PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हुवाएकी सीएफओ पक्राउ प्रकरणः क्यानडा र चीनको दुरी बढ्दै,  अमेरिकाको लहैलहैमा लागेको चिनियाँ आरोप



हुवाएकी सीएफओ पक्राउ प्रकरणः क्यानडा र चीनको दुरी बढ्दै,  अमेरिकाको लहैलहैमा लागेको चिनियाँ आरोप
फोटो: asia.nikkei.com

काठमाडौं: जनवरी १ को साँझ व्यूनस आयर्समा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति एउटै डाइनिङ टेबलमा थिए, त्यतिवेला क्यानडामा हुवाए चिफ फाइनान्सियल अफिसर सब्रिना मेङ वाङ्चो पक्राउ परिन्।

चिनियाँ राष्ट्रपति सी र ट्रम्पबीच दुई देशबीचको व्यापारमा बढेको कर घटाउने विषयमा सहमति भयो। त्यो सहमति कार्यान्वन आउन नपाउँदै विवाद चर्कियो। क्यानडामा वाङ्चोको पक्राउले यो विवाद थप चर्काउँदै लगेको छ। चीनले अमेरिकाको पक्ष लिएको भन्दै क्यानाडाप्रति आक्रोशसमेत व्यक्त गरेको छ।

बेइजिङमा रहेका क्यानडाका प्रतिनिधिलाई चिनियाँ विदेश मन्त्रालयले ‘प्रोटेस्ट’ गरेका छन्। चिनियाँ विदेश सहायक मन्त्री ल युशेङले चीनका लागि क्यानडाका राजदुत जोन म्याक्लमलाई मन्त्रालयमा बोलाएर पक्राउ परेकी वाङ्चोको रिहाइको माग गरेका छन्।

वाङ्चो चिनियाँ टेलिकम्युनिकेसन जाइन्ट तथा हुवाएका संस्थापक रन चेङ्फेइकी छोरीसमेत हुन्। रन चिनियाँ जनमुक्ति सेनाका पूर्व इञ्जिनियरसमेत हुन्। उनी सोमबारसम्म जेलमै रहने छिन्। उनलाई सोमबार अदालतमा उपस्थित गराइँदै छ।

वाङ्चोको पक्राउसँगै चीन क्यानडासँग रुष्ट बनेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। उनलाई क्यानडाले अमेरिकाको आग्रहमा पक्राउ गरेको बताइएको छ। उनीमाथि अमेरिकाले इरानसँग नाकाबन्दीका बाबजुद व्यापार सम्झौता गरेको आरोप लगाएको छ।

यद्यपि क्यानडा र अमेरिकाले उनलाई के कारणले पक्राउ गरेको हो? भन्ने जानकारी नगराएको चिनियाँ विदेशमन्त्रालयले जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ शुयङले क्यानडा र अमेरिकाले उनको पक्राउको कारण स्पष्ट रुपमा सार्वजनिक नगरेको बताएका छन्।

उनले विदेशमन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनको रिहाइका लागि चीनले कुटनीतिक तवरबाट पहल सुरु गरेको भन्दै उनको पक्राउ मानवअधिकारको उल्लंघन भएको आरोपसमेत लगाए।

चिनियाँ सहयाक विदेशमन्त्रीले क्यानडाका राजदुतलाई बोलाएर उनको मानवअधिकारको हनन र चिनियाँ नागरिकको अपमान भएको बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। ‘क्यानडाको यो कार्यले कानुनको उल्लंघन गरेको छ। यो कुनै पनि हालतमा स्वकार्य छैन्,’ उनले भनेका छन्।

क्यानडाको यो कदमले दुई देशबीचको सम्बन्ध चिसिने चीनका लागि क्यानडाका पूर्व राजदुत डेभिड मुल्रोनीले बताएका छन्। यो कदमले चिनियाँ उच्च अधिकारीको क्यानडा भ्रमणलाई ‘फ्रीज गर्ने’ मुल्रोनीनीले बताएको रोयटर्सलाई उदृछ गर्दै साउथ चाइना मनिङ पोस्टले जनाएको छ।

 ‘स्वतन्त्र व्यापार छलफल केहीसमय चिसो छायाँमा पर्ने छ। यसले चीनसँगको छलफलमा यसले मूल्य चुकाउनुपर्नेछ,’ उनले भनेका छन्।

यता रेनमिन विश्व् विद्यालयको अमेरिकन स्टडि सेन्टरका निर्देशक सी यीनहोङले चीनले आफ्ना व्यवसायी नागरिकको बचाउ गर्न सक्छ भनेर देखाउने वेला आएको बताएका छन्। चिनियाँ स्टेट काउन्सिलका सल्लाहकारसमेत रहेका उनले भने, ‘यो घटनासँगै भविष्यमा विदेशी भूमिमा रहेका चिनियाँ उच्च व्यक्तित्वहरुको चुनौती चिनियाँ चासोको विषय हो।’

यता चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले सम्पादकीय प्रकाशित गर्दै वाङचोको पक्राउ मानवअधिकारको उल्लंघन भएको जनाएका छ। उनी माथि लागेको आरोपमा व्रिटिस कोलम्विया सर्वोच्च अदालत भेनकुभरमा शुक्रवार सुनुवाई भएको थियो। सुनुवाई कुनै फैसला विना सोमबार सम्मका लागि सारिएको छ।

उनलाई पक्राउ गरेसँगै उनीमाथि अमानवीय व्यवहार भएको भन्दै उनलाई विमानस्थलबाटै हतकडी लगाइएको र अस्पताल लैजाँदासमेत हतकडी लगाइएको ग्लोवल टाइम्सको सम्पादकीयमा लेखिएको छ।

उनलाई स्वास्थ्य सेवासमेत उपलब्ध नगराईको उल्लेख छ। ‘मेङको मे महिनामा थाइराइड हटाउनका लागि शल्यक्रिया भएको थियो। उनमा उच्च रक्तचापको समस्या छ। उनलाई दैनिक औषधी सेवन आवश्यक छ। तर क्यानडाको हिरासतमा यो सुविधा दिइएको छैन,’ सम्पादकीयमा अगाडि भनिएको छ।

क्यानडा यो केसमा अमेरिकाको पक्षमा लागेको आरोपसमेत लगाइएको छ। ‘क्यानडा एउटा स्वतन्त्र सार्वभौम राष्ट्र हो। मिगनाको केशमा क्यानडाका अधिकारीहरु किन अमेरिकाको पछि लागेका छन्। यो स्पष्ट पार्नुपर्ने बेला आएको छ। हो उसको सम्बन्ध अमेरिकासँग नजिक छ। तर, यो केसमा उसले स्वतन्त्र रुपमा उभिन आवश्यक पर्छ,’ सम्पादकीमा अगाडि भनिएको छ, ‘यदी क्यानडाले उनलाई रिहा गरेन भने क्यानडा प्रतिको चिनियाँ नागरिकको विश्वास हट्ने छ। र चिनियाँ नागरिकले उनको रिहाइका लागि चिनियाँ सरकारलाई दबाब दिनेछन्। यसको मतलव चीनले क्यानडालाई दबाब दिन आर्थिक नाकाबन्दीसमेत लगाउन माग हुने छ यस्तोमा चीन क्यानडा सम्बन्ध थप संकटमा पर्ने छ।’

यता चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले पनि वाङचोले कानुन उल्लंघन गरेको कुनै प्रमाण नदिएको भन्दै उनको पक्राउको कारण माग गरेको छ।

मानवअधिकारको पक्षमा वकालत गर्ने क्यानडा वाङचोको केसमा भने अमेरिकाको पक्षमा लागेर उनको मानवअधिकारको सम्मान नगरेको आरोप लगाएको छ। ‘फ्लाइट परिवर्तनका क्रममा उनलाई विना कुनै ठोस कारण नदिइ पक्राउ गर्नु उनको मानवअधिकारको उल्लंघन हो,’ सिन्ह्वाले लेखेको छ, ‘उनलाई क्यानडाले खतरानक अपराधिकीको जस्तो व्यवहार गरेको छ। यो उनी प्रतिको ठूलो अपमान हो।’

उनको पक्राउ हुने कुराको पूर्व जानकारी हुँदा समेत चिनियाँ अधिकारीलाई जानकारी नदिएर अमेरिकाको औपनिवेशिक सोचलाई साथ दिएर चिनियाँ नागरिकको भावनामा खेलवाड गरेको सिन्ह्वाले आरोप लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell