PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


तालिवानको धम्कीपछि 'लिटिल मेसी' गान्जी छाड्न बाध्य


तालिवानको धम्कीपछि 'लिटिल मेसी' गान्जी छाड्न बाध्य
फोटो : AFP / UNICEF

अफगानिस्तानका सात वर्षे मुर्ताजा अहमेदी  सन् २०१६ मा एकाएक चर्चित भए। मुर्ताजाले अर्जेन्टिनाका फुटबल टोलीका कप्तान लियोनल मेसीको नाम र नम्बर लेखेको प्लास्टिकको जर्सी लगाएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उनले 'लिटिल मेसी' उपनाम पाए।

५ बर्षको हुँदा मुर्ताजाले मेसीलाई पनि भेट्ने अवसर पाए। सन् २०१६ मा भएको मैत्रीपूर्ण फुटबल खेलका लागि कतारको दोहामा पुगेका बेला मुर्ताजाले मेसीसँग भेटे। मेसीको हात समाउँदै फुटबल मैदानमा हिँडे। मुर्ताजाले मेसीले हस्ताक्षर गरेको टिसर्ट र फुटबल पाए।

तर मुर्ताजाले पाएको चर्चा र सम्मानले उनकै लागि समस्या खडा गर्यो । तालिवान लडाकुहरुले मुर्ताजा र उनको परिवारलार्इ 'टार्गेट' बनाए। उनीहरुको डरले दुर्इ वर्षदेखि मुर्ताजा न त विद्यालय जान सके न त घर बाहिर खेल्न। त्यसै कारण अहिले फेरि 'लिटिल मेसी' मुर्ताजा चर्चामा छन्।

यसपटक मेसीबाट हस्ताक्षर गरेको टिसर्ट र फुटबल आफ्नो घरमै छोडेर मुर्ताजा परिवारसहित पलायन हुन बाध्य भएका छन्।

तालिवानी विद्रोहीले मार्ने धम्की दिएपछि ‘लिटिल मेसी’ को परिवारले अफगानिस्तानको गान्जी प्रान्तमा रहेको आफ्नो गृहनगर जघोरी छाडेका हुन्। पलायन भएपछि हाल उनीहरु राजधानी काबुलमा बसिरहेका छन्।

मुर्ताजाको परिवारले तालिवानका कारण गाउँमा बस्न सक्ने अवस्था नरहेको भन्दै जघोरी छोडेको बताएका छन्।

दोस्रो पटक मुर्ताजाको परिवारले गृहनगर छोडेर पलायन हुनुपरेको हो। तालिवान विद्रोहीका कारण सन् २०१६ मा पनि उनीहरु पाकिस्तानमा शरणार्थीका रुपमा बसेका थिए। केही समयका लागि पाकिस्तान बसेपछि आर्थिक अभावका कारण उनीहरु फेरि स्वदेश फर्केका थिए।

पहिलो पटक देश छोड्दा मुर्ताजासँग उनको परिवार बाहेक केही थिएन। यसपटक भने आफ्नो 'ड्रिम हिरो'बाट प्राप्त उपहार छोडेर आउनु परेको छ मुर्ताजाले। उनी भन्छन्, 'मलार्इ त्यो फिर्ता चाहिन्छ। म त्यो सँग खेल्न चाहन्छु।' तर त्यो सम्भावना ज्यादै न्यून छ।

मेसीसँग भेटेर अफगानिस्तान फर्केका मुर्ताजाको परिवारलार्इ स्थानीय शक्तिशाली व्यक्तिहरुले धम्काउन थालेका थिए।

'तिमीहरु अब धनी भइसक्यौ। मेसीले दिएको पैसा हामीलार्इ देउ नत्र हामी तिम्रो छोरा लैजान्छौं,' भन्ने गरेको मुर्ताजाकी आमा सफिकाले बताइन्।

आफ्नो घर वरिपरि तालिवानी लडाकु आएर आक्रमण गरेको र गोलीबारुदको आवाज सुनेपछि आफूहरु त्यहाँबाट भागेको भन्दै सफिका भन्छिन्,' हामीले आफ्नो केही सामान ल्याउन सकेनौं। हामी हाम्रो जीवन बचाएर आयौं।'

सिया समुदायका उनीहरु गान्जीमा सुन्नी तालिवानले गरेको अपरेशनका क्रममा प्रभावित हुन पुगेका थिए। संयुक्त राष्ट्रसंघका अनुसार आतंकवादी गतिविधिका कारण ४ हजार परिवार त्यहाँबाट पलायन भएका छन्।

सफिकाले घर छोडेर भाग्दा छोरालार्इ कसैले नचिनोस भनेर मुख छोपेर ल्याएको बताइन्। अफगानिस्तानी सेनाले उक्त क्षेत्रमा रहेका तालिवानलार्इ पराजित गरेको बताए पनि सफिकाले भने आफूहरुकालार्इ त्यो स्थान अब सुरक्षित नभएको बताइन्।

पलायन भएपनि मुर्ताजा भने फेरि मेसीलार्इ भेट्ने सपना बुन्दैछन्। उनले भने, 'जब म मेसीलार्इ भेट्छु म उनलार्इ 'सलाम, के छ तपार्इको खबर' भनेर सोध्नेछु। उनी मलार्इ धन्यवाद भन्नेछन्। मलार्इ सुरक्षित बस्नु भन्नेछन्। त्यसपछि हामी खेल मैदानमा जानेछौं। म उनले फुटबल खेलेको हेर्नेछु। मेसी मेरो यादमा छन्।'



तालिवानको धम्कीपछि 'लिटिल मेसी' गान्जी छाड्न बाध्य को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट