PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

संसद छलेर ल्याएको कर्मचारी समायोजन अध्यादेश राष्ट्रपतिद्वारा जारी



संसद छलेर ल्याएको कर्मचारी समायोजन अध्यादेश राष्ट्रपतिद्वारा जारी

काठमाडौं: कर्मचारी समायोजन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको छ। गत सोमबार राति मन्त्रिपरिषद्ले सिफारिस गरेको ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५’ आज राष्ट्रपतिले जारी गरेको हो। 

संसदलाई छलेर कर्मचारी समायोजन अध्यादेश ल्याइएको भन्दै विरोध भइरहेको छ। कर्मचारी समायोजन अध्यादेश राष्ट्रपति कार्यालयलाई पठाइएको भन्ने विषयमा पनि सरकारले औपचारिक जानकारी दिएको थिएन।  यस्तो अध्यादेश संसद् अधिवेशन सुरु भएको ६० दिनभित्र प्रतिस्थापन गरिसक्नु पर्नेछ।

अध्यादेश जारीपछि प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया अघि बढ्नेछ। यसअघि पारित भएको कर्मचारी समायोजन ऐन अनुसार संघमा कार्यरत कर्मचारीले समायोजन प्रक्रियामा भाग नलिने अडान लिएपछि अध्यादेश ल्याइएको हो।

अध्यादेश अनुसार सरकारले प्रदेश र स्थानीय तहमा जाने कर्मचारीका लागि ग्रेड वृद्धि लगायतका सुविधाको व्यवस्था गरेको छ। बढुवाका लागि योग्यता पुगेका तहमा कार्यरत कर्मचारीलाई माथिल्लो तहको सेवा सुविधासहित समायोजन गरिँदैछ। प्रदेशमा कार्यरत प्रमुख सचिव, सचिव लगायतलाई निजामति सेवाको माथिल्लो तहको बढुवामा केन्द्रका कर्मचारीसँग प्रतिस्पर्धाको अवसर हुनेछ।

अध्यादेशले यसअघिको ऐनले गरेका धेरै व्यवस्थालाई निरन्तरता दिएको छ। समायोजनमा जान चाहनेका लागि पहिलो चरणमा निवेदन माग गरिनेछ। निवेदन दिने समयभित्र समायोजनमा जान इच्छुक कर्मचारीलाई त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित कार्यालयमा खटाउनेछ।

यसरी खटाएको ३५ दिनभित्र तोकिएको कार्यालयमा पुगिसक्नु पर्नेछ। तोकिएको अवधिभित्र कार्यालयमा नपुगे अवकाश दिनसम्मको व्यवस्था अध्यादेशले समेटेको छ। जन नसक्नुको कारण पेस गर्ने अधिकार भने अध्यादेशले कर्मचारीलाई दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell