PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हरेक घरमा झगडा भएजस्तै हाम्रो पार्टीभित्र पनि छ, मिलाउँदैछु : देउवा



अनन्तराज न्यौपाने

हरेक घरमा झगडा भएजस्तै हाम्रो पार्टीभित्र पनि छ, मिलाउँदैछु : देउवा

विराटनगर : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अनुशासनको पालनाविना राजनीतिक पार्टीको निर्माण हुन नसक्ने बताउँदै काङ्ग्रेसमा अनुशासनको स्थितिलाई बलियो बनाउन आफू क्रियाशील रहेको जनाएका छन्।

पार्टीको आगामी महासमितिको बैठकका लागि विराटनगरमा आयोजित प्रदेश नम्बर १ स्तरीय सुझाव सङ्कलन कार्यक्रमको उद्घाटन समारोहमा सभापति देउवाले पार्टीभित्रको अनुशासन चुस्त र दुरुस्त राख्न आफू लागि परेको उल्लेख गरे।

‘पार्टीभित्र अनुशासन कायम राख्न नसक्ने हो भने यसलाई धर्मशालाजस्तो पाटी बनाए भइगयो नि त?’, प्रश्नवाचक शैलीमा देउवाको भनाइ थियो, ‘को आयो, को गयो, केही मतलब छैन। जोआए पनि जो गए पनि, बसे पनि नबसे पनि।’

आफ्नै जिल्लाको निर्वाचनमा हार ब्यहोर्नुपरेको स्मरण गर्दै उनले कहाँ–कहाँ के–के कमजोरी भए भनेर छानबिन भइरहेको स्पष्ट पारे।

‘नाकाबन्दीका बेला हामीले यो नाकाबन्दी हो भन्न सकेनौँ भन्ने आरोप लाग्यो र हामीलाई भारतीय दलाल भनियो,’ उनको भनाइ थियो, ‘अनि उनीहरू (वामपन्थी) चाहिँ ठूला राष्ट्रवादी देखिए । यसको असर चुनावमा पर्‍यो। पुरानो रोग अन्तर्घातको हामी सिकार भयौँ। दुई पार्टी मिलेपछि उनीहरू बलिया देखिए। यस्ता धेरै कारणले हामीले चुनाव हारेका हौँ।’

सभापति देउवाले वर्तमान सरकार अधिनायकवादमा जान्छ भनेर आफूले पहिले नै घोषणा गरेको सुनाउँदै सरकारले न्यायालय, प्रहरी, आमसञ्चार, सेना र निर्वाचन जस्ता लोकतान्त्रिक पद्धतिका सबै अङ्ग र निकाय कब्जा गरिरहेको टिप्पणी गरे।

निर्मला पन्तका हत्यारा सरकारले चाहे पत्ता लाग्ने दाबी गर्दै उनले सरकारलाई नै हत्यारा लुकाऊँ भन्ने लागेको र पत्ता लगाउन नचाहेको टिप्पणी गरे।

यसअघि विराटनगरका पत्रकारसित देउवाले हरेक घरमा झगडा र कलह भएजस्तै पार्टीभित्र मतभेद हुनु सामान्य भएको धारणा प्रकट गरे।
 
नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले भने, ‘झगडा नभएको कुनै घर छ देखाउनुस् त ? घर जस्तै पार्टीमा पनि झगडा र विवाद हुन्छन् । यसलाई मिलाउने हो, म मिलाउने प्रयास पनि गर्दैछु।’ 

उनले नेता–नेताबीच बोलचालसमेत नहुने गरेको सुनेर आफू छक्क परेको प्रतिक्रिया दिए।

देउवाले यही मंसिर २ गते महामन्त्री डा. शशाङ्क कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेतृ सुजाता कोइराला विराटनगर आई मिलेको सन्देश दिँदा आफू नआत्तालिएको बरु यसले अब पार्टीको एकतामा सकारात्मक सन्देश पुगेको विचार व्यक्त गरे।

देउवाले भने, ‘एउटा परिवार मिलेपछि मात्र गाउँ मिल्छ। अनि जिल्ला र पार्टी सबै मिल्दै जान्छ। मिलेरै अघि बढ्ने हो।’ 

पत्रकार सम्मेलनमा काङ्ग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि देउवासँगै थिए। 

पार्टी सञ्चालन गर्नु कठिन काम भएको देउवाको भनाइ थियो।

देउवाले पार्टीमा रहेको समूह, उप–समूह, गुट र उप–गुटले आफू पनि दिक्क भएको बताउँदै मिलाउने प्रयासमा लाग्दा हायल–कायल भएको सुनाए।

उनले पार्टीमा विलय भएको फोरम लोकतान्त्रिक मिलाउने क्रममा उप–सभापति मनोनीत गर्नु राजनीतिक निर्णय भएको हो र विधान मिचिएको छैन भन्ने दाबी गरे।

देउवाले भने, ‘मैले सकेसम्म मिलाउने प्रयास गरेको छु। यो राजनीतिक निर्णय हो।’ 

नेविसंघको विषय मिलिसकेको चर्चा गर्दै देउवाले महासमिति बैठक नसर्ने बताए।
 
विराटनगरको जेनियल होटेलमा बसेका देउवासँग केन्द्रीय सदस्य डा. शेखर कोइरालाले छुट्टै भेटेका थिए। होटलमा पार्टी सभापतिसँग भेटघाट गर्न पुगेका कोइरालाले पार्टीको गतिविधिको विषयमा छलफल गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell