PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एकै दिन तीन पटकसम्म स्थगित भयो अर्थ समितिको बैठक, कोरम नपुग्ने रोगको पीडा



बीपी साह

एकै दिन तीन पटकसम्म स्थगित भयो अर्थ समितिको बैठक, कोरम नपुग्ने रोगको पीडा

काठमाडौं : सांसदहरु 'व्यस्त' भइदिँदा आज पटक पटक अर्थ समितिको बैठक स्थगित भयो। निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आज संसदीय समितिमा छलफल राखिएको थियो।

बिहान ११ बजे बोलाइएको बैठकमा जम्मा ४ जनामात्र पुगेका थिए। कोरम नपुगेको भन्दै बैठक १० मिनेटका लागि स्थगित गरियो। त्यसपछि फेरि बैठकका लागि सदस्यहरु जुटे। अर्थमन्त्री डाक्टर युवराज खतिवडा पनि आइपुगे। उनीसँगै अर्थ सचिव पनि उपस्थित थिए समितिमा छलफलका लागि।

तर, अर्थमन्त्री आउँदा पनि समितिमा सदस्यहरु थपिएनन्। कोरम नपुग्दा के बैठक बस्ने भन्ने पनि भयो। तर आइसकेपछि केही कुरा राख्ने भन्दै मन्त्री खतिवडा र अर्थ सचिवले निवृत्तभरणका कारण सरकारले जोह गर्नुपर्ने रकम र त्यसको व्यवस्थापनको विषयमा केहीबेर बोले। यसले राज्यमाथि पर्ने भार र त्यसको व्यवस्थापनका पक्षमा केहीबेर कुराकानी भएपछि अर्थ मन्त्री बाहिरिए। समितिमा कोरम पुगेको थिएन, छलफलले कुनै अर्थपूर्ण निचोड निकाल्न सक्ने अवस्था थिएन। मन्त्री बाहिरिएसँगै फेरि समिति बैठक स्थगित भयो।  

फेरि २ बजे बैठक डाकियो। तेस्रो पटक डाकिएको बैठकमा भने समितिका सदस्यको संख्या बढ्यो। यतिखेर ८ जना सदस्य बैठकमा उपस्थित थिए। कोरम फेरि पुगेन। सांसद कृष्णप्रसाद दाहाल यो समितिका सभापति हुन्। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, राजपाका नेता महन्थ ठाकुर, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, विजय गच्छदार, नेकपाका महसचिव विष्णु पौडेल, पूर्वमन्त्री सुरेन्द्र पाण्डे, घनश्याम भुषाल लगायतका चर्चित नेताहरु समिति सदस्य छन्। भट्टराई तुलनात्मक हिसाबले समितिका बैठकमा सबैभन्दा बढी सहभागी हुने गरेका छन्। तर, अन्य सदस्यहरु भने बैठकमा उपस्थित नहुँदा पटक पटक समितिको बैठक स्थगित हुँदै आएको छ। 

यसअघि पनि बैठक यसैगरी चार पटक स्थगित भइसकेको छ। 'आयो कोरम नपुग्दा बैठक भइरहेको छैन, आज पनि स्थगित भयो,' समिति सदस्य रामकुमारी झाक्रीले भनिन्। उनका अनुसार पटक पटक बैठक अवरुद्ध हुने गरेकाले सांसदहरुले एक चौथाई सदस्य उपस्थित हुँदा पनि छलफल चलाउनुपर्ने माग गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell