PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


‘किम्फ’ पुन: राष्ट्रिय सभा गृहमा, ७० भन्दा बढी फिल्म देखाइने


पहिलोपोस्ट

‘किम्फ’ पुन: राष्ट्रिय सभा गृहमा, ७० भन्दा बढी फिल्म देखाइने

काठमाडौं: काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलको सोह्रौं संस्करण मंसिर २१ गतेदेखि सुरु हुँदैछ। ‘वुमन मुभ माउन्टेन्स’ नारा रहेको फेस्टिभलमा देखाइने फिल्मको आइतबार सूची सार्वजनिक भयो। यस वर्ष ३१ वटा देशका ७० भन्दा बढी फिल्म देखाउने आयोजक संस्थाले जनाएको छ।

चार वर्षयता कुमारी हलमा हुँदै आएको फेस्टिभल योपटक देखि पुन: राष्ट्रिय सभा गृहमा हुने भएको छ। सन् २०१४ मा नेपालमा भएको १८ औं सार्क समिटका कारण राष्ट्रिय सभा गृहमा हुँदै आएको किम्फ कुमारी हलमा सारिएको थियो। त्यसपछि सभा गृह सञ्चालन सम्बन्धी विवाद र पुन: निर्माणका कारण त्यहाँ किम्फ हुन सकेको थिएन।

’हामी पुरानै ठाउँमा फर्कन पाएकोमा खुशी छौं। सभा गृह हाम्रो लागि लोकेसन र स्पेसको हिसाबले निकै सहज हुनेछ’, किम्फका अध्यक्ष वसन्त थापाले भने। उनले ठाउँ फेरिएपनि व्यवस्थापन र गुणस्तरमा सम्झौता नगर्ने दावी गरे।

अस्ट्रेलियाका निर्देशक जेनिफर पिडमको डकुमेन्ट्री ‘माउन्टेन’को प्रदर्शनबाट महोत्सवको सुरुवात हुनेछ। उक्त डकुमेन्ट्री बाफ्टामा मनोनित भएको थियो।

महोत्सवमा नेपाली ट्राभलर्ससँग मिलेर ‘ट्राभल इज एन एटिच्युड’ शीर्षकमा सर्ट फिल्म प्रतियोगिता हुँदैछ। जसमा ३५ वर्षमूनिका युवाहरु सहभागी हुन पाउँनेछन्।

पाँच दिन लामो महोत्सवमा जुरीले अन्तराष्ट्रिय प्रतिस्पर्धामा रहेका १४ फिल्म र नेपाली पानोरमा अन्तर्गतको २० वटामध्यबाट ३, ३ वटा वृत्तचित्र र कथानक चलचित्र चयन गर्नेछन्।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई क्रमश: १५ सय, एक हजार र पाँच सय अमेरिकी डलर दिइनेछ। त्यस्तै नेपाली पानोरामा अन्तर्गतका वृत र कथानक चलचित्र विधामा उत्कृष्ट घोषित हुने दुई फिल्मले क्रमश: नेपाली रुपैयाँ एक लाख र पचहत्तर रुपैयाँ पाउनेछन्। 

उत्कृष्ट पर्वतीय फिल्मलाई एक हजार अमेरिकी डलर,  उत्कृष्ट साहसिक फिल्मलाई एक हजार अमेरिकी डलर र दर्शक भोटमार्फत उत्कृष्ट ‘अडियन्स अवार्ड’मा परेको फिल्मलाई ५० हजार रुपैयाँ प्रदान गर्दैछ।

महोत्सवमा फिल्म प्रदर्शन बाहेक छलफल, संवाद, व्याख्यान, फोटो प्रदर्शनी पनि राखिने बताइएको छ। जसअन्तर्गत् अस्ट्रेलियन फिल्मकर्मी जेनिफर पिडम र नेपाली फिल्मकर्मी केसाङ छेतेनद्वारा संयुक्त रुपमा ‘मास्टर क्लास’ संचालन हुनेछ। त्यस्तै ‘किम्फ डक लाइभ पिच’ र ‘वुमन इन फिल्म एण्ड फेस्टिभल’ विषयमा कार्यशाला हुनेछ।

महिला शक्ति सम्बन्धी नारा रहेको महोत्सवमा ३० प्रतिशत् फिल्म महिला निर्देशकको रहेको आयोजक रम्यता लिम्बुले जानकारी दिइन्। भनिन्,’महिलाहरुको उत्सहाजनक सहभागिता र महिला निर्देशकको बढ्दो सङ्ख्याले सकारात्मक संदेश प्रवाह गर्छ।‘

पौलोमी बासुको ‘ब्लड स्पिक्स अ रिच्युएल अफ एक्जाइल’ र उमा विष्टको ‘आइ एम प्योर’ शीर्षकमा फोटोहरु राखिनेछ।

फिल्महरु मंसिर २१ गतेदेखि २५ गतेसम्म राष्ट्रिय सभा गृह र नेपाल पर्यटन विकास बोर्डमा देखाइनेछ।



‘किम्फ’ पुन: राष्ट्रिय सभा गृहमा, ७० भन्दा बढी फिल्म देखाइने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट