PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चौथो प्रयासमा बालकको हत्या 'अन्जाम' : अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद



पहिलोपोस्ट

चौथो प्रयासमा बालकको हत्या 'अन्जाम' : अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद

काठमाडौं : गत मंगलवार गोंगबुबाट बालक अपहरणपछि हत्या गरिएको अभियोगमा पक्राउ परेका २२ वर्षीय महेन्द्र सार्की विरुद्ध प्रहरीले अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ। 

बिहीवार महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सार्कीविरुद्ध कर्तव्य जान मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।  

८ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरेको सार्कीले स्वीकार गरिसकेको एसएसपी सिंहले बताए। एसएसपी सिंहले भने, 'उसले हत्या गरेको स्वीकार गरिसकेको छ। तर, हामी थप अनुसन्धान भने गरिरहेका छौं।‘

गत मंगलवार साँझ ६ बजेतिर मित्रनगरमा रहेको स्वस्तिक त्रिवेणी गेष्ट हाउसमा रहेका बालकको अपहरणपछि हत्या भएको थियो। बालकका बुबा प्रवीण कुँवर मित्रनगरमा स्वस्तिक त्रिवेणी गेष्ट हाउस संचालक हुन्। सार्कीलाई करिब २ महिनादेखि होटेलमा चालकका रुपमा काम गर्दै आएका थिए। बाबुसँगको रीसइवीका कारण बालकको हत्या गरेको देखिएको छ। सार्कीले प्रहरीमा दिएको बयान अनुसार पटक पटकको प्रयासपछि हत्या गरिएको हो। 'होटेलमा सधै बाबुआमा भएकाले मौका मिलेको थिएन। मंगलवार भने एक्लै भएकाले घटना गरेको हुँ,‘ प्रहरीले उनको बयान उदृत गर्दै जनाएको छ।

बालकका बाबुआमा होटेलमा नभएको मौका छोपी सार्कीले बालकलाई गाडीमा हालेर लगेको र जंगलमा हत्या गरेको देखिएको हो। सार्कीले मित्रनगर नजिकैको पसलबाट दुईवटा जेब्रा झोला किनेका थिए। त्यतिबेला बालक भने गाडीभित्र नै थिए। 

बालकको हत्या गरी सार्की होटलको गाडी लिएर फर्किएको अनुसन्धानमा देखिएको छ। स्याङ्जा भीरकोट नगरपालिका वडा ७ का सार्की करिब २ वर्ष भारतमा काम गरेर कुँवरको होटेलमा चालकको रुपमा काम गर्न आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell