PahiloPost

Dec 12, 2018 | २६ मंसिर २०७५


सुशीलको त्यो 'गोप्य स्कुले डायरी' जसबाट रिलिज हुँदैछ 'प्रसाद'


स्वेच्छा राउत

सुशीलको त्यो 'गोप्य स्कुले डायरी' जसबाट रिलिज हुँदैछ 'प्रसाद'

पोखराको गगनगौंडा टोल। विवाह भएको लामो अवधि बित्दा पनि सन्तान नजन्मिँदा चर्चामा थियो एक जोडी। बाहिरबाट हेर्दा ठीकठाक लागे पनि सन्तान नभएको विषयले उनीहरुको कुरा काटिन्थ्यो। जिस्क्याउने पनि गर्थे कतिले। उनीहरु पनि निराश देखिन्थे।

त्यहीको गोगन माध्यमिक विद्यालयमा पढ्ने एक किशोर यी सबै घटनालाई अनौठो मानेर हेर्थे। आमा बन्ने अधिकारबाट किन बञ्चित छिन् ती महिला? समाजलाई किन यतिसम्म चासो उनीहरुको? कक्षा ९ मा पढ्दै गरेका ती किशोरको मनमा धेरै प्रश्न उब्जिए। 

दुई दशकअघिको त्यो कालखण्डमा यौन तथा प्रजनन् स्वास्थ्यको कुरा गर्न समाज अहिले झै उदार थिएन। झन्, स्कूल पढ्ने किशोरले त्यस्ता विषयमा जिज्ञासा राख्नु गल्ती नै मानिन्थ्यो। त्यसैले उनले ती दम्पतीका बारे जे सुने र अवलोकन गरे, त्यसलाई कापीमा उतार्न थाले। एकप्रकारले कथा नै तयार भयो। लेख्न त लेखे तर त्यो सार्वजनिक गर्ने हिम्मत जुटाउन सकेनन्। कथालाई डायरीको बाक्लो कभरले लुकाइराख्यो। आज २२ वर्षपछि त्यही डायरीका पानामा बुनिएको कथाले फिल्मको रुप लिएको छ। ती किशोर हुन् फिल्म पत्रकार सुशील पौडेल। 

‘मैले चाहेर पनि किन सन्तान भएन? उनीहरुको कुरा किन काटिन्छ? सोध्न सकिनँ,' स्कुले जीवनलाई सम्झँदै सुशीलले भने, 'त्यो बेला लाज लाग्यो। समाजले के भन्ला भन्ने डर पनि थियो।’

सुशीलको डायरीबाट त्यो कथा फिल्म 'प्रसाद'का नाममा आउँदो २१ गते सार्वजनिक हुँदैछ। के समाज त्यो कथामा भनेको अवस्थाजस्तै छ? या समयसँगै परिवर्तन भए? अनि उनको डायरीबाट फिल्ममा रुपान्तरण भएको कथाले के भन्छ? 

लेखक सुशीललाई प्रश्न नसोधी हामी निस्कियौं - त्यस्तै कथा खोज्न।

***

थापाथली प्रसुती गृह।

गेटबाट भित्र छिर्नासाथ दाहिनेपट्टिको रातो भवनमा छ आइभीएफ युनिट। आइभीएफ अर्थात् इन–भिट्रो फर्टिलाइजेसन। सम्भवत सुशीलको कथाका पात्रहरु युनिटको बाहिर लामबद्ध छन्। प्राकृतिक गर्भधारण नभएपछि कृत्रिम प्रक्रियाबाट बच्चा जन्माउने आशामा परीक्षण गराउन यहाँ उनीहरु उपस्थित छन्।

नाम : सुजिता श्रेष्ठ (नाम परिवर्तन)।

ठेगाना  : ताहचल, काठमाडौं।

अनि यस्तो स्क्रिप्ट -

सुजिताको रुपक श्रेष्ठ (नाम परिवर्तन) सँग प्रेम विवाह भएको पाँच वर्ष भयो। दुवैले चाहेर पनि गर्भधारण भएन। एक वर्षअघिमात्र थाहा भयो - रुपक बच्चा जन्माउन सक्षम छैनन्।

त्यसभन्दा अघि तीन वर्षसम्म निरन्तर अस्पतालदेखि धामी झाँक्रीसम्म धाउनु उनीहरुको निरर्थक प्रयास बन्यो। यो दम्पत्तीलाई नि:सन्तान रहनुपर्ने पीडाले गाँजेको छ, अहिले।

‘बुढा बुढी त एकअर्काको मुख हेरेर पनि खुशी हुन्थ्यौं होला तर परिवार र समाजले एउटै कुरा लिएर घोच्ने रहेछन्, ’ सुजिता मलिन स्वरमा बोल्छिन्। यहीनेर लाग्छ – सुशीलको फिल्मका पात्र यिनै त होइनन्?

यी पात्रमाथिको स्क्रिप्ट अघि बढ्छ -

रुपकबाट बच्चा सम्भव नहुने भएपछि उनीहरुलाई लाग्यो अरु कसैको बच्चा स्वीकारौं। खोजी थाले। बच्चा दिने पक्ष राजी पनि भयो। तर, रुपकका बाबुले मान्दै मानेनन्। उनलाई बुहारीकै कोखबाटै सन्तान चाहिएको रहेछ। ‘तँबाट हुँदैन भने अर्की बुहारी ल्याउँछु भन्नुहुन्छ। कुरा बुझ्नै खोज्नु हुन्न,’ ससुराले यस्तै बचन लगाइसके। रुपकका बुबालाई सन्तान बुहारीका कारण होइन, छोराकै कारण नभएको थाहा छैन।  

घरभित्र मात्र होइन, बाहिर पनि उनीमाथि बचनवाण चलिरहन्छ। कतिले ‘थारी’ भन्दिन्छन्। कतिले ‘बाँझी’। उनीसँग प्रतिवादका शब्द छैनन्। 'यो विषयमा बोल्न त गाह्रो हुन्छ वचन कसरी सहनु?' टिलपिल आँखा पारेर उनले सुनाइन्।

बचनको वाणलाई उनी रोएरै सितलो पार्न खोज्छिन्। केही मानिसहरु छन् ढाडस दिने। पीर नगर्न सुझाव पनि दिन्छन्। भन्छन् – 'छाड्दे सन्तान नभए एक पीर, भए हजार पीर।'

तर, उनी हजार पीर सहन राजी छिन्। बस्, समाजले प्रश्न गर्न छाडे पुग्यो।

कतिले ‘ढिलो चाँडो भइहाल्छ’ भनेर आश्वासन दिन्छन् तर आफ्नै घरकाले कुरा बुझ्दिदैनन्। कतिले त ‘अर्कोसँग बिहे गर्न' समेत सुझाए। उनी त्यो सोच्न पनि सक्दिनन्।

स्वभाविक नै हो, कोही गर्भवती देख्दा उनलाई सन्तानको रहर लाग्छ। आफूलाई पनि आमा भन्ने कोही होस् जस्तो लाग्छ। कोही गर्भवती देख्दा आफ्नोपनको अनुभूति गर्छिन्। शिशु फालेको खबर सुन्दा भक्कानिन्छिन्।

‘टेष्टट्युब बेबी’ बारे बुझ्न यहाँ आएकी हुन् उनी। जसबारे श्रीमानलाई बाहेक कसैलाई थाहा छैन।

‘तपाईंको त बुढामा खराबी रै'छ। हामी आफ्नै कोखमा खराबी भएकोलाई कति सहनु परेको होला बहिनी?’, नजिकै बसेकी अधवैंशे महिला बोल्छिन्।

अर्को पात्र हुन्, अनिता सुवाल। घर भक्तपुर।

उनको विवाह २०५९ सालमा भएको हो, १८ वर्षकै उमेरमा। बिहे गरेको २ वर्षसम्म बच्चा नभएपछि उनी उपचारका लागि गइन्। ‘डाक्टरले बच्चालाई किन बच्चा जन्माउन हतार भनेर गाली गरेपछि फर्कियौं’, उनी पुरानो कुरा सुनाउँछिन्। त्यसको ठीक दुई वर्षपछि अस्पताल जाँदा उनी आमा बन्न नसक्ने थाहा भयो।

रोइन्, कराइन्, धामी-वैद्य गरिन्। कसैले पापको नतिजा भने त कसैले सम्पत्ती जोगाउन सन्तान नजन्माएको भने। आठ वर्षपछि उनी गर्भवती भइन्। सबैको मुख थुनियो। तर, जब उनी र श्रीमान् केशव सुवालले आइभिएफ प्रक्रिया अपनाएको थाहा पाए तब धेरैले भने - केशवको बच्चा होइन त्यो।

***

आइभिएफ युनिटबाहिर आशा बोकेर बसेका यिनैजस्तै पात्र दुई दशक अघि कुन अवस्थमा गुज्रिएका थिए होलान् जसलाई सुशीलले भेटेका थिए र कथा डायरीमा उतारेका थिए। यही बिचमै 'डिस्क्लेमर' पनि – हामीले भेटेका पात्र सुशीलको फिल्मसँग मेल खान गएमा संयोगमात्र हुनेछ।

कथा बुनेर थन्क्याएको केही वर्षमा नै सुशीलको काठमाडौं यात्रा सुरु भयो। यहाँ पत्रकारिता थाले उनले। यही शहरमा भिज्न थाले। धेरै कथा देखे, पात्रहरुसँग ठोक्किए। त्यस्तैमध्ये केही कथा उनको डायरीमा लेखिएको जस्तै पनि थिए।

‘मैले स्कूले जीवनमा देखेर लेखेको कथा त आज पनि भेटिने रहेछन्, ’ सुशीलले सुनाए, ’नि:सन्तान दम्पत्ती हुनु। सन्तान प्राप्तीको उपाय खोज्नु तर, नभेट्नु। छर छिमेक, परिवारले प्रश्न गर्नु, त्यो पनि प्राय महिलालाई।'

एकदिन सुशीलले स्कूलमा लेखेको त्यो कथा निर्देशक दिनेश राउतलाई सुनाए। कथा ब्रिफिङ गरेको एक वर्षसम्म दिनेशले केही भनेनन्। त्यसताका उनी फिल्म ‘पर्व’को काममा व्यस्त थिए। सन् २०१८ को सुरुवातमा मात्र दिनेश उक्त कथामा काम गर्न तयार रहेको बताए। र, तय भयो फिल्म ‘प्रसाद’।

फिल्ममा आफ्ना पात्रलाई जिवन्त देखाउन दिनेशले सक्छन् भन्ने सुशीलको विश्वास थियो। उनका अरु फिल्ममा त्यो खुवी देखेपछि कथामा न्याय दिनेशले गर्न सक्ने ठाने।

सुशीलको दृष्टिकोणमा उनले सोचे जस्तै भयो। दिनेशले कलाकारलाई ठ्याक्कै आफूले चाहेजस्तै बनाउन जोड दिए। 

‘पहिले आफैँ त्यो पात्र भएर हेर्छु। जब यतिसम्म गर्न सकिन्छ भन्ने थाहा हुन्छ त्यति नै कलाकारसँग माग्छु’, निर्देशक दिनेशले भने, 'यस्तो संवेदनशील विषय उठाएर पात्रलाई सजिव बनाउन नसक्दा म दर्शकप्रति गैरजिम्मेवार देखिने जोखिम थियो।'

फिल्मको छायांकन जारी थियो। निश्चल बस्नेतको सिन खिच्दै थिए। निर्देशकले निर्देशन दिए, ’नहाँसी आँखाले हाँस्नुस् न।' 

सफल निर्देशक भनेर चिनिएका निश्चल बस्नेत मुर्मुरिए। घटना सम्झिँदै बस्नेतले सुनाए, 'मन मनै सोधेँ, नहाँसी हाँस भनेको के हो? तर निर्देशकले अह्राएको काम कोसिस त गर्नै पर्यो।’

केही बेरको प्रयासपछि दिनेश राउतले भने – 'हो यस्तै भनेको।'

‘मलाई पनि ए हुने रै'छ त भन्ने भयो, ’ निश्चलले अनुभव सेयर गरे, 'उहाँसँगको कामले मलाई निकै सहयोग मिलेको छ।‘

फिल्ममा निश्चलसँगै मुख्य पात्रमा छन्, विपिन कार्की र नम्रता श्रेष्ठ।

दुई मुख्य कलाकार पुरुष, लेखक पुरुष, निर्देशक पुरुष। नम्रता एक्ली महिला। तर, सिङ्गो फिल्म उनकै काँधमा छ। सुशिल भन्छन्, ’महिला केन्द्रित स्क्रिप्टको काममा उहाँले निकै सहयोग गर्नुभयो। हामीले त महिला भएर सोच्न नसक्ने रहेछौं। सोचेको पनि दुरुस्तै नहुने।‘ 

नम्रताले स्क्रिप्टमा चित्त नबुझेका कुराहरु औंल्याइन्। नि:सन्तान महिलाको मनोदशा र भाव अभिव्यक्तिमा सहयोग गरिन्। त्यसपछि कथा झनै बलियो बन्यो।

श्रेष्ठ भन्छिन्, ‘टिममा काम गरेपछि सबैको इनपुट उत्तिकै आवश्यक हुन्छ। म महिला भएको नाताले महिला पात्रको मनोविज्ञान, हामीले सोच्ने तरिका र महसुस गर्ने कुराहरु बारे केही बताएँ। उहाँहरुले पनि नराम्रो मान्नु भएन।' 

सुजिताजस्ता पात्रहरुको संवेदना छुन र दर्शकलाई समाजभित्रकै यो यथार्थसँग नजिक महसुस गराउन सक्छिन् या सक्दिनन्? यो फिल्म प्रदर्शनपछि मात्र थाहा हुन्छ। किनकि हामीले प्रसुती गृहमा भेटेका पात्रहरु हजारौं छन् जो सन्तानको आशामा डाक्टर, धामी झाक्री र पूजापाठमासमेत जुटिरहेको छन्। 
 



सुशीलको त्यो 'गोप्य स्कुले डायरी' जसबाट रिलिज हुँदैछ 'प्रसाद' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट