PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

संघीय सरकारप्रति गरम देखिने प्रदेश २ का मुख्यमन्त्री अन्तर प्रदेश बैठकमा नरम : प्रधानमन्त्रीलाई यसरी पारे प्रभावित



बीपी साह

संघीय सरकारप्रति गरम देखिने प्रदेश २ का मुख्यमन्त्री अन्तर प्रदेश बैठकमा नरम : प्रधानमन्त्रीलाई यसरी पारे प्रभावित

काठमाडौं: पहिलो पटक बसेको अन्तरप्रदेश परिषदको बैठकमा प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत ‘गद्दी’ आक्रमक रुपमा प्रस्तुत हुने अनुमान गरिएको थियो।

आइतवार शुरु भएको अन्तरप्रदेश बैठक सकिँदा संघीय सरकारसँग बारम्बार टकरावको वातावरण बनाएका मुख्यमन्त्री राउत आक्रमक रुपमा प्रस्तुत हुने ठानिए पनि त्यस्तो देखिएन।

बैठकमा मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओलीसहित संघीय सरकारका मन्त्रीहरुलाई नै प्रभावित पारेको सहभागीहरुले बताए।

उनीहरुकाअनुसार बैठकमा मुख्यमन्त्री राउतको प्रस्तुति अन्य मुख्यमन्त्रीको तुलनामा राम्रो रह्यो।

राउतले आफ्नो भनाई राख्दा अन्य प्रदेशका मुख्यमन्त्रीहरुले पनि टेबुल ठोकेर समर्थन गरेका थिए। कर्मचारीहरु खुशी।

 

राउतको प्रस्तुति कस्तो थियो त?

बाहिर संघीय सरकारप्रति आक्रमक देखिने मुख्यमन्त्री राउत अन्तरप्रदेश परिषद्को बैठकमा निकै संयम भएर प्रस्तुत भएका थिए।

एक कर्मचारीकाअनुसार मुख्यमन्त्री राउतले आफ्नो मनतव्य प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसाबाट नै सुरु गरेका थिए।

राउतले प्रदेशमा मात्र नभएर संघमा पनि समस्या रहेको कुरा बताउँदा प्रधानमन्त्री पनि खुशी भएका थिए। मुख्यमन्त्री राउतले प्रधानमन्त्रीले चाहेको खण्डमा सबै प्रदेश र समग्र देश विकास हुन सक्ने बताए।

प्रधानमन्त्री ओलीको योजनाहरुको पनि मुख्यमन्त्रीले प्रशंसा गरेका थिए। प्रशंसा गर्दै राउतले आफ्ना एजेण्डाहरु राखेको ती कर्मचारीले बताए।

कर्मचारीको समस्या, कानूनी जटिलता, संघीय सरकारले खोस्न लागेको ठूला आयोजनाको विषयमा पनि मुख्यमन्त्री राउतले धारणा राखेका थिए।

बैठक सकेपछि मुख्यमन्त्री राउतले भने, ‘यहाँ अन्य मुख्यमन्त्रीहरुको समस्या सुन्दा त हाम्रो समस्या थोरै जस्तो लाग्यो। मेरो प्रदेशको समस्याभन्दा बढी त अन्य प्रदेशका मुख्यमन्त्रीहरुले समस्या सुनाए।’

पहिलोपोस्टसँग छोटो प्रतिक्रिया दिदै मुख्यमन्त्री राउतले भने,‘समस्या समाधान नभएसम्म हामी टसमस हुने वाला छैनौं। प्रधानमन्त्री ज्यूले संकल्प लिनु भयो। उहाँले समस्या समाधान गर्नु हुनेछ।’

प्रधानमन्त्रीको नेतृत्वमा रहेको परामर्श समिति पनि निस्क्रिय रहेको टिप्पणी गर्दै मुख्यमन्त्री राउतले भने,‘सासु र बुहारीबिचमा शक्तिको कुरा आउँछ। पहिले सबै कुरा सासुले चलाएकी हुन्छिन्, बुहारीलाई अधिकार दिँदा हिचकिचाहट हुन्छ। अहिले सिंहदरबारमा बस्नेहरुलाई त्यही भएको छ।’

प्रतिवेदन बनाउन कार्यदल

अन्तर प्रदेश परिषदको पहिलो बैठक औपचारिक रुपमा आज सकिएको छ। बैठकको निश्कर्षसहितको प्रतिवेदन बनाउन गृहमन्त्री रामबहादुर थापाको नेतृत्व ५ सदस्यीय कार्यदल गठन गरिएको भएको छ।

अर्थमन्त्री डा.युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सदस्य बनाइएको छ। संघीय सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले सहजताको काम गर्नेछ।

समितिले तीन गतेभित्र निष्कर्षसहितको प्रतिवेदन बुझाउनेछ। प्रतिवेदन तयारीका लागि भोलि बैठक बस्ने तयारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell