PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

८ वर्षे बालक हत्या प्रकरण : चालकको बयान, 'मलाई पहिलेदेखि नै रिस उठिरहेको थियो'



सविन ढकाल

८ वर्षे बालक हत्या प्रकरण : चालकको बयान, 'मलाई पहिलेदेखि नै रिस उठिरहेको थियो'

काठमाडौं: गत मंगलवार गोंगबुबाट अपहरणमा परेका बालकको हत्या भएको छ। ८ वर्षीय बालक प्रयास कुँवरको अपहरण हत्या गर्नकै लागि भएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

मंगलवार साँझ ६ बजेतिर मित्रनगरमा रहेको स्वस्तिक त्रिवेणी गेष्ट हाउसमा रहेका बालकको हत्या होटेलमै काम गर्ने गाडी चालक २२ वर्षीय महेन्द्र सार्कीले गरेको महानगरीय अपराध अनुसन्धान महाशखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए। एसपी उप्रेतीले भने, 'बालकको अपहरण हत्याको लागि नै गरिएको देखियो। अपहरणपछि लगत्तै हत्या भएको छ।'

बालकका बुबा प्रवीण कुँवर मित्रनगरमा स्वस्तिक त्रिवेणी गेष्ट हाउस संचालक हुन्। सार्कीलाई करिव २ महिनादेखि होटेलमा चालकको रुपमा काम गर्दै आएका थिए। सार्कीले प्रहरीको बयानमा भनेका छन्,' बच्चाले मलाई गाडीको लिभरले पिटिरहन्थ्यो। उसको वुबाले पनि पटक पटक गाली गरेका थिए। मलाई पहिलेदेखि नै रिस उठिरहेको थियो। त्यसैको बदला लिन हत्या गरेको हुँ।'

बालकका बाबुआमा होटेलमा नभएको मौका छोपी सार्कीले बालकलाइ गाडीमा हालेर लगेको र जंगलमा हत्या गरेको देखिएको हो। 'जंगलमा लग्ने वितिकै हत्या गरेर झोलामा हालेर फालेको देखिन्छ,' एसपी उप्रेतीले भने। अपहरणपछि सार्कीले मित्रनगर नजिकैको पसलबाट दुईवटा जेब्रा झोला किनेका थिए। त्यतिबेला बालक भने गाडीभित्र नै थिए। 

बालकको हत्या गरी सार्की होटलको गाडी लिएर फर्किएको अनुसन्धानमा देखिएको छ। बाबुआमा होटेलमा आएपछि छोरो हराएको भन्दै खोजी गर्न थाले। सार्की पनि उनीहरुसँगै खोजी कार्यमा खटिएका थिए। सार्की आफ्नै डेरामा लुकी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। स्याङ्जा भिरकोट नगरपालिका वडा ७ का सार्की करिव २ वर्ष भारतमा काम गरेर कुँवरको होटेलमा चालकको रुपमा काम गर्न आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell