PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फ्रान्समा सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै, राष्ट्रपति माँक्रोनको राजीनामा माग



फ्रान्समा सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै, राष्ट्रपति माँक्रोनको राजीनामा माग
फोटो: एपी

पेरिस: इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुले फ्रान्सका राष्ट्रपति इम्यान्युल माँक्रोनको राजीनामा माग गरेका छन्।  

राष्ट्रपति माँक्रोनको नीतिको विरोध गर्दै देशका विभिन्न भागमा हिंसात्मक प्रदर्शनमा उत्रेका 'एल्लो भेष्ट' आन्दोलनकारीहरुको मुख्य नारा नै 'माँक्रोनको राजीनामा' भएको छ। 

सरकार विरुद्ध प्रदर्शनमा उत्रेका मध्ये १ हजार ७०० जनाभन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। प्रदर्शनका क्रममा भएको झडपमा १३५ जना घाइते भएका जनाइएको छ। प्रदर्शनमा एक लाख ३६ हजारभन्दा बढी प्रदर्शनकारीहरुले भाग लिएको बताइएको छ।

प्रदर्शन हिंसात्मक बन्दै गएपछि फ्रान्सका प्रधानमन्त्री इडोआर्ड फिलिपले 'राष्ट्रिय एकता'का लागि आह्वान गरेका छन्।

फ्रान्समा इन्धनको मूल्यवृद्धि भएको विरोधमा विगत केही हप्तादेखि फ्रान्सका विभिन्न शहरहरुमा सरकार विरोधी प्रदर्शन हुँदै आएको छ।

प्रदर्शनका क्रममा केही प्रदर्शनकारीको मृत्यु भएपछि आन्दोलनले उग्ररुप लिएको थियो। त्यसपछि फ्रान्स सरकारले ६ महिनाका लागि इन्धनको मूल्यवृद्धि फिर्ता लिएको थियो। 

तर शनिवारबाट फेरि सरकार विरोधी आन्दोलन सुरु भएको थियो।

इन्धनको मूल्यवृद्धि गर्ने राष्ट्रपतिको निर्णय विरुद्धको प्रदर्शन हिंसात्मक हुँदै गएपछि अहिले प्रदर्शनकारीहरुले राष्ट्रपतिकै राजीनामा माग्न थालेका हुन्। केही महिनामा युरोपमा हुने आम निर्वाचनहरुमा यस आन्दोलनका कारण माँक्रोन संकटमा पर्नसक्ने अनुमान गरिएको छ।

शनिवार फ्रान्सको सीमा क्षेत्रमा बेल्जियमका युवाले पनि फ्रान्सेली प्रदर्शनकारीहरुको समर्थनमा प्रदर्शन गरेका थिए। 

प्रदर्शनलाई ध्यानमा राख्दै पेरिस शहरमा ८ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदशर्नका कारण फ्रान्समा मेट्रो रेल सेवा र बस सेवाहरु रद्द गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell