PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सन्दिप बीबीएलमा सहभागि हुन आज बेलुका अष्ट्रेलिया जाँदै



पहिलोपोस्ट

सन्दिप बीबीएलमा सहभागि हुन आज बेलुका अष्ट्रेलिया जाँदै

काठमाडौँ : नेपाली राष्ट्रिय टोलीका स्टार क्रिकेटर सन्दिप लामिछाने अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा सहभागि हुन आज बेलुका अष्ट्रेलिया जाने भएका छन्।

काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिग टी-२० क्रिकेटमा ललितपुर प्याट्रिओट्सका लागि सुरुको दुई खेलेपछि सन्दिप अष्ट्रेलिया जान लागेका हुन्।

यही डिसेम्वर १९ देखि फेब्रुअरी ४ सम्म हुने बीबीएल-८ मा सन्दीपलाई मेलवर्न स्टार्सले विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो।

'बीबीएलका लागि आज बेलुका म अष्ट्रेलिया जाँदैछु।' आइतवार चितवन टाइगर्स विरुद्धको खेलमा ३ विकेट लिएर म्यान अफ दि म्याच घोषित भएपछि सन्दीपले सञ्चारकर्मीसँग भने।

उनले लिग सुरु हुनुअघि टिमसँग ट्रेनिङ सेसनमा सहभागि हुन र टिमसँग रहनको लागि केही दिन अघि नै अष्ट्रेलिया जान लागेको बताए। सन्दीपको टिम मेलवर्न स्टार्सको पहिलो म्याच डिसेम्वर २१ मा सिड्नी थण्डरसँग रहेको छ।

अष्ट्रेलियामा बीबीएल भइरहँदा सन्दीप बंगलादेश प्रिमियर लिग बीपीएल खेल्नका लागि बंगलादेश समेत जानेछन्। जहाँ उनलाई सिलेट सिक्सर्सले विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ।

'हामीले बीपीएलको लागि धेरै पहिले नै कन्ट्रयाक गरिसकेका थियौँ। त्यही कमिटमेन्टअनुसार नै बीबीएलको ५/६ गेमपछि म बंगलादेश जानेछु। त्यसपछि पुन अष्ट्रेलिया फर्कनेछु।' सन्दीपले बीपीएलमा खेल्न जाने बारे भने। 'यसबीचमा यदी नेपालले कुनै सिरिजहरु खेल्यो भने म त्यसमा सहभागि हुन आउनेछु।'

बीपीएल जनवरी ५ देखि फेब्रुअरी ८ सम्म सञ्चालन हुनेछ। सन्दीपको टिम सिलेटको कप्तानीमा अष्ट्रेलियाका डेविड वार्नरले गर्नेछन्। सिलेटको पहिलो म्याच जनवरी ६ मा कमिला भिक्टोरियन्ससँग छ।

सन्दिपले टीयू मैदानमा भइरहेको इपीएलमा ललितपुरका लागि दुई खेल खेल्दै ५ विकेट लिएका थिए।

सन्दीप गएपछि ललितपुरको एक जना बलर घट्ने प्रशिक्षक राजु बस्न्यातले बताए। 'सन्दीप गएपछि हाम्रो एउटा बलर घट्छ। तर हामीसँग बेन्चमा पनि बलर छ। हामी अल्टरनेट बलरको रुपमा बाहिर पनि खोजिरहेका छौँ। बस्न्यातले भने। यस्तै सन्दीपले पनि आफू गएपछि ललितपुरलाई केही असर पर्ने बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell