PahiloPost

Dec 12, 2018 | २६ मंसिर २०७५


महन्थ ठाकुरले भने : संयोजक परिवर्तन हुँदा मलाई कुनै असन्तुष्टि छैन


पहिलोपोस्ट

महन्थ ठाकुरले भने : संयोजक परिवर्तन हुँदा मलाई कुनै असन्तुष्टि छैन
फाइल फोटो

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलका नेता महन्थ ठाकुरले पार्टीको संयोजक परिवर्तन हुँदा आफूलाई कुनै असन्तुष्टि नभएको बताएका छन्।

पार्टी कार्यालय बबरमहलमा आज बसेको राजपा अध्यक्ष मण्डलको अनौपचारिक बैठकमा नेता ठाकुरले संयोजक परिवर्तन विधानसम्मत  र एकताको मर्म अनुसार भएकाले आफूलाई कुनै असन्तुष्टि नभएको बताए।

बैठकमा सहभागी अध्यक्ष मण्डलका एक सदस्यले पहिलोपोस्टलाई भने,‘बाहिर हल्ला गरिए जस्तो उहाँमा कुनै असन्तुष्टि छैन। पार्टी एकताका बेला भएको सहमति कार्यन्वयन भएकोमा ठाकुरजीले सन्तुष्टि नै व्यक्त गर्नुभयो।’

ठाकुरलाई  उदृत गर्दै उनले भने, ‘यस विषयमा पार्टीमा विवाद हुनु दुखद् कुरा हो। म स्वास्थ्यका कारण दौडधुप गर्न सकिन। त्यही भएर हल्लाखल्ला भएको होला।’

यसअघि बसेको राजपा अध्यक्ष मण्डलको बैठकबाट संयोजक परिवर्तन गरेको थियो। ठाकुरलाई संयोजकबाट हटाएर विधान अनुसार चक्रीय प्रणालीमा अध्यक्ष मण्डलको संयोजक राजेन्द्र महतोलाई बनाइएको थियो।

आजको बैठकमा सरकारबाट समर्थन फिर्ता र महाधिवेशन लगायतको विषयमा छलफल गर्ने तयारी थियो। तर, ठाकुर अस्वस्थ भएका कारण आजको बैठकलाई अनौपचारिक रुपमै समापन गरिएको छ। आइतबार स्वास्थ्य उपचारका लागि दिल्ली जान लागेको ठाकुर फर्के पछि राजपा अध्यक्ष मण्डलको अर्को बैठक बस्ने जनाइएको छ।



महन्थ ठाकुरले भने : संयोजक परिवर्तन हुँदा मलाई कुनै असन्तुष्टि छैन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट