PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


समीक्षा लेख्‍न सजिलो कि फिल्म निर्देशन? दीपेन्द्र लामा भन्छन् : स्पोर्टस् रिपोर्टिङ गर्नु र क्रिकेट खेल्नुजस्तै


पहिलोपोस्ट

समीक्षा लेख्‍न सजिलो कि फिल्म निर्देशन? दीपेन्द्र लामा भन्छन् : स्पोर्टस् रिपोर्टिङ गर्नु र क्रिकेट खेल्नुजस्तै

फिल्म समीक्षाबाट पत्रकारितामा स्थापित दीपेन्द्र लामा आगामी माघमा दोस्रो फिल्म गोपी लिएर आउँदैछन्। निर्देशकका रुपमा फिल्म घामपानीबाट नेपाली सामाजिक परिवेशलाई सरल तरिकाले पर्दामा उतारेका उनको बुझाइमा फिल्म पत्रकारिता र सिनेमा निर्देशनबीच कति अन्तर छ त? यिनै सन्दर्भमा स्वेच्छा राउतरीना मोक्तानले दीपेन्द्रसँग गरेको कुराकानी :  
 
फिल्म पत्रकारिताबाट फिल्म निर्देशक बन्दासम्म फिल्मलाई कसरी बुझ्नु भयो? 
फिल्म कथा भन्ने एउटा माध्यम हो। फिल्म पत्रकारिता गर्नु र फिल्म बनाउनुमा भने फरक। फिल्मबारे लेख्नु वा फिल्म समीक्षा गर्नु व्यक्तिगत हुन्छ। समाचारमा त एकजनाको बाइलाइन राखे पुग्छ। जिम्मेवारी पनि एकजनाको। तर, फिल्म मेकिङ त टिमवर्क हो। एकजनाको जिम्मेवारी एउटा काममा हुन्छ। 

पत्रकारिता गर्दा बुझेको जस्तै रहेछ त फिल्म? 
फिल्म पत्रकारिता गर्दा मलाई फिल्म बनाउन सजिलो छ जस्तो लाग्थ्यो। तर, अहिले फरक बुझेको छु। यो त  सोचेकोभन्दा धेरै गाह्रो रहेछ। पत्रिकामा आफूले सोचेको कुरालाई हुबहु उतार्न सकिन्छ। तर, फिल्ममा त्यस्तो हुँदैन। गर्न खोजेको जति सकिँदैन। अनि फिल्म पत्रकारिता गर्नु फिल्म बनाउनका लागि योग्य पृष्ठभूमि बनाउनु होइन रहेछ, जसरी स्पोर्टस् रिपोर्टिङ गर्नु र फुटबल वा क्रिकेट खेल्नु फरक विषय हुन्।

चाहेजस्तो गर्न नसक्नुको कारण? 
पहिले पहिले कमजोरीको कारण बजेटलाई देखाउँदा बहानाजस्तो लाग्थ्यो। मूल कारण त्यही रहेछ। प्राविधिक कमजोरीले पनि धेरै असर गर्ने रहेछ। र, लेखिएको कथालाई रुपान्तरण गर्न आवश्यक परिपक्वता ह्युमन रिसोर्समा पनि छैन। यसमा क्रमश: निर्देशक, कलाकार, सिनेम्याटोग्राफर सबै पर्छन्।  

अरु कस्ता अन्यौलता देखिएका छन्? 
फिल्म मेकरहरु पनि क्लियर नहुनु पनि अर्को समस्या हो जस्तो लाग्छ। 'लुट' चल्यो भने 'लुट' जस्तो अनि 'छक्का पञ्जा' चल्यो भने त्यस्तै फिल्म बनाउँछौं। आफूले कुन कथा कसरी भन्ने त्यो विषयमा प्रष्ट हुन आवश्यक छ। हामीले आफ्नोपन दिन नसक्नुले पनि असर गरेको छ। त्यसैको नतिजा हो ९० प्रतिशत फिल्म डुब्नु। 

यो अन्यौलता नरहने हो भने न त जुन चल्यो त्यसकै फर्मुला अपनाउनु पर्दैन। न त बाहुबलीको जस्तो कथा खोज्नु पर्छ न त फिल्म नचल्नुमा समीक्षकलाई दोष दिनुपर्छ।  यसमा फिल्म निर्देशक, निर्माता र लेखकमा आत्मविश्वास पनि हुनुपर्छ। 



अहिले भइरहेका फिल्म समीक्षालाई चाहिँ कसरी हेर्नु भएको छ?  
मैले फिल्मको समीक्षा गर्दा बुझेको कुरा, समीक्षाका लागि फिल्मको परिवेश र जनरा बुझ्न आवश्यक छ भन्ने हो। 'आर्ट सिनेमा’ भनिने फिल्महरुमा ठग्स अफ हिन्दूस्तान जस्तो फिल्मको तत्व हुँदैन। यस्ता फिल्महरुको ढाँचा, अभिनय, कथा भन्ने शैली लगायत सबै भिन्न हुन्छन्। त्यसैले 'छक्का पञ्जा' र ‘सेतो सूर्य’को समीक्षा गर्दा दुवैलाई एउटै चश्मा लगाएर गर्नु हुँदैन। 

तर, यहाँ सबै जनरा र परिवेशमा बनेका फिल्मको समीक्षा भने एउटै ढाँचाका हुन्छन्। 

समीक्षाले फिल्मको व्यापार  प्रचारमा असर गर्छ त? 
प्रचारले दर्शक तान्न सहयोग पुर्‍याउँछ। तर, टिकाउन फिल्म नै राम्रो हुनुपर्छ। समीक्षाले भने फिल्मको व्यवसायमा खासै असर नगर्ला किनकि अधिकांश दर्शकमा ‘भिज्योल लिटरेसी’ छैन। बिस्तारै बढ्दैछन् त्यसपछि गर्ला। अहिले हजार बाह्रसय टिकट बिक्रीमा असर गर्नु धेरै होइन, जसरी 'ठग्स अफ हिन्दुस्तान'लाई जसरी फरक पार्‍यो त्यस्तो होइन।

फिल्म हेर्न आउने दर्शक पनि त फरक फरक हुन्छन्। वर्षमा एकपटक फिल्म हेर्नेका लागि ‘छक्कापञ्जा’ सेलिब्रेसन हो। उनीहरुलाई समीक्षा आए पनि के नआए पनि के? अब मेकरसँगै दर्शक पनि अपग्रेड हुन जरुरी छ।  



दर्शकको अपेक्षा बारे कसरी बुझ्नु हुन्छ र त्यसको सम्बोधनको प्रयास? 
हलमा सबै किसिमको फिल्म मन पराउने दर्शक आउँछन्। र सबै खाले फिल्म पनि प्रदर्शनमा आएका छन्। ती फिल्म सीमित बजेटमा बनेका हुन्छन्। थोरै बजेटमा धेरै काम गर्न खोज्दा हो बिग्रने। थोरै लगानीमा भन्न सकिने कथाहरु हुन्छन्, नेपालको अर्गानिक कथा। 

मलाई चाहिँ दर्शकले त्यस्तो फिल्म खोज्छन् जस्तो लाग्छ। त्यसैले साधारण कथा सरल प्रस्तुति दिन खोज्छु। घामपानी त्यसको उदाहरण हो। अब प्रदर्शनमा आउने गोपी पनि त्यस्तै बनाउने कोसिस गरेको छु।

घामपानी र गोपीको समानता र भिन्नता के हो? 
यी दुई फिल्मको कथा भन्ने शैली एउटै हो। 'घामपानी' रियलिस्टिक फिल्म हो। 'गोपी'मा पनि अस्वभाविक घटना त छैनन्। तर, यो फिल्मको कथा र परिवेश भने फरक छ। 

कलाकारहरु पनि घामपानीको दोहिरिएका छैनन्। गोपीमा मास्टर्स पढेको युवाको कथा छ जसले गाई पालन गर्छ। 'गोपी'को छायाँकन र दृश्यहरु घामपानीको जस्तै लाग्न सक्छन्। किनकि दुवै हाम्रो समाजका कथा हुन्। 

फिल्ममा समाज कति यथार्थ ढङ्गमा प्रस्तुत हुनसक्छ? 
हामीले हाम्रो कथा भन्ने त हो। तर, समाजको अध्ययन नगरी देखेको भरमा कथा टिप्छौं जुन सतही हुन्छ। फिल्म भनेकै सुटिङ र पोस्ट प्रोडक्सन होइन। तर, हामी खोज्न र बुझ्न समय र पैसा खर्चदैनौं। कथा भन्न मिहेनत गर्नुपर्छ। निर्मातालाई छिटोछिटो काम सकाएर पैसा कमाउने हतार, निर्देशकलाई अर्को फिल्म निर्देशन गर्ने हतार। 

फिल्ममा समाज दुरुस्त देखाउन समाज र समाज बुझाउने सामाग्री पढ्न आवश्यक छ।

फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछानेले छायाँकन ताका फिल्म छोडे। असर गरेन त्यसले? 
त्यो चाहिँ यस्तो भयो- बिहेको लागि सबै तयारी सक्कियो। दुलही पनि जग्गेमै आइसक्यो तर दुलहा भाग्यो। असर त गर्‍यो नि। 



हतारमा रिप्लेस भएका विपिन कार्की र वर्षा राउतलाई चरित्रमाथि काम गराउन गाह्रो भएन? 
नेपालमा कलाकाहरु पात्रका लागि धेरै काम गर्दैनन्। गर्ने समय पनि हुँदैन। जति हुन्छ वर्कसपमा हुने हो। विपिन र वर्षाक लागि भने केही दिन दिइयो, उहाँहरुले आवश्यक तयारी गर्नु भयो। 

नत्र एकै दिन बिहान एउटा फिल्मको शुभ मुहूर्त, दिउँसो अर्को फिल्मको सुटिङ र बेलुका झन् अर्को फिल्मको डबिङ भ्याउनु पर्ने बाध्यता सबै व्यस्त कलाकारको छ। चरित्रकै कारण रुचाइएको विपिनको हकमा पनि यस्तै हो। 

'गोपी'बाट व्यक्तिगत रुपमा कस्तो अपेक्षा गर्नुभएको छ?
'गोपी'ले भयंकर पैसा कमाउँदैछ भन्ने होइन। लगानी भने उठ्छ। फिल्म हेरिसकेपछि नयाँ विषय उठाउन खोजेको रहेछ भन्नेहरुको सङ्ख्या बढ्नेछ। 



समीक्षा लेख्‍न सजिलो कि फिल्म निर्देशन? दीपेन्द्र लामा भन्छन् : स्पोर्टस् रिपोर्टिङ गर्नु र क्रिकेट खेल्नुजस्तै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट