PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

राष्ट्रिय सडक सञ्जालमा जोडियो डोल्पा, ‘अब डोल्पाको विकास र समृद्धिको ढोका खुल्यो’ : उपप्रधानमन्त्री पोखरेल



पी बी खड्का

राष्ट्रिय सडक सञ्जालमा जोडियो डोल्पा, ‘अब डोल्पाको विकास र समृद्धिको ढोका खुल्यो’ : उपप्रधानमन्त्री पोखरेल

सुर्खेतः हिमाली जिल्ला डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। केही दिन अघिमात्र नेपाली सेनाले जाजरकोटको–पासगाड–त्रिपुराकोटसम्मको १०३.४ किलोमीटर सडकको ट्रयाक खुलेसँगै सडक सञ्जालमा जोडिएको हो। 

मंगलवारमात्रै नेपाल सरकारका रक्षा मन्त्री एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले उक्त सडक सञ्जालको औपचारिक उद्घाटन गरेका छन्। 
उद्घाटन गर्दै मन्त्री पोखरेलले अब डोल्पाको मात्रै नभएर समग्र कर्णालीकोसमेत विकास र समृद्धिको ढोका खुलेको बताए। ‘अहिलेसम्म सडक सञ्जालले जोड्न नसकिएको जिल्लालाई नेपाली सेनाको ठुलो मेहनतकासाथ सडक खुलेको छ।’ उनले भने, ‘अब डोल्पा जिल्लाको विकास र समृद्धिको ढोका त खुल्यो खुल्यो। समग्र कर्णाली प्रदेशको पनि विकास र समृद्धिको ढोका खुलेको छ।’


अब यहाँका नागरिकले विपन्नता र विकटताबाट छुटकारा पाउने पोखरेलले दाबी गरे। सडक सञ्जाल जोडिएसँगै डोल्पामा गरिवीले पिल्सीएका नागरिकले भोकमरीबाट छुटकारा र अन्य विकासका पूर्वाधारमा पहुँच पुग्ने जिकिर गरे। 

अब स्तरोन्नतीको क्रममा रहेको सुँपानी–दुनै सडक खण्ड १४ दशमलव ३ किलोमिटर कच्ची ट्रयाकको जिम्मा पनि नेपाली सेनालाई नै दिने उनको भनाई छ। तत्कालिन जिल्ला विकास समितिले ट्रयाक खुलाएर सानो जीप सञ्चालन गर्दै आएको छ। तर, सडक भने निकै जोखिम र स्तरोन्नतीको पर्खाइमा छ। 

त्यसैगरी, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकट र गरिबको परिचय बोकेको कर्णालीलाई सडकले समृद्धितर्फ लैजाने विश्वास व्यक्त गरे। गरिबी र विकटताले चिनिएको कर्णाली अब विकास र समृद्धिले नमुना प्रदेशको रुपमा विकास गर्ने दाबी गरे। 

थुप्रै सम्भावना भएको कर्णालीमा अब पहिचान गरेर कर्णालीको आर्थिक समृद्धितर्फ लाग्न प्रदेश सरकार खोजिरहेको बताए। 

मन्त्रीद्वारा नेपाली सेनालाई सम्मान

जाजरकोट–डोल्पा सडक निर्माणकार्यमा अहोरात्र खटिएर सडक बनाउन सफल भएको भन्दै नेपाली सेनालाई सम्मान गरिएको छ। रक्षामन्त्री पोखरेलद्धारा कदर पत्र र दोसल्ला ओडाएर निर्माण कार्यदलका प्रमुख कर्णेल बिश्वबन्धु पहाडीलाई सम्मान गरिएको थियो।

जाजरकोटको पासगाडदेखि करिब १ सय १८ किलोमिटर दुरी रहेको सडक २०६५ मा सर्भे गरिएको थियो। सर्भे पश्चात तत्काल काम हुन नसक्दा प्रभावित बनेको थियो। ०६७ सालबाट नेपाली सेनाले निर्माण कार्य थालेको थियो। 

एक दर्जन बढी पुल आवश्यक

ट्रयाक खुलेसँगै उक्त सडक खण्डमा करिव एक दर्जन बढी पुल आवश्यक देखिएको छ। जाजरकोट–डोल्पा सडकखण्डका विभिन्न स्थानमा मोटरेबल पुल आवश्यक रहेको सडक निर्माण कार्यदलका प्रमुख पहाडीले जानकारी दिए। 

पुल आवश्यक पर्नेहरुमा भेरी नदीमा ५ वटा पक्की पुल, हरियापानी –सुँपानीमा तीनवटा पुल आवश्यक रहेको उनले बताए। त्यस्तै, सडकको विचमा पर्ने दर्जनौँ साना खोलाहरुमा सानातिना गरेर १० वटा पुल निर्माण गर्नुपर्ने जनाएको छ। 

सडक कालोपत्रे र पुल निर्माण गर्न जनताको माग 

सडकको ट्रयाक खुलाउने काम सेनाले सकाए पनि सडकमा आवश्यक पर्ने पुल निर्माण गर्न जनताले माग गरेका छन्। जुनसुकै समयमा यातायात सञ्चालनका लागि पुल नभई नहुने भन्दै पुल बनाउन माग गरेका छन्। ‘सडक खुले पनि अब सडकमा पर्ने पुलहरु बनाउनुपर्ने हुन्छ।’ त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले भने, ‘पुल बने हिउँद वर्षातमासमेत यातायात सञ्चालनमा ल्याउन सजिलो हुन्छ।’ फेरि थपेँ, ‘यथाशीघ्र पुल बनाएर सडकको कालोपत्रे गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्छु।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell