PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सम्बन्ध सुधार्दै भारत र चीन : यही साता संयुक्त सैन्य अभ्यास, चीनले भारतीय कृषि उत्पादन आयात गर्ने



विधुर ढकाल

सम्बन्ध सुधार्दै भारत र चीन : यही साता संयुक्त सैन्य अभ्यास, चीनले भारतीय कृषि उत्पादन आयात गर्ने
फाइल फोटो : दी इन्डियन एक्सप्रेस

काठमाडौं : गत वर्ष दोक्लम विवादमा आमने सामने भएका भारत र चीनबीच पछिल्लो समय सम्बन्ध निकै सुधार भएको छ। दोक्लममा एकापसमा भिडेका भारतीय र चिनियाँ सेना यही साता चीनको छेन्दुमा संयुक्त अभ्यासमा जुट्दै छन्। 

गत सेप्टेम्वरमा नेपाली सेनाले चीनसँग ‘सगरमाथा फ्रेण्डसिप २’ संयुक्त सैन्य अभ्यास गर्दा असन्तुष्ट बनेको भारत आफै भने चीनसँग संयुक्त सैन्य अभ्यासमा जुटेको हो। 

गत वर्ष एसियाका दुई शक्तिशाली देशहरु ७३ दिन लामो दोक्लम विवादमा रुमलिएका थिए। तर, यही डिसेम्बर १० देखि उनीहरु प्रतिआतंकवाद र आपसी समझदारीलाई मजबुद बनाउनका लागि सैन्य अभ्यासमा जुटेका हुन्।
 
दुई देशबीचको सातौँ सैन्य अभ्यासमा दुवै देशका सय/सय जना सैन्य अधिकारीहरु सहभागी हुने चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता कर्नेल रन कुयोछियाङले जानकारी दिए। उनका अनुसार संयुक्त सैन्य अभ्यास १० देखि २३ डिसेम्बर सम्म चल्ने छ। यो सैन्य अभ्यास दोक्लम विवाद पछि २०१७ मा रोकिएको थियो।

गत सेप्टेम्बरमा नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच छेन्दुमै दोस्रो सैन्य अभ्यास ‘सगरमाथा फ्रेण्डसिप–२’ सम्पन्न भएको थियो। सोही समयमा भारतले बिम्स्टेक राष्ट्रहरुबीच पहिलो संयुक्त सैन्य अभ्यास आयोजना गरेको थियो। नेपालमा आलोचना भएपछि नेपाली सेना सैन्य अभ्यासमा सहभागी भएको थिएन। भारतमा आयोजना भएको सैन्य अभ्यासमा सहभागी नभएको नेपालले चीनसँगै सैन्य अभ्यास गर्दा भारत रुष्ट भएको थियो।
 
यसैबीच चिनियाँ जनमुक्ति सेनाका सैन्य अधिकारी भारतीय सेनाका जवानहरुलाई भारतमै तालिम दिइरहेका छन्। न्यू इन्डियन एक्प्रेसका अनुसार चिनियाँ जनमुक्ति सेनाका उच्च अधिकारी तेलंगनाको सिकेन्दरावादमा रहेको कलेज अफ डिफेन्स म्यानेजमेन्टमा सैनिक अधिकारीलाई तालिम दिन अभ्यस्त छन्। यही महिना मार्चमा उनी त्यहाँ पुगेका हुन्। 

दुई देशका अधिकारीबीच २० वर्ष अगाडि देखि सहयोग आदानप्रदान सुरु भएको थियो। सन् २००३ देखि दुवै देशका सैनिक अधिकारी, नेभी तथा एयर फोर्सका अधिकारीहरु चिनियाँ सेनासँग तालिम कोर्स लिन जाँदै आएका छन्।

साझा स्वार्थमा मिलेर काम गर्न दुवै देश सहमत

यसैबीच दुई देश साझा स्वार्थका विषयमा मिलेर काम गर्न सहमत भएका छन्। मंगलबार नयाँ दिल्लीमा भएको दुई देशको परामर्श संयन्त्रको बैठकमा दुवै देशका अधिकारीहरुबीच यस्तो सहमति भएको हो। 

नयाँ दिल्लीमा भारतीय विदेश सचिव विजय गोखले र चिनियाँ उप विदेशमन्त्री खोङ सुयानयो नेतृत्वको प्रतिनिधि मण्डलबीच छलफल भएको थियो। छलफलका क्रममा दुवै देशका अधिकारीले द्वपक्षीय सम्बन्धको विषयमा छलफल गरेको अल इण्डिया रेडियोले जनाएको छ। 

छलफलका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिङ पिङबीच गत वर्ष वुहानमा भएको शिखर वार्ताको समीक्षा भएको थियो। छलफलमा आगामी दिनमा दुई देशबीच हुने सम्बन्धका एजेण्डाका विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। त्यस्तै दुवै देश क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाका साझा स्वार्थका विषयमासमेत छलफल भएको थियो।

त्यस्तै दुवै देशका अधिकारीहरु यस क्षेत्रको विकास र समृद्धिका लागि दुई देशबीचको सम्बन्धलाई थप व्यवस्थित गर्दै जाने र यो शताब्दीलाई एसियाको शताब्दीको रुपमा विकास गर्ने विषयमा सहमत भएको आइएएनएसले जनाएको छ। 

गत महिना भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको दशक लामो सीमा विवाद समाधान गर्ने विषयमा छलफल भएसँगै मंगलबारको परामर्श संयन्त्रको बैठक बसेको हो। 

चीनले भारतबाट थप खाद्यान्न आयात गर्ने

यसैबीच चीनले भारतबाट दारिम, अंगुर, सोया मिल, माछाको तेल र मत्स्य उत्पादन आयात गर्ने भएको छ। चीनले यसअघि चामल र चीन पनि भारतबाट आयात गर्ने निर्णय गरेको थियो। चीनले दारिम र अंगुरका बगैँचाहरुका साथै सोया प्रोसेसिङ युनिटको अनुगमनका लागि आगामी महिना उच्चस्तरीय प्राविधिकहरुको टोली भारत पठाउन लागेको इकोनोमिक्स टाइम्सले जनाएको छ। 

गत साता दुई देशबीचका अधिकारीबीच भएको छलफल पछि भारतले चीनबाट दुग्ध उत्पादनका साथै स्याउ तथा नासपाती आयात गर्ने विषयमा छलफल भएको थियो। 

दुवै देशबीच व्यापार सन्तुलन कायम राख्नका लागि उच्च गुणस्तरका कृषि उत्पादनहरु आयात–निर्यात गर्न सहमत भएका छन्। दुवै देश भारतीय बजार मागको अध्ययनमा सहमत भएका छन्। २०१७–१८ मा भारतले ३३ विलियन डलर बराबरको निर्यात गरेको थियो भने ७६.२ विलियन डलर बराबरको आयात गरेको थियो।
 
बेइजिङका अधिकारीहरुले डिसेम्बर ९ देखि १८ सम्म भारतका विभिन्न स्थानमा रहेका बगैँचाहरुको अनुगमन गर्ने छन्। भारतमा चिनियाँ दुग्ध उत्पादन सन् २००८ मा मिलमाइन फेला परेपछि रोक लगाइएको थियो। हाल भारतले चिनियाँ दुग्ध उत्पादन आयात गर्ने र सट्टामा भारतबाट मिल्क प्रोटिन आयात गर्न चीनले इच्छा देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell