PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चालिस करोड हिनामिना गरेर सुन व्यापारी बेगवानी सपरिवार फरार



अनन्तराज न्यौपाने

चालिस करोड हिनामिना गरेर सुन व्यापारी बेगवानी सपरिवार फरार

विराटनगर : पुस्तैनी रूपमा सुनचाँदीको कारोबार गरिरहेका विराटनगरका एक व्यापारी ४० करोड रुपैयाँ हिनामिना गरेर सपरिवार भागेका छन्।
विराटनगरको रङ्गेली रोडमा 'ॐ लक्ष्मी ज्वेलर्स' नामको सुन पसल सञ्चालन गरिरहेका सन्तोष बेगवानी आइतबार बिहानदेखि बेपत्ता भएका हुन्। 

शनिबार सधैँ झैँ उनको पसल बन्द थियो। शुक्रबार साँझमा ३ घण्टाजति मात्र उनले पसल खोलेका थिए।

बेगवानीले विभिन्न बैङ्कको २७ र सर्वसाधारणको १३ गरी ४० करोड हिनामिना गरेको प्रारम्भीक आँकलन मोरङ प्रहरीले गरेको छ। उनले प्राइम कमर्सियल बैङ्कबाट १६ करोड, लक्ष्मी बैङ्कबाट ८ र ग्लोबल आइएमईबाट ३ करोड रुपैयाँ ऋण लिएको स्रोतले जनाएको छ।

यसबाहेक सर्वसाधारणले धरौटीमा राखेको सुनचाँदीको मूल्य १३ करोड रुपैयाँ हुने प्रहरी अनुसन्धानको दाबी छ।

सन्तोष व्यवसायिक रुपमा घाटामा जानुको मुख्य कारण उनका जेठा छोराको खराब लत रहेको बुझिएको छ। जेठा छोरा प्रदीप फाट्का र जूवामा संलग्न हुने गर्थे।

यसबाहेक सन्तोषले ६ महिनाअघि खरिद गरेको ठूलो परिमाणको चाँदीको मूल्य घटेपछि उनलाई अर्को मुख्य घाटा लागेको बताइएको छ। उनले विभिन्न भरियालाई सीमापारि चाँदी पठाउने गरेको र २ पटक चाँदीसहित उनका भरिया पक्राउ परेपछि व्यवसायमा थप झट्का लागेको जानकारहरू बताउँछन्।

व्यवसायमा लागेको घाटाकै कारण उनले रङ्गेली रोडमा रहेको घरघडेरी बिक्री गर्नुपरेको थियो।

सन्तोषका बुबा जतनलालले ५५ वर्षअघि विराटनगरमा सुनचाँदीको व्यवसाय सुरु गरेका थिए। उनीहरूको पुस्तैनी पसल महालक्ष्मी ज्वेलरी अहिले पनि विराटनगरको मेनरोडमा सञ्चालित छ। जतनलालका तीन छोरामध्ये दुई छोरा जेठा राकेश र माहिला विमल महालक्ष्मी ज्वेलरीमै संलग्न छन्। 

शिशु भनिने सन्तोष छुट्टिएर विगत १० वर्षदेखि रङ्गेली रोडमा 'ॐ लक्ष्मी ज्वेलर्स' चलाइरहेका थिए।

सन्तोषका कान्छा छोरा कुलदीप भारतको कर्नाटक राज्यस्थित बङ्गलोरमा व्यवसायमा संलग्न रहेको पारिवारिक स्रोतले जनाएको छ। सन्तोषका साथमा जेठा प्रदीप र माइला सन्दीप थिए।
 
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षकले हालसम्म 'ॐ ज्वेलर्स' र सन्तोष बेगबानीका बारेमा मौखिक उजुरीमात्र आएको र सोही आधारमा प्रहरीले अनुसन्धान थालेको बताए।

लिखित उजुरी र छानबिनपछि मात्र प्रहरीले औपचारिक रूपमा बोल्न सक्ने डिएसपी श्रेष्ठले उल्लेख गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell