PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


विरक्तिएर नेपाल छाडी गएका पुष्पन प्रधान जसलाई नेपाल आइडलको 'पंक्षी'ले नसोचेको चर्चा दिलायो


स्वेच्छा राउत

विरक्तिएर नेपाल छाडी गएका पुष्पन प्रधान जसलाई नेपाल आइडलको 'पंक्षी'ले नसोचेको चर्चा दिलायो

त्यतिबेला पुष्पन प्रधान चर्चाका लागि मिडियामा जान्थे, गीत बजाइदिन आग्रह गर्थे, अन्तर्वाताको लागि गुहार्थे। व्यवसायिक बजार भित्रको चलखेल, उठबस र समग्र प्रवृत्तिले उनलाई विरक्त बनायो। भाषा, भावना र भविष्यको खोजीमा नेपाल आएका पुष्पन विरक्तिए।

'आफ्नो गीत बजाउन मरी नमेट्। बरु तेरो गीत सुनेर उनीहरुले तँलाई बोलाउन्,’ कलाकार अनुपम शर्माले उनलाई सम्झाए। त्यसपछि आत्मशान्तिका लागि गाउँछु,आफ्नो गीत सुनाउन खर्च गर्दिनँ भन्ने अठोट बोकेर डुवर्स फर्किए। भारतको पश्चिम बङ्गालस्थित डुवर्स उनको जन्मस्थल हो।

यो पाँच वर्षअघिको कुरा।

अहिले पुष्पन अति व्यस्त छन्। पहिले अन्तर्वार्ताका लागि मिडियाका दैलो चहार्थे, अहिले मिडिया उनलाई खोजी खोजी आइरहेका छन्। फोन र संदेशको प्रवाह थामी नसक्नु भएको छ। अन्तर्वाता र संगीतकर्मीसँग भेटघाटले फूर्सद दिएको छैन। एउटा टेलिभिजन कार्यक्रमको एउटा गीतले उनले नसोचेको चर्चा पाए। 

कठालो समातेर गीत गाउन लगाएको क्षण  

कुमुदिनी होम्स्, कालिम्पोङमा विद्यालय स्थापना दिवस मनाउने तयारी तीव्र थियो। कार्यक्रममा गीत गाउन इच्छुकहरुको अडिसन सुरु भयो। थुप्तेन भुटियाको ब्यान्ड र स्कूलका शिक्षक निर्णायक थिए। सयौंले अडिसन दिंदा पनि साइन्स स्ट्रिमका कोही चयन भएन। क्लास टिचर आनन्द शर्मा झोक्किँदै आए र कराए- ‘तिमीहरुलाई केही आउँदैन। किताब मात्र पढेर त कतै पुग्दैनौ।’

पुष्पन प्रधानलाई कतै पुग्नु थिएन, त्यसैले सरको कुरा नसुने जसरी घोप्टो परिरहे। एक्कासी पछाडिबाट कसैले कठालो समात्यो, तानेर सरको अगाडि लग्यो र भन्यो- ‘सर यसले गाउँछ गीत।’

कठालो समात्ने ढिपी स्वभावको साथी रहेछन् याकुब।

कक्षामा सरहरुको आँखा छलेर बेन्च बजाउँदै गाउँथे,रमाइलो गर्थे। उनलाई पत्तो समेत थिएन साथीहरुको नजरमा परेको छु भन्ने। त्यसदिन याकुबको ढिपी नै पुष्पनको सांगीतिक यात्राको पहिलो पाइला बन्यो। 

‘हमे और जिनेकी चाहत ना होते 
अगर तुम ना होते, अगर तुम ना होते…’


शर्मा सरको अगाडि गाए। उनले पनि याकुबलेजस्तै तानेर स्टेजमा लगे र भने- ‘यसले गाउँछ गीत।’

‘सर टक्क लाएर अगाडि गएर बस्नुभो। फस्ट टाइम स्टेजमा, हात कामिराखेको। म त दर्शकतिर फर्केर होइन भित्तापट्टी फर्केर गाउन थालेछु’, उनी रौसिँदै बोल्छन्।

गाउन्जेलको सन्नाटा र गाइसकेपछिको ताली र सिट्ठीले अवाक् बनायो। अचानक निर्णायक बसेका सर बोले- ‘पुष्पन यो गीत अलि पुरानो भयो। ‘बहुत खुबसुरत हो’ भन्ने गीत गाउन।‘

 त्यो समयको हिट गीत थियो यो।

उनलाई गीत कण्ठ थिएन। जति आउँछ त्यति गाए।

‘त्यहाँबाट मलाई त्यो सरले उठेर आएर आफ्नो ठाउँमा राख्नुभयो। अब तिमीले हेर आफ्नो साथीहरुलाई अनि को राम्रो छ छान भन्नुभयो’, पुष्पनले सुनाउँदै गर्दा लाग्छ, १९ वर्षअघिको त्यो घटनाले जगाएको उत्साह आज पनि ताजा छ। 

डुवर्सको सामसिङ उच्च माध्यमिक विद्यालयबाट माध्यमिक तहमा उत्कृष्ट नतिजा ल्याए। त्यसपछि पढ्नका लागि कालिम्पोङ पुगेका थिए उनी। छोराले टप गरेपछि बुवा देवकुमार प्रधानले गर्वका साथ खुशी व्यक्त गरे- पुष्पन डाक्टर वा टिचर बन्छ, अनि गाउँमा सानले हिँड्छु। 

यता छोराले बाटो मोडेको पत्तो पाएनन्। पुष्पन आफूले महसुस गरेको कुरा सुनाउँछन्- ‘म यत्रो वर्ष फर्स्ट हुँदै पढें, कसले चिन्यो मलाई?

जवाहरलाल नेहरु पुरस्कार थापें, मेरो गाउँकाले मात्र त चिने। यता एउटा गीत गाउँदा सयौंको ताली पाएँ? लाग्यो- १० वर्ष म्युजिक गरें भने मजाले माथि पुग्ने रैछु कि क्या हो ।‘ 

स्कूल डेको गायनले तारिफ बटुल्यो नै, साथै नियमित रियाज थाले। संगीत सुन्थे, सम्बन्धित सामाग्री किन्थे, पढ्थे। नेपाली भाषा र साहित्यमा निकै रुचि भएका उनले गीत लेख्न पनि थाले। 

पढाइ भने बिग्रियो। गोल्ड मेडलिस्ट छात्र म्याथमा फेल। ‘मसँग गाउँको मान्छेहरुलाई हिँड्न दिन छोड्यो त्यहाँबाट। संगीतमा लागेर बिग्रियो। अरुलाई पनि बिगार्छ भनेर’, उनले सुनाए।

उच्च माध्यमिक तहको पढाइ सक्काएर सन् २००८ मा गाउँ फर्किए।

उनले एल्बम निकाल्छु भने, बुवाले नाईं भनेनन्। पैसा जम्मा गरिदिए। उनीसँगै बुवा पनि दार्जीलिङ जाने भए गीत रेकर्ड गराउन। तर, दार्जीलिङ जानु केही दिनअघि एल्बमका लागि जम्मा गरेको ६० हजार आइसी र पुष्पनको सबैभन्दा मिल्ने साथी दुबै हराए। 

‘आफ्नैले चोरेछ। धरानदेखि दिल्लीसम्म खोजियो। भेट्न त भेटियो तर २९ हजार मात्र फिर्ता दियो’, त्यो बेला दुखाएको घटना आज मजाक मजाकमा सुनाउँछन्। 

साथीले धोका दियो। 

‘अझै निकाल्छस् एल्बम?’, बुवाले सोधे। उनले सहमतिमा मुन्टो हल्लाए। बुवाको आड, परिवारको साथ। बिग्रियो भन्ने गाउँलेको कुराले असर गरेन। बरु जब उनले ८ वटा गीत रेकर्ड गराए र एल्बम ‘मन’ सार्वजनिक गरे, तब उनी चर्चामा आए। गाउँमा उत्सव भयो, पुष्पनको गीत गुञ्जियो। छोरो गायक बन्दा पनि बुवाको साख खस्किएन। छोराको वाहवाहीले खुशी बनायो। 

*** 


फरक ठाउँको खोजी 

‘सुन सुन सानु मलाया छाउनी 
छिनमै हाँस्ने सानु छिनछिन् मै रिसाउने’


बसमा यो गीत बज्दा उनलाई कतिखेर काँकडभिट्टा झरौंजस्तो भयो। ‘जब झरें तब मलाई मेरो ठाउँमा आएजस्तो भयो। गाडी हेर्‍यो- रात्री बस, दिवा बस लेखिएका गाडीहरु। स्वागत नेपाली भाषामा, गाली पनि नेपाली भाषामा। राम्रो बोल्न नेपाली, नराम्रो बोल्न पनि नेपाली। सोचें- मेरो भाषाको गीत सुन्नेहरु त यता छन्।‘

संगीतको सपना नेपाली भाषामा देख्न थालेका उनको लागि डुवर्समै रहनु उचित थिएन। त्यसैले नेपाल आए। साथ दिए साथीहरु देवेन्द्र गौतम र सुमन लेप्चाले। ‘मेरो आवाजमा विश्वास गरेर लगानी गर्ने र मैले राम्रो गाउँदा सर्वाधिक खुशी हुने साथीहरुलाई छोड्न सकिनँ’, वाणी ब्यान्डका अरु दुईलाई सम्झिन्छन्। 

त्यसपछि उनको नेपाल आउने र डुवर्स जाने क्रम बाक्लियो। गीत रेकर्ड गराउनु, लेख्नु, संगीतकर्मी भेट्नु नियमित बन्यो। 

*** 

सँगै भएर पनि हेर्न पाएनन् बाबाले केही 

सांगीतिक करिअरको सुरुवाती फेजमा थिए। बुवा बिरामी परे। उनी परिवारका सदस्य बाहेक सबैलाई ठम्याउँथे। डाक्टरले मानसिक रोगको संकेत गर्‍यो। औषधी दियो, ठीक भएन। सम्हाली नसक्नु भएका बुवालाई निको हुने आशले प्रशान्ती निलयमसम्म लिएर गए तर, रोगले झनै चाप्यो। 
‘सम्मान बोकेको घरमा तमासा हुन थाल्यो। बाबालाई नमस्ते गर्नेहरु हेयको आँखाले हेर्न थाले। मैले देउता मानेको मान्छेलाई त्यस्तो भएको हेर्न निकै गाह्रो भयो’, उनी पीडाका कुरा सुनाउँछन्। त्यसताका उनी रातरातभर ननिदाई बुवाका लागि गीता पाठ गरेर बस्थे। जुत्ताको तुना बाँध्नदेखि ट्वाइलेटसम्म पुष्पनको सहारा चाहिने भयो। स्याहार्नेलाई चिने पो त। देवकुमार जथाभावी गाली गर्ने र हात छोड्ने भए। अन्तत: परिवारले धार्मिक गुरु कोप्चे बाबाको शरण लिने भयो। 

‘भएभरको शक्ति लाएर पिट्नु हुन्थ्यो। बुवा भनेर कति सहने हैन? सक्नेसम्म सहन्थें। नसकेपछि कुस्ति खेल्थें’, उनी गुरुकोमा जानुअघिको कुरा सुनाउँछन्,’सारा गाउँले विश्वास गरेको बाबा ढोग्न नगएको हाम्रो परिवार आखिर त्यहीँ पुग्यौं।‘ 

सिक्किममा कोप्चे गुरुको आश्रम छ। त्यहाँ सयौं मान्छे बिरामी लिएर आउँछन्। ठीक भएको विश्वास लिएर जान्छन्। धार्मिक गुरु र बाबाहरुमा विश्वास नगर्ने पुष्पन पनि बाध्यताले तानिए। तर अहिले उनको आधा परिवार त्यतै छ। उनको बिदा कोप्चेमै बित्छ। 

आश्रममा प्रधान परिवारको १२ वर्ष बित्यो। ‘गुरुको ‘केही पनि हुँदैन’ भन्ने वाणीले नै त्यत्रो समय कटाइदियो।’ 

सो अवधीभर पुष्पनको परिवारले हरेक ठक्कर खायो, पीडा र दु:ख अर्ज्यो। सँगै केही राम्रा कुरा पनि भए। 

बुवाकै इच्छा अनुसार प्राथमिक शिक्षक प्रशिक्षण संस्थानमार्फत् स्कूल पढाउने आवेदन दिएका थिए। पहिलो नम्बरमा नाम निस्कियो। फोन आउँदा एकसुर भएका बुवालाई हेर्नु, आँशु झार्नु र छोडेर पढाउन जानुको विकल्प थिएन। गए। 

‘मेरो बाबा ज्युँदो भएर पनि म सरकारी शिक्षक भएको थाहा नहुनु कत्रो विडम्बना।’

आमा, भाइ र बुहारीले मात्र अवस्था सम्हाल्न सकेनन्। उनी ६ महिनाको बिदा लिएर सिक्किम फर्किए। उनकी प्रेमिका निर्मिताले पनि घरमा ढाँटेर उतै पुगिन्। तर, देवकुमारले न त परिवारको कसैलाई चिन्थे न त बुहारी नभई उनको स्याहार गर्न आएकी निर्मितालाई। ‘एकपटक त आँखै अगाडि उनको चुल्ठो समाएर फनफनी घुमाइदिनु भयो। मैले केही गर्न सकिनँ।‘

बुवा आश्रममै थिए। निर्मिता र पुष्पनको विवाह भयो। विवाहको औपचारिकतामा पनि कसैको मुहार हाँसेन। किनकि त्यहाँ घरको जेठो सदस्य नै थिएन। 

उनले गाउन छोडेनन्। धरानबाट गीत गाउन बोलाउँथे, उनी कुदी हाल्थे। काठमाडौंबाट कसैको फोन आउँदा उनले नाईं भन्दैन थिए। परिवारप्रतिको जिम्मेवारी साथसाथै जिन्दगीको त्यो पाटो सँगै लिएर हिँडे। 

*** 


पुष्पनले बाँध्ने फेटाको कथा 

वाणी ब्यान्डले सन् २००८ मा रेकर्ड गराएको गीत ‘पंछी’ यदाकदा सुनिन्थ्यो। गीतले उस्तो धेरै चर्चा कमाएन। जुन यथार्थले पुष्पनलाई पनि बिझ्यो। एक्कासी २०१३ मा उनलाई चर्चित कार्यक्रम कृपा अनप्लग्डका लागि बोलाइयो। तर, बुवा छोड्न नमिल्ने परिस्थिति र आफ्नो रहरको चेपमा अड्किए। 

एकपटक कृष्ण जन्माष्टमीको अवसरमा ‘मेरा मान तु, सान तु, अभिमान तु’ भन्ने गीत गुरुका लागि गाएका थिए। गुरुले सुझाएको सम्झिए- गाउन नछोड्नू।

‘गुरु मेरा लागि देउता बनेर आउनु भयो। सकारात्मक ऊर्जा भर्ने, लडाउने, फकाउने सबै गर्नुभयो’, उनी आध्यात्मिक गुरुसँगको सानिध्यताको कुरा खोल्छन्,’मन साँचो हुनुपर्छ र मनलाई लागेको काम गर्नुपर्छ भन्ने उहाँकै वचनका कारण म कृपाका लागि आएँ।‘ 

भोलिपल्ट रेकर्डिङ र सुटिङ थियो। उनी अत्तालिए। तीनकुनेमा कोप्चे गुरुकै अर्का भक्तसँग बसेका थिए। उनले पुष्पनलाई नआत्तिन भने। सकेनन्। ‘उहाँलाई गुरुले एउटा सल दिनु भएको रहेछ। त्यही दिनु भयो। म गुरुको आशीर्वाद बोकेर स्टुडियो गएँ।‘ 

गुरुको प्रसादलाई शिरमा बाँधे। ‘डर भागेजस्तो भयो। गीत गाएँ। मन फुरुङ्ग भयो’, उनी सुनाउँछन्,’कृपा अन्पल्ग्डको त्यही एपिसोडबाट मैले हरेक पटक गाउँदा फेटा लाउन थालें।’

कृपामा आफ्नो गीत रिलिज भएपछि आएको प्रतिक्रिया र बधाईले उनको संगीतप्रतिको मोह झन् बढ्यो। काठमाडौं आउने जाने क्रम बाक्लियो। 
जिन्दगी चलाउन पुग्ने पैसा शिक्षण पेशाबाट कमाउँथे। गीत गाएर पैसा कमाउनु थिएन। त्यसैले चर्चाका लागि मिडियामा जान्थे, गीत बजाइदिन आग्रह गर्थे, अन्तर्वाताको लागि गुहार्थे। 

यसैबीच बुवा ठीक हुने आशा सकियो। २०१५ मा बुवाको निधन भयो। तर, उनले संघर्ष गर्न छोडेनन्। उनको ‘धिनधिना’बोलको सूफी गीतले चर्चासँगै इमेज अवार्डसमेत पायो। फिल्म ‘जिन्दगी रक्स’को 'माया' बोलको गीत पनि चल्यो। तर व्यवसायिक बजार भित्रको चलखेल, उठबस र समग्र प्रवृत्तिले उनलाई विरक्त बनायो र उनी डुवर्स फर्किए। 
 

अमित बराल बने विधाता 

नेपाल आइडलको सिजन २ को गएको बिहीबारको कार्यक्रममा टप सेभेनको जजिङ राउन्ड थियो। अमित बरालले पुष्पनको ‘पंक्षी’गीत गाए। साथमा पुष्पन पनि थिए। दोस्रो पटक थियो उनले यो गीत गाएको। 

त्यसअघि अक्टोबर ११ मा उनै अमितले यही गीत गाउँदा नेपाल आइडलको मञ्च नै भावुक भएको थियो। लक्ष्मीप्रसाद देवकोटाको रचना रहेको यो गीतले इन्दिरा जोशी लगायतका जजहरुको आँसु थामिएको थिएन।

कार्यक्रम अन एयर भएपछि चुलिएको गीतको चर्चा र प्रतिक्रिया देखेर उनी आफैँ छक्क परे। आफूले चाहेको स्रोता १० वर्षपछि नेपाल आइडलमार्फत् अमितले कमाएको देख्दा उनी खुशी भए।

 उनलाई मनको भित्र लाग्थ्यो- नेपाल आइडलले नेपाल बोलाउँछ होला। नभन्दै बोलायो पनि।

‘अरुको सफलता देख्दा लोभ जाग्छ भन्ने डरले फेसबुक डिएक्टिभेट गरेको थिएँ। खोलें। फेसबुक खोल्नुले नेपाल आइडलमा आउने बाटो खोलिदियो‘, उनी दङ्ग देखिन्छन्। 

केही नसोची प्रस्ताव स्वीकारें। ‘पहिले त पंक्षी गीतको ट्रेलर रिलिज भएको रहेछ। अमितले पूर्ण पारिदियो।’ 

दोस्रो पटक सँगै गाएका पुष्पनले पनि भनेका थिए,’अमित मेरो लागि विधाता बनेर आयो।‘ 

अहिले फोन र संदेशको प्रवाह थामी नसक्नु भएको छ। अन्तर्वाता र संगीतकर्मीसँग भेटघाटले फूर्सद दिएको छैन। ‘यतिखेर म अनुपम र मेरो गुरुलाई सबैभन्दा धेरै सम्झिरहेछु।’ 

भर्खरै फिल्म ‘समर लभ’मा एकल शब्द र संगीत दिएका उनी फिल्मका लागि धेरै गीत गर्ने पक्षमा भने छैनन्। उनी सूफी र साधनामै रमाउँछन्। 
डुवर्समा उनी जुरन्ती चियाबारी पाठशालाको हरेक स्थापना दिवसअघि विद्यार्थीको अडिसन लिंदै गरेको भेटिनेछन्।

आफ्ना स्कूलका विद्यार्थीहरुसँग पनि गाउनु रमाउनु उनको बानी भइसक्यो। त्यसैले काठमाडौँले दिएको खुशी लिएर डुवर्स फर्किँदैछन्। यो पटक लिएर जान पहिलाको जस्तो निराशा छैन। 
 



विरक्तिएर नेपाल छाडी गएका पुष्पन प्रधान जसलाई नेपाल आइडलको 'पंक्षी'ले नसोचेको चर्चा दिलायो को लागी ३ प्रतिक्रिया(हरु)

Lal Tamang Pakhrin [ 2018-11-29 23:17:23 ]
"पंक्षी" गीतका रचनाकार लक्ष्मी प्रशाद
देवकोटा हैनन् स्वयम पुष्पनले रचना गरेका हुन् । हातको मैला... भन्ने एक अनुच्छेद मात्र महाकवि देवकोटाका मुनामदनबाट साभार गरेका हुन् जसको लागि उनले संबन्धित निकायबाट ईजाजत लिएका छन् । पहिलो पोष्टले "पंक्षी" गीतका रचनाकार लक्ष्मी प्रशाद देवकोटा हुन् भनेको छ जुन गलत हो ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Deepa Rai [ 2018-11-27 14:46:44 ]
हार्दिक बधाई पुष्पण भाईलाई साथै अमित बराललाई हार्दिक धन्यवाद । साच्चै मन भरेर आयो पुष्पणको संघर्ष देखेर। संघर्षले भरिएको संगीत साधना आज "नेपाल आईडल" को माध्यमबाट श्रोताले जान्न पाएको छ। शुभकामना छ आगमी दिनहरूको निम्ति ।
धन्यवाद नेपाल 😇

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Purna kumar shrestha [ 2018-11-26 05:31:17 ]
Wow brother i really appreciate to your voice and struggle hope you will get more than more sucessful

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट