PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ज्योति डिस्टिलरीका सञ्चालक जैसवालको फर्जी गाडी समातियो, उद्योगी भन्छन् ‘सबैले यस्तै गाडी चढ्छन्, मलाई एक्लै फसाइयो’



राधेश्याम पटेल

ज्योति डिस्टिलरीका सञ्चालक जैसवालको फर्जी गाडी समातियो, उद्योगी भन्छन् ‘सबैले यस्तै गाडी चढ्छन्, मलाई एक्लै फसाइयो’

वीरगंजः मदिरा व्यवसायी बैजु जैसवालको फर्जी गाडी समातिएको छ। ज्योति डिस्टिलरी र बाबा डिस्टिलरीका सञ्चालक रहेका जैसवालको गाडी प्रदेश नं २ को ट्राफिक प्रहरी कार्यालय पथलैयाले गत मंसिर १० गते नियन्त्रणमा लिएको हो। नम्बर प्लेट नभएको र भन्सार शुल्क नतिरेकोले गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले गोप्य सूचनाको आधारमा टोली खटाई महेन्द्र राजमार्ग अन्तर्गत निजगढको गोविन्द अर्चायको केराघारी नजिकबाट नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानपछि प्रहरीले गाडी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख एसपी किरण बज्राचार्यले बताइन्।

‘हामीलाई अनुमति बेगर बिना नम्बर प्लेटको अन टेस्ट गाडी एक हप्तादेखि रौतहटमा कुदाइँदैछ भनी सूचना आयो, त्यसपछि टोली खटाएर गाडी नियन्त्रणमा लिएका हौँ’, उनले भनिन्, ‘समातेको दुई दिनभित्र पनि उहाँहरुले कागजपत्र पेस नगरेपछि मंसिर १२ गते राजस्व अनुसन्धानमा बुझायौँ।’

व्यवसायी बैजुको समूहले भने गाडी भारतीय आफन्त वृजकिशोर गिरीको भएको र नेपालमा पूजापाठ गर्न ल्याएको दाबी गरेका छन्।

प्रहरीले गाडी नियन्त्रणमा लिँदा गाडीमा दुई जना थिए। गाडीमा बैजुका आफन्त दाबी गरिएका विहार, पूर्वी चम्पारण झरोखरका वृजकिशोर गिरीका छोरा रोशन गिरी र चालक थिए। प्रहरीले उनीहरूलाई गाडीबाट निकालेर मोबाइल र साँचो लिएर गाडी पथलैया ल्याएको बैजुका दाइ ओमप्रकाश जैसवालले बताए।

‘गाउँकै माओवादीका नेताहरुले मेरो भाइलाई फसाएका छन्’,  ओमप्रकाशले भने, ‘रौतहटमा यस्ता गाडी ५० भन्दा बढी चल्छन् ट्राफिकले सबैलाई कारबाही गरोस्।’

 

रौतहटमा फर्जी भारतीय गाडी

रौतहटको कटहरीया नगरपालिका वडा नं. ९ मा रहेको ज्योति डिस्टिलरीका सञ्चालक बैजु जैसवाल चढ्नको लागि मोतिहारीको शोरुमबाट उक्त गत नोभेम्बर ३१ तारिखका दिन १० लाख भारुमा खरिद गरी रौतहट ल्याइएको थियो। त्यसको खरिद बिल गाडीमै थियो।

नयाँ गाडीको पूजापाठ गरी नम्बर प्लेट बिनै कुदाएपछि प्रहरीले समातेको हो।  

यस सम्बन्धमा बैजुकै दाइ ओमप्रकाश भन्छन् ‘रौतहटमा भारतीय फर्जी गाडीको बिगबिगी छ। भारतमा १० लाख रुपैयाँ पर्ने कार नेपालमा २५ लाख पर्छ। त्यसकारण भारतीय आफन्तको नाममा गाडी खरिद गरी चलाइन्छ। अर्को कुरा राजस्व र कर पनि नेपालमा महंगो छ।’

खरिदको एक महिनापछि मात्र भारतमा गाडी नम्बर आउने भएकोले नम्बर प्लेट नहालिएको उनको दाबी छ। नम्बर प्लेट नै नआएकाले गाडीको भन्सार पनि नतिरेको उनको भनाई छ। रौतहटमा प्रहरी प्रशासनकै लापरबाही र मिलेमतोमा भारतीय फर्जी गाडी चल्ने भए पनि बैजुले चढ्ने उक्त गाडीमात्र समातिएको ओमप्रकाशको प्रतिक्रिया दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell