनमा बिताएर भारत फर्केकी रितु निकै थाकेकी थिइन्। केही दिन आराम गर्न चाहन्थिन्। तर भारत आउने बित्तिकै मिल्ने साथीले प्रस्ताव राखे ‘नेपालमा एउटा च्यारिटेबल इभेन्टकालागि स्पेसल गेष्ट बनिदेउ न!’ एक महिना लामो कार्यक्रमले थाकेकी रितुलाई नेपाल आउन खासै उत्साह थिएन। 

तर मिल्ने साथीको प्रस्तावलाई नाई भन्न नसक्दा उनी सन् १९९३ मा २ दिनका लागि नेपाल आइन्। कार्यक्रम बालमन्दिरको सहयोगार्थ भैरहेको थियो। त्यसबेला आयोजकका तर्फबाट बैद्य अर्गनाइजेसनका योङ इन्टरप्रेनर सूरज बैद्यले रितुलाई नेपालमा स्वागत गरे। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा हाल बैद्य अर्गनाइजेसनका अध्यक्ष सूरज बैद्य समाजसेवामा पनि उत्तिकै सक्रिय उद्यमी थिए। 

उनैको नेतृत्वमा बाल मन्दिरको सहयोगार्थ फेसन शो हुँदै रहेछ। रितु त्यहि कार्यक्रम मार्फत सूरजसँग जोडिइन्। कार्यक्रम सकियो रितु फर्किइन् तर उनको मन यहीँ छुट्यो। दुई दिनको चिनाजानीले झांगिएको सूरजसँगको सम्बन्धले दुई वर्ष नबित्दै बैधानिकता पायो। सन् १९९४ को डिसेम्बरमा रितु नेपालकी बुहारी भएर काठमाडौं ओर्लिइन्। 



मिस इन्डियाको चमकदमक र करियरको उचाईकाबीच छोटो नेपाल यात्राले रितुलाई नेपालसँगको साइनो सँधैकालागि जोडिदियो। मोडलिङमा करियर जमेकै बेला सबथोक छोडेर नेपाल आउने निर्णय रितु कै थियो। साथीहरुले गाली गरे। ‘दे थट आइ वाज क्रेजी। यसो भन्दा उनी मज्जाले हाँसिन्। साथीहरुले सम्झाए- ‘तँ गल्ती गर्दैछेस्। नेपालमा त केही पनि छैन। भविष्य यहीँ छ।’ भारतमा उनको भविष्य त थियो तर नेपालमा प्रेम। अन्तत उनको प्रेमले जित्यो। 

बिहे गरेर नेपाल आएको एक वर्ष रितुको लागि सबैभन्दा कठिन रह्यो। यहाँ अवसर नहुनु र आफ्नो काम छोड्न नसक्नुको तनावमा उनी यसरी परिन् कि हरेक महिना उनी दिल्ली उड्थिन्।  कामको कमिटमेन्ट पूरा गर्नु थियो। उताका साथीभाई, परिवार र करियर सबै मिस हुँदाको समयलाई उनले सम्झिइन् –  ‘१२ महिनामा म १५ पटक जति दिल्ली पुगें होला।’

तर अर्को वर्ष उनको मनले उनकै शब्दमा भन्दा ‘कन्सस डिसिजन’ लियो। ‘अबको समय मैले पूरै नेपालमै र आफ्नै परिवारमा बिताउनुपर्छ, नेपालमै करियर कसरी बनाउने भनेर सोच्नुपर्छ। २० वर्षको उमेरमा पनि भारतमा उनको प्रोफेसन र लाइफस्टाइल सेट भैसकेको थियो। सोसल सर्कल सेट थियो। तर नेपाल आएर उनले सबै कुरा जिरोबाट सुरु गर्नुपर्यो। नेपालमै करियर बनाउने निर्णयपछि उनले बालुवाटारमा मिरान्डा बुटिक खोलिन्। ६ महिनामै बुटिक सेटअप भयो। यही साथीहरु बन्न थाले। रितु यहीँ रमाउन थालिन्।

उनले सात वर्ष बुटिक  चलाइन्। त्यही बेलै उनले गुरुदेव कामतसँग संगीतको तालिम लिइन्। डेढ वर्षको तालिमपछि भारतको टाइम्स म्युजिकले उनको सुन जरा... नामको एल्बम निकाल्यो। ६ महिनाको अथक मेहनतपछि उनको एल्बम सम्भव भएको थियो। भारतमा रिलिज भएको एल्बमले त्यसबेला एमटिभी र भिटिभीमा राम्रै चर्चा बटुल्यो। फेरि काठमाडौंमा बसेर भारतमा मार्केटिङ पनि हुने थिएन। एल्बमले उनको संगीतप्रतिको प्यासन त पूरा गरिदियो तर धेरै समय छुट्याउन नसकेपछि संगीतको त्यो च्याप्टर पनि एल्बम रिलिजसँगै बन्द भयो। त्यसपछिका पूरै वर्षहरु उनले  टोयोटा नेपालकै लागि डेडिकेट गरिन्।

टोयोटा नेपाल भित्रिएको ५० वर्ष भैसकेको छ। रितु यही ब्राण्डको बिस्तारकालागि स्ट्रयाटेजी बनाइरहेकी हुन्छिन्। सेल्स, सर्भिस, स्पेयर पार्टस  सबै आफै ह्याण्डल गर्छिन। देशभर टोयोटाका १२ वटा डिलर छन्।  स्पेयर पार्ट्सको बिस्तार पनि उसैगरी भैरहेको छ। रितुका अनुसार तीन चार महिनादेखि हेभी इक्विपमेन्टमा पनि कम्पनीले काम थालिसकेको छ। सनवड ब्राण्डको एक्साभेटर, रोड रोलर, ब्रेकर, ग्रेडर, ड्रिलिङ मेशिन, टनेल बोरिङ मेशिन जस्ता सामान आइसकेको उनले जानकारी दिइन्।  

‘अब हामी इलेक्ट्रिकल भेहिकललाई सिरियस्ली हेरिरहेका छौं।’-उनले सुनाइन्- ‘इकोनोमी र इन्भायरमेन्टल इश्युले गर्दा पनि इभी आउँछ। काठमाडौं त यसका लागि झनै फिजिबल छ। हामी त्यसैकालागि प्रिपेयर भैरहेका छौं।’ उनका अनुसार एक वर्षभित्रै आउने गरी कम्पनीका अन्य दुई प्रोजेक्ट पनि पाइपलाइनमा छन्।  



कम्पनीकालागि हायर गर्दा उनी महिलालाई नै प्राथमिकतामा राख्न रुचाउँछिन् तर शिक्षा कस्तो छ? कतिको कम्पिटेन्स, इफोर्ट र ट्यालेन्सी छ त्यो पनि त नाप्नुपर्छ।  रितु भन्छिन्- ‘विमन आर मोर कमिटेड।’ तर क्वालिफिकेसन नै छैन भने कसरी पोष्टकालागि दावी गर्ने? जब केटा मान्छेको कम्पिटेन्स हेरिन्छ भने केटीको चाहीँ किन नहेर्ने? अनि जब केटीहरुमा योग्यता नै छैन भने कसरी हायर गर्ने?

रितु जुन स्थानमा छिन् त्यसकालागि श्रीमान सूरज र आफ्नो बुवालाई कारक मान्छिन्। ‘ममा केही क्षमता देखेरै श्रीमानले मलाई यति धेरै जिम्मेवारी दिनुभएको होला।’ मुस्कुराउँदै उनले भनिन्- ‘मेरो ब्यक्तित्व पनि त्यस्तै छ। पोजेटिभली नै म आफूले चाहेको काम गर्न अघि सर्छु र त्यो जिम्मेवारी पूरा पनि गर्छु।’ 

कुनै पनि काम गर्छु भन्दा श्रीमानले नगर, हुँदैन भनेर कहिल्यै नभन्नुलाई उनी सकारात्मक रुपमा लिन्छिन्। ‘ रेसिस्टेन्समा काम गर्नुपर्यो भने जहिल्यै कन्फ्लिक्ट आउँछ। त्यसले दुईबीचको सम्बन्धमा पनि असर गर्छ। तर जब दुबै एकै लाइनमा रहेर सँगै हिड्ने हो भने कामको स्पिड पनि डबल हुन्छ। उनलाई बुवाले पनि भनेका थिए आफूलाई एक र श्रीमानलाई एकका रुपमा कहिल्यै नलिनु। दुबै सँगै उभिनु अनि मात्र एक र एक एघार हुन्छ।’ 



ब्यापारिक पृष्ठभूमि नभएपनि रितुमा सानैदेखि उद्यमशिल बन्ने क्षमता थियो। उनी भन्छिन्-‘मसँग त्यो विल, डिजायर र कम्प्यासन सबै थियो। म केही गर्न चाहन्थे।’ उनकी माइली बहिनी पनि बिजनेसपर्सन छिन्। कान्छी बहिनी न्यूयोर्कको सिटी बैंकमा सिनियर डाइरेक्टर। अनि इन्दिरा गान्धी जस्तै देश हाँक्न सक्ने बन्नुपर्छ भनिरहने बुवा तीनवटै छोरीको स्ट्याटसप्रति खुशी छन्।

उमेर बढ्दै जाँदा बिजनेस पर्सनालिटी पनि ‘ग्रो’ हुन्छ यो रितुको अनुभव हो। ‘अब बच्चाहरुको एस्पिरेसनले पनि हामीलाई डोहोर्याउँदै लैजाला। आफ्नो बलमा कहाँ पुग्न सक्छु त्यो पनि हेर्नु छ। इच्छा लागेका सबै कामलाई पूर्णता दिँदै आएकी रितु अब के चाहन्छिन्? आइटी अबको ‘मेजर एभिन्यू’ हो। त्यसमा पनि केही काम गर्न मन छ।’



मिस इण्डियाबाट रितुको नेपालमा कर्पोरेट यात्रा : भारतको स्ट्रिक्ट परिवारदेखि नेपालको प्रतिष्ठित घरानासम्म को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट