PahiloPost

Dec 12, 2018 | २६ मंसिर २०७५


ए डिभिजन लिग : पुलिसलाई २-१ ले हराउँदै संकटा दोस्रो स्थानमा, शीर्ष स्थानको मनाङसँग अंक बराबरी


पहिलोपोस्ट

ए डिभिजन लिग : पुलिसलाई २-१ ले हराउँदै संकटा दोस्रो स्थानमा, शीर्ष स्थानको मनाङसँग अंक बराबरी

काठमाडौँ : सिएमजी संकटाले क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिसलाई पराजित गर्दै शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसँग अंक बराबरी गरेको छ।

मंगलवार एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले विभागीय क्लब पुलिसलाई २-१ ले पराजित गर्दै सिजनको पाँचौ जित हात पारेको हो।

जितपछि ६ खेलबाट मनाङ समान १५ अंक जोडेको संकटा कम गोल अन्तरका कारण दोस्रो स्थानमा छ। मनाङले एक खेल कम खेलेको छ। उता पुलिस भने ६ खेलबाट १० अंकहसित पाँचौ स्थानमा यथावत छ।

सबै तीन गोल पहिलो हाफमा भएको थियो। खेलको २९औँ मिनेटमा सरोज दाहालले लक्षमण रुचालको कर्नरमा हेड गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए। ३७औँ मिनेटमा दिपेश आले मगरले एकल प्रयासमा पुलिसको गोलकिपरलाई समेत बिट गर्दै संकटाको अग्रता दोब्बर पारे।

त्यस लगत्तै पुलिसले गोल फर्कायो। ३८औँ मिनेटमा अभिषेक रिजालको पासमा रवी पासवानले गोल गर्दै पुलिसलाई खेलमा फर्काएका थिए। तर त्यसपछि गोल थप्न नसक्दा पुलिसले सिजनको दोस्रो हार बेहोर्न बाध्य भयो।

हारपछि पुलिसका प्रशिक्षक अनन्त थापाले रेगुलर टिमको तीन खेलाडी नहुनु र चाँडै गोल खानु नै हारको कारण रहेको बताए। 'हामीले चाँडै गोल खायौँ। पहिलो हाफमै एक गोल फर्काए पनि दोस्रो हाफमा गोल भएन। तर रेगुलर टिमका तीन खेलाडी नहुँदा त्यसको असर खेलमा देखियो।' फरवार्ड सुमान लामा र मिडफिल्डर हेम तामाङ चोटका कारण संकटा विरुद्ध नखेलेको थापाले बताए। यस्तै डिफेण्डर अजित भण्डारी दोहोरो पहेँलो कार्डका कारण खेल पाएनन्।

'हामीले राम्रै खेलेपनि यी तीन खेलाडी नहुँदा कोअर्डिनेसनमा कमी भयो। हामी राम्रो मुभ बनाउँछौँ, चान्स क्रिएट गर्छौँ तर स्कोर भएन।' थापाले कमजोरी बारे भने। 'हामीलाई गोल गर्ने सक्ने राम्रो खेलाडीको मिस भइरहेको छ। हामीले प्राक्टिसमा पनि फिनिसिङलाई नै मुख्य ध्यान दिइरहेका छौँ। तर खेलमा इम्प्लिमेन्ट भइरहेको छैन। अबको गेममा त्यो समस्यालाई सुधार गर्नु जरुरी छ।'

संकटाका प्रशिक्षक सल्यान खड्गीले पुलिस विरुद्ध आफ्नो रणनीति सफल भएको र जितको सम्पूर्ण श्रेय खेलाडीहरुको मिहेनत नै रहेको प्रतिक्रिया दिए।

हामीले जसरी काउन्टर अट्याकमा खेल्ने र गोल गर्ने रणनीति बनाएका थियौँ त्यसमा सफल भयौँ। 'जितको सबै श्रेय खेलाडीलाई दिन चाहन्छु। हामीले समयमै गोल गर्न सकेकोले पुलिस दबाबमा आयो। हामीले लिगमा जुन लक्ष्य राखेका छौँ, यो जित त्यसको लागि महत्वपूर्ण छ।'

खड्गीले खेलअवधीभर संकटाले एउटै लयमा खेल्न सकेको बताए। 'हामीले हार्मीसँग हारेपछि धेरै कुराहरु सिक्यौँ र टिममा पनि केही परिपर्तन गर्‍यौँ। त्यसयता खेलाडिहरु आत्मविश्वासी भएर खेल्न थालेका छन्।'

साथै उनले विदेशी खेलाडीको साथले टिम निश्चयनै राम्रो भएको तर विदेशीमा मात्र निर्भर नरहेको पनि प्रष्ट पारे। 'टिममा सबैको मिहनेत उस्तै छ। विदेशी खेलाडीले गर्दा टिम राम्रो भने बनेको छ।'

पुलिसका प्रशिक्षक थापाले पनि विदेशी खेलाडीको साथमै संकटा राम्रो देखिएको र अंकतालिकामा माथि रहेकोले पनि उनीहरुको मोरल हाई भएको बताए।

खेलेका ६ मध्ये ५ खेल जितेर मनाङसँगै अंकतालिकामा अगाडी रहेको संकटा उपाधि दाबेदार हो त भन्ने प्रश्नमा खड्गीले भने, 'मैले पहिले देखि भन्दै आएको छु हामीले टाइटलबारे सोचेका छैनौँ। हाम्रो पहिलो लक्ष्य भनेको टप फाइभमा पर्नु हो।'

संकटासँग हारपछि पुलिसका प्रशिक्षक थापाले भने अझै पनि उपाधि होडमै रहेको बताए। 'टप पोजिसनमा रहेको टिमसँग हार्दा केही धक्का त पक्कै पुग्छ। हेर्‍यौँ अझै हामी कहासम्म पुग्छौँ। उपाधि होडबाट बाहिरिएका छैनौँ। अब अर्को एउटा म्याचपछि के हुन्छ भन्न सकिन्छ।'

 



ए डिभिजन लिग : पुलिसलाई २-१ ले हराउँदै संकटा दोस्रो स्थानमा, शीर्ष स्थानको मनाङसँग अंक बराबरी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट