PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दश वर्ष लगाएर बनेको गीत, कसरी भयो तयार?



पहिलोपोस्ट

दश वर्ष लगाएर बनेको गीत, कसरी भयो तयार?

  • स्वेच्छा राउत र रीना मोक्तान -
गत वर्ष दीपक बज्राचार्य र उनको ब्यान्ड एकाएक भूमिगत भयो। तीन महिना कुनै कन्सर्टमा उनीहरु देखिएनन्। संगीतको बाहिरी दुनियाँबाट गायव उनको पूरै टिम स्टुडियोभित्र घोत्लियो, एउटा मिसन सहित। फरकफरक लोक र सांस्कृतिक बाजाको प्रयोग गरेर एउटा फरकखाले गीत तयार गर्नु ब्यान्डको मुख्य उद्देश्य थियो। टार्गेट पूरा गर्दै टिमले एउटा होइन, २२ वटा गीत तयार पार्‍यो। 

ती २२ वटा सिर्जनामध्ये एउटा गीत निकै भिन्न अनि रोचक बन्यो। दीपकले ठम्याए - यो गीत त 'स्योर हिट'। 

‘वर पर…’ बोलको त्यो गीतमा दीपकले फरक प्रयोग गरे। लुगा बुन्दा तानबाट निस्कने आवाजलाई संगीतको एउटा महत्वपूर्ण हिस्सा बनाउने उनको प्रयोगले काम गर्‍यो। यसलाई सुहाउने शब्दहरु तयार गरे ब्यान्डका ड्रमर रिक्की शाक्यले। गीत रेकर्ड भयो र दशैंको छेको पारेर भिडियोसहित रिलिज पनि। 

नेपाली संगीतको क्षितिजका फरक नक्षत्र दीपकले जे अपेक्षा गरे त्यो भने भएन। ब्यान्डले भयङ्कर आशा गरेको गीत कुनै न कुनै हिसाबले ६ महिना अघि नै रिलिज भइसकेको गीत ‘मन मगन’को सेपमा पर्‍यो। मन मगनको चर्चा र प्रभाव यसरी झांगिएको थियो कि 'वर पर…' संगीतको बजारमा त्यसरी हुर्कनै सकेन जसरी दीपकले सोचेका थिए। अक्टोवर ९ मा सार्वजनिक ‘वर पर’ले अहिलेसम्म ८ लाख हिट्स कमाएको छ जुन उनको सबैभन्दा लेटेस्ट सिर्जना हो। तर, दीपक बज्राचार्यको नयाँ गीत भन्नासाथ धेरैले अनुमान गर्छन् - ‘मन मगन’। गीत सार्वजनिक भएको ७ महिना बितिसक्दा पनि मनमगनको चर्चा चुलिन रोकिएको छैन। अपलोड भएको आधिकारिक भिडियो हेर्नेको संख्या करोडको नजिकको पुगिसकेको छ। 

‘कहिलेकाहीँ नसोचेको कुरा हुँदो रहेछ। त्यस्तै भयो,’ मनमगन नै सुनिए दीपक। तर, थोरै मेहेनतमा मनमगन तयार नभएको उनले बताए। दीपकका अनुसार '१० वर्षको होमवर्क' मा तयार भएको थियो यो गीत। 
*** 
सन् २००७ मा कन्सर्टका लागि अमेरिकाको लुजियाना पुगेका थिए दीपक। कार्यक्रम सकिएपछि फोटो खिचाउँदै र प्रतिक्रिया लिँदै थिए। अचानक एक विदेशी दर्शकको प्रश्नले उनलाई झस्क्यायो। 

‘हामी त नेपाली कार्यक्रम हेर्न आएको। गितार, ड्रममात्र देख्यौं,' ती दर्शकले भनेको सम्झँदै सुनाए, 'नेपालीहरुको आफ्नो चाहिँ केही छैन?’ 
उनले पाटनमा बस्दा निद्रा ब्युउँझाउँदै बज्ने धिमे, भुस्या, धा सम्झिए। लोक भाकाहरुमा बजाइने मादल, सारङ्गी पनि सम्झिए। पूजा गर्दा सुनिने शङ्ख, डमरु र घण्ट पनि सम्झिए, जुन नेपालका थिए। 

तर, उनी जस्तो तयारीका साथ त्यहाँको सांगीतिक माहोलमा प्रस्तुत भएका थिए, उनीहरुलाई फर्काउने जवाफ भने अनुत्तरित नै थियो। 

त्यही घटनाले दीपकलाई सोच्न बाध्य बनायो - अब आफ्नो लोक बाजा पनि बजाउने हो। जन्मँदाको खुशीयालीदेखि मर्दाको वियोगसम्म बजाइने बाजाले दिने धुन गजबको छ भन्ने सबैलाई बुझाउने हो।

नेपाल फर्किएपछि सांगीतिक माहोल उनले चाहेजस्तो बनाउन अध्ययन र अनुसन्धान नै थाले।

‘हाम्रोमा संगीतलाई गलत तरिकाले पोट्रे गरिएको छ भन्ने बुझ्न विदेशीको व्यङ्ग्य खेप्नु पर्‍यो, ’ उनको रियलाइजेसन यसरी निस्कियो, ’त्यसपछि लोक बाजामा केन्द्रित हुने योजना बुनेँ। हाम्रो पूजा, पर्व, जात्रामामात्र बज्ने बाजा म्युजिकल कन्सर्टमा प्रयोग गर्ने गरी।‘ 

सुरुमा आफ्ना पुरानै गीतहरुमा लोक बाजाको संगीत भरेर विभिन्न प्रस्तुती दिए। प्रयोगका रुपमा उनले दिएका प्रस्तुतीको सकारात्मक प्रतिक्रिया पनि पाए। तर, उनको अभियान उस्तो चर्चामा भने आएन। 

सन् २०११ मा पाटन दरबार स्क्वायरमा आयोजना गरेको कन्सर्टमा पप गीतमा लोक र आधुनिक बाजाको समिश्रणले वाहवाही चाहिँ नबटुलेको होइन। उनलाई लाग्यो - हाम्रो प्रयास सही छ, मिहेनत पनि पुग्दो। प्रस्तुति चाहिँ कमजोर छ। 

‘समयभन्दा अगाडि कोही सफल हुँदैन भन्ने कुरा स्विकारेँ। आफ्नो कमजोरी के हो भन्ने पनि पत्ता लगाएँ। त्यसपछि तयारी केही सहज भयो,’ उनले भने। 

यसरी लेखिएको थियो ‘मन मगन’

दीपक बज्राचार्य एण्ड रिदमले अन्य कन्सर्ट एवं कार्यक्रमहरुसँगै नयाँ गीतमा लोकबाजाको धुनलाई समेट्न सुरु गरे। ब्यान्डको लागि लिरिक्स रिक्की शाक्यले लेख्छन् र त्यसलाई बनाउन सामूहिक काम हुन्छ। दीपकलाई एउटा यस्तो गीत चाहिएको थियो, जसले सन्तुष्ट मान्छेको भाव बोलोस्।  

धिमे, मादल, सारङ्गीदेखि गितार र ड्रमसम्मको धुन फ्युजन गरी कम्पोज गरिएको संगीत तयार भयो तर गीतका लागि शब्द थिएन। त्यही संगीतका लागि ‘आत्म संतुष्ट’ मान्छेले बोल्ने कुरा लेख्न रिक्कीलाई अह्राए। 

‘धन, अरुले दिने माया भए पनि नभए पनि आफैमा खुशी हुनुपर्छ भन्ने सन्देश हुनुपर्छ है भनेको थिएँ,’ गीतको रचना गर्भबारे दीपकले सुनाए, 'उसले त त्यस्तो भावको गीतमा गह्रौं शब्द राख्नुपर्छ भन्ने सोचेछ। द्रव्य, मोहजस्ता शब्दहरु राखेर पो लेख्यो। त्यही शब्दहरुलाई सरल र मीठो बनाउन टिम वर्क गर्‍यौं।'  

धिमेको धुन केन्द्रमा रहेको गीतमा नेवार समुदायको संस्कृतिमात्र हावी होस् भन्ने चाहेनन्। त्यसैले झ्याउरे भाका मिसाए। 

ता धुम ता धुम ता ता ता धुम ता धुम ता ता धिमेको धुमसँगै उनले जोडे - हे… छैन लोभ सुन चाँदी आफू त पर्‍यो बाह्रमासे… 

लोक र आधुनिक बाजा, पप र झ्याउरे भाका एकै ठाउँमा घोलियो। गीत राम्रो बन्यो। ‘गीत राम्रो हुँदैमा चल्दैन है बाबा,’ दीपककी छोरी चेरिशाले यसै भनेकी थिइन्। उनलाई छोरीको कुराले नछुने कुरै भएन।

भव्य भिडियोको कथा 

छोरीको सुझवुझपूर्ण भनाइले उनका लागि अर्को आधार खडा गर्‍यो। उनलाई पनि लाग्यो- गीतले भन्ने कुरा र भिडियोले बुझाउने तरिका फरक हुन्छ। गीतमा जस्तै भिडियोमा पनि आफ्नै लोक संस्कृति र परम्परा देखाउने सोच पस्यो उनको मनमा। त्यसका लागि जात्रा वा कुनै सांस्कृतिक नाचको विकल्प अरु हुने कुरै थिएन। 

जात्रा वा चाडवाडमा मात्र बाजा बजाउनेहरु, सिक्दै गरेकाहरु, विभिन्न ठाउँ र समूदायको नृत्य प्रस्तुत गर्नेहरुलाई भिडियोमा फिचरिङका लागि आग्रह गरे। 

इन्द्रजात्रामा पुलुकिसी नचाउने समूह, लाखे र झाक्री बन्नेहरु, घिन्ताङ घिसी गर्ने समूह, धिमे, झ्याउरे र छलिया नाच्नेहरुलाई कन्भिन्स गरे। उनको योजनामा सब तयार भए। 

दीपक र ब्यान्डको लागि ‘च्यालेन्ज’ थियो, जात्रा नभएको ठाउँमा जात्रको माहोल कसरी सिर्जना गर्नु? धार्मिक र सांस्कृतिक महत्वसँग जोडिएर आउने प्रश्नको सामाना गर्नुपर्ने जोखिम पनि उत्तिकै। तर, टिम आफ्नो लक्ष्यमा प्रष्ट थियो। उनीहरु चाहन्थे, गीत र भिडियोबाट नेपाली संस्कृति र परम्पराको ‘डकुमेन्टेसन’ होस्। 

जात्राको लागि एकदिन पाटन परिसरमै र झ्याउरे भाकाका लागि अर्कोदिन नजिकैको गाउँमा छायांकनको योजना थियो। सेटका लागि छानिएको ठाउँमा अघिल्लो दिन सरसफाई र ध्वजापतका टाङ्ने काम भयो। भोलिपल्ट बाजा, नाच तथा सांस्कृतिक प्रस्तुतिको समूहलाई बोलाइयो। 
गाउँको सेटिङ पनि पाटनमै बनाउन मिल्ने देखे उनले। झ्याउरे भाकाको लागि आवश्यक दृश्यको छायांकन सकियो। सुटिङका लागि केही बेरमा जात्रा सुरु भो, जहाँ भक्तपुरमा मात्र नाच्ने घिन्ताङघिसी, वसन्तपुरमा मात्र नाच्ने पुलुङकिसी, महाबौद्धमा मात्र घुमाइने खर्क, सिन्दुरजात्रा सबै एकै ठाउँमा। कुमारी पनि देखिइन्, झाक्री र लाखे पनि देखिए। एक दिनमै भ्याइयो सुटिङ। 

विश्व नचाउँदै नेपाली संगीत 

भिडियोसहित सार्वजनिक गीतको चर्चा अनेपेक्षित बन्यो। मिडियादेखि, सामाजिक सञ्जालसम्म धन्यवाद र बधाईका ओइरो लागे। दीपक र ब्यान्ड नै छक्क। लोकबाजा, जात्रा, पर्व र सांस्कृतिक नृत्यहरुमा रुची नै नभएकाहरुले पनि भिडियोमाथि प्रतिक्रिया दिए। 

'विदेशमा रहेका नेपाली अभिभावकलाई सजिलो भएछ। फरक फरक जात्राहरु बारे खोजी खोजी देखाउँदा हेर्न नचाहने बालबालिका, हाम्रो भिडियो हेरेर यो कुन जात्रा हो, कुमारी कता बस्छ सोध्न थाले रे,’ गीत रिलिजपछिको प्रतिक्रियाबारे सुनाए, 'यस्तो मेसेजले साँच्चै आनन्द दियो।' 
दीपक बज्राचार्यको यो प्रयासले नेपाली कला, लोक बाजा र संस्कृतिलाई विश्व बजारमा चिनाउन थालेको छ। कभर डान्स र अन्तर्राष्ट्रिय मञ्चमा यो गीतको प्रयोग त्यसको आधार बनेको छ। मिस अर्थ २०१८ मा सहभागी प्रिया सिग्देलले ट्यालेन्ट राउन्डमा र द र्यापिडो च्याप्ज समूहले डान्स प्लसको अडिसनमा मन मगनमा प्रस्तुति दिए। 

यो गीतको अर्को रोचक पक्ष त के छ भने दिलिप रायमाझी फिचर्ड कभर भिडियोले ओरिजिनलले भन्दा बढी भ्युज कमाएको छ। दीपक भन्छन्, ’जसरी जताबाट भए पनि यो गीत धेरैले हेर्नुपर्‍यो। मैले र मेरो टिमले भन्न खोजेको कुरा सुन्नु पर्‍यो।‘ 

*** 
मनमगनको चर्चासँगै दीपक बज्राचार्य एण्ड रिदमको ‘विश्वलाई नचाऔं नेपाली संगीतमा’ अभियान सफल हुँदैछ। इन्डियाको म्युजिक कम्पनी डिजिट्युनका निखिल पञ्चामियाले मन मगनकै हिन्दी भर्सनबाट बलिउडमा डेब्यु गर्ने प्रस्ताव राखे। ‘उनले बलिउडमा काम गर्न पहिलेदेखि भनेको तर त्यहाँ गएर काम गर्ने आँट, रहर खासै थिएन। गीत रिलिजपछि भने उनले मन मगन नै बनाउन प्रस्ताव राखे,’ उनी उत्साही हुँदै सुनाए, 'नेपाली अडियन्स धेरै भएको इन्डस्ट्रीका लागि काम गर्नु खुशीको कुरा हो, हामीले स्वीकार्यौं।' 

डिजिट्युनले नै तीनवटा हिन्दी लिरिक्स लेखेर पठाएको थियो यसका लागि। तर, गीतकार रिक्कीले ती शब्दहरुलाई आफ्नो भावसँग मेल खाएको पाएनन्। र, आफै लेख्न रौसिए। ‘भान्जोले हिन्दीमा पनि गज्जब पो बनायो त, हे पतङ्ग, पतङ्ग… ए दिल है पतङ्ग मे हुँ मन मगन…,’ उनले गाएरै सुनाए। 

इन्डियाका लागि गीत रेकर्ड भयो। डिजिट्युनले पनि आवश्यक प्रचार थाल्यो।  

‘अब खुशीको कुरा सेयर गरौं न त है,’ हाँस्दै बोलेका उनले गीत इङ्गलिस, स्पेनिस र फिनिस भाषामा पनि बन्ने तयारी भएको जानकारी दिए। उनका अनुसार राइमिङ शब्द जुटे पनि भाव मिल्न गाह्रो भएकाले लिरिक्स तयार पार्न केही समय लाग्ने भएको छ। 

गीतलाई नेवारी भाषामा आफैले बनाइसकेका छन्। उनी चाहन्छन्, धेरैभन्दा धेरै भाषामा यो गीत बनोस् र संसारले सुनोस्। दीपक बज्राचार्य एण्ड रिदम ब्यान्ड धिमेको धुनलाई केन्द्रमा राखेजस्तै डमरु, शङ्ख, सारङ्गी, पात आदिको आवाजलाई केन्द्रमा राखेर गीत बनाउने तयारीमा छ। 

महत्वकांक्षा सहित तयार भएको उनको सबैभन्दा पछिल्लो गीत 'वरपर…' मा तान र अल्लारेमा मादलको धुनमा ध्यान दिएका थिए उनले। उनीसामु मन मगनले थप चुनौतीहरु थपिदिएको छ – अझै राम्रो गर्ने। उनी त्यसका लागि तयार सुनिए। भने, 'हामीसँग भएका ढिकी, जाँतो, पात पतिङ्गर सबैको बेग्लै धुन हुन्छ। ती सबै सुमधुर सुनिन्छन्। सुन्न, चिन्न र चिनाउन आवश्यक छ र ती धुनमा विश्वलाई नचाउनु छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell