PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


ठेकेदारको लेनदेन विवादले काँक्रेबिहार पुनर्निर्माणमा ढिलाई 


पूर्णबहादुर खड्का

ठेकेदारको लेनदेन विवादले काँक्रेबिहार पुनर्निर्माणमा ढिलाई 

सुर्खेत: सुर्खेतको ऐतिहासिक प्रसिद्ध पर्यटकीय क्षेत्र काँक्रेविहारको पुर्ननिर्माणको काममा ढिलाई भएको छ। विसं १३२५ मा सिन्जा साम्राज्यका राजा अशोक चल्लले बनाएको काँक्रेविहार गत २०७२ सालमा पुर्ननिर्माणको काम थालिएको हो। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि करिव साढे तीन किलोमिटर दक्षिणतर्फ रहेको उक्त कांक्रेविहार वि.सं. १८९० को भुकम्पले भत्किएर अस्तव्यस्त बनेको थियो।  

उक्त ऐतिहासिक पुरातात्विक पर्यटकीय स्थलको सम्झौता समयावधि सकिनै लाग्दा अझै काम अस्तव्यस्त छ। धार्मिक किम्वदन्ती अनुसार पञ्चपाण्डवको वासस्थान मानिने काँक्रेविहारमा बुद्ध, सरस्वती, विष्णु, पद्म, शंख र रथका पांग्रालगायत विभिन्न मुर्तिहरु रहेका छन्। उक्त मुर्तिहरुलाई थप कुदेँर आकर्षक रुपमा शिखर शैलीको रुप दिन लागिएको हो। 

पश्चिम नेपालकै ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्यको रुपमा रहेको काँक्रेविहारलाई पुर्ननिर्माणको जिम्मा पुरातत्व विभागले सिद्धबाबा कन्स्ट्रक्सन प्रालिलाई दिएको थियो।

कांक्रेविहारको पुर्ननिर्माणको जिम्मा प्रालिले ०७२ असार ४ गते लिएको थियो। त्यसको पुरातत्व विभागले सिद्धबाबा कन्स्ट्रक्सन प्रालिलाई  ९ करोड ६५ लाख ६६ हजार रुपैयाँमा ठेक्का दिएको थियो। प्रालिले जिम्मा लिएको समयदेखि करिव तीन वर्षमा सक्नुपर्ने भएपनि अझै पुननिर्माणको काम सुस्त गतिमा छ।
 
पछिल्लो समय प्रालिका दीपक कार्की र कामदारका ठेकेदारविचको विवादले पुर्ननिर्माण कार्यमा ढिलाई भएको पाइएको छ। प्रालिका कार्की र कामदारका ठेकेदार तीर्थ कश्यपको आपसी लेनदेनको कारण काममा ढिलाई भएको बुझिएको छ।
 
सोही पुर्ननिर्माणको काम गरिरहेको एक कामदारले नाम नखुलाउने भन्दै दुवै ठेकेदारको विचमा लेनदेनको विवादले काममा ढिलाई भएको बताए। ‘काम त निकै ढिलो भएको छ।’ उनले भने,‘कामको जिम्मा लिएको कन्स्ट्रक्सनको ठेकेदार र कामदार पक्षको ठेकेदारविच लिनदेन नमिलेको जस्तो देखिन्छ। त्यसो भएर काममा ढिलाई भएको हो। हामी गर्ने कामदार त काम जेनतेन गरिरहेकै छौँ।’

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको काँक्रेविहारको २०७२ साल असार ४ गते देखि  ३ वर्षमा सम्पन्न गरिसक्ने गरी निमार्ण कार्य सुरु गरिएको थियो।

यता, निर्माण कार्यको जिम्मा लिएका प्रालिका कार्की भने कुनै पनि विवाद नरहेको बताउँछन्। ‘हामीले काम तीव्रताका साथ गरिरहेका छौँ।’ उनले भने,‘प्रालिको र कामदार पक्षको कुनै विवाद छैन्। विचमा आउने हरेक समस्या र चाडपर्वले केही ढिलाई भएको छ।’ फेरि थपे,‘अब काम कुनै पनि हालतमा रोकिदैँ।’

वीरेन्द्रनगर नगरपालिका ९ का वडाध्यक्ष सुरेश मानान्धरका अनुसार जुन गतिमा काम गर्नुपर्ने हो त्यो गतिमा नभएको उनी बताउँछन्। ‘०७२ सालमा कामको जिम्मा लिएको प्रालिले जुन गतिमा गर्नुपर्ने हो त्यो गतिमा काम गरेको छैन।’ उनले भने,‘हामीले केही गर्ने ठाउँ छैन बेलाबखत प्रालिलाई अलि छिटो गर्नुपर्‍यो भनेर भनेकै छौँ।’ पुर्ननिर्माणको काम ढिलाई हुँदा पर्यटकलाई समेत असर गरेको उनले बताए। छिटो काम सकिए पर्यटकले लिनुपर्ने आनन्द लिन पाउने उनी बताउँछन्।
 
यता, कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीले आफुले पटक–पटक गएर अनुगमन गरेको र छिटो भन्दा छिटो पुर्ननिर्माणको काम सक्न निर्देशन दिएको बताए। ‘मैले दुई तिन पटक गएर अवलोकन गरिसकेको छु।’ उनले भने,‘नेपाल सरकारले समेत स्तरोन्नती गर्नुपर्ने पर्यटकीय गन्तव्य स्थलमा राखेको छ। यसको विकास र स्तरोन्नती बजेटले भ्याएसम्म स्थानीय, प्रदेश सरकार पनि लाग्नुपर्छ,’ फेरि थपे,‘पुर्ननिर्माणको काम सक्न मैले प्रालिका प्रतिनिधिलाई भनिसकेको छु।’
 
यसलाई बौद्ध सर्किटका रुपमा निर्माण सम्पन्न गर्नुपर्ने स्थानीयको माग छ। दैनिक २ सयको हाराहारीमा आन्तरिक तथा बाहय पर्यटकले अवलोकन गरिरहेको यस ठाउँमा अरु थुप्रै पर्यटकलाई आकर्षण गर्न सकिने संभावनाहरु छन्।



ठेकेदारको लेनदेन विवादले काँक्रेबिहार पुनर्निर्माणमा ढिलाई  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट