PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

३३ किलो सुन प्रकरण : दरिलो प्रमाण नभेटिएपछि गोरेका 'मामा' सई बालकृष्ण सञ्जेल छुटे साधारण तारेखमा



पहिलोपोस्ट

३३ किलो सुन प्रकरण : दरिलो प्रमाण नभेटिएपछि गोरेका 'मामा' सई बालकृष्ण सञ्जेल छुटे साधारण तारेखमा

काठमाडौँ : ३३ किलो सुन प्रकरणमा प्रमुख अभियुक्त भनिएका चुडामणि उप्रेतीले मामा भन्ने गरेका सई बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले आज साधारण तारेखमा छोड्ने आदेश दिएको छ। 

गोरे पक्राउ परेकै दिन जेठ ८ गते सञ्जेलसहित प्रहरी हिरासतमा रहेका ३० जना मध्ये २८ जनालाई जिल्ला अदालतले पूर्पक्षको लागि जेल चलान गरे थियो। त्यसयता उनीहरु सुनसरीको झुम्का कारागारमा थुनिएका थिए।

तर बिहीबार उच्च अदालतका विराटनगरका न्यायाधीश थीरबहादुर कार्की र जनक पाण्डेकाे इजलासले जिल्लाकाे अादेश बदर गर्दै साधारण तारेखमा राखेर मुद्दाकाे पूर्पक्ष गर्न अादेश दिएकाे अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए।

यसअघि अदालतले एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र पूर्व डिआइजी गोविन्द निरौला पनि साधारण तारेखमा छाडिसकेको छ। 

त्यसैगरी सुन व्यापारी आरके भनिने राजेन्द्रकुमार शाक्यको मुद्दामा जिल्ला अदालतको मिसिल झिकाउन सोही इजलासले आदेश गरेको छ। 
 
सई सञ्जेल महानगरीय अपराध अनुसन्धान महाशाखाका थिए जसले ३३ केजी सुन प्रकरणको पहिले अनुसन्धान गरिरहेको थियो।  

माघको पहिलो साता त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको ३३ केजी सुन काण्डसँगै तीन जनाको शंकास्पद मृत्युले यो प्रकरण धेरै रहस्यमय बन्दै गएको छ। प्रहरीका उच्च अधिकारी नै छानबिनको दायरामा आएको यो घटनाको अनुसन्धान सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले गरेको थियो। 

निजामती कर्मचारीको नेतृत्वमा गठन गरिएको यो टोली प्रमाणमुखी नभई बयानमुखी भएकोमा आलोचना भएको थियो। टोलीको प्रतिवेदन भने सार्वजनिक गरिएको छैन। 

तस्करसँग मिलेमतोको आशङ्कामा गृह मन्त्रालयको निर्देशन बमोजिम प्रहरी प्रधान कार्यालय नक्सालले २०७४ चैत २२ गते एसएसपी दिवेश लोहनी र उनी मातहतको अनुसन्धानमा खटिएका डिएसपी प्रजित केसी र बालकृष्ण सञ्जेललाई पनि निलम्बन गरेको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell