PahiloPost

Jan 23, 2019 | ९ माघ २०७५


अल्जाइमरका बिरामी स्याहार गर्नेलाई 'मानसिक तनाव र डिप्रेसन'


पहिलोपोस्ट

अल्जाइमरका बिरामी स्याहार गर्नेलाई 'मानसिक तनाव र डिप्रेसन'
Photo: emedmultispecialtygroup.com

न्यान्सी डेलीले अल्जाइमर भएकी आफ्नी आमाको स्याहार गरिरहँदा धेरै तनाव बेहोरिन्। तनावबीच उनी कहिलेकाहीँ आफैंलार्इ बाथरुममा बन्द गर्थिन र रुमालले मुख छोपेर रुन्थिन्। दुर्इ वर्षभन्दा बढी समय दैनिक रूपमा क्यालिफोर्नियाबाट मेरील्यान्डमा रहेको आफ्नी आमाको घरमा आउँथिन्। तर, उनकी आमाले भने उनलार्इ छोरी भनेर चिन्दैनथिन्।

'आमाले मलार्इ नचिन्दा मेरो बाल्यकालका सबै स्मरणहरु मेटिएको जस्तो लाग्छ। तर, मैले आमाको स्याहार गर्नु नै थियो। त्यो मेरो दायित्व हो' उनले भनिन्।

अल्जाइमर वा डिमेन्सिया भएका करिब १६ मिलियन अमेरिकीहरुको स्याहार (केयरगिभर) गरिरहेका मानिसहरूको अवस्था डेलीकै जस्तै रहेको छ। उक्त रोग लागेकाहरुको स्याहार गर्न अपनाइनु पर्ने सावधानी धेरै महँगो र आत्मीयताले भरिएको हुनुपर्छ। त्यसैले उनीहरूको सेवामा व्यावसायिकभन्दा आफ्नै मान्छे खट्ने गर्छन्।

भर्खरै गरिएको एक अध्ययनका अनुसार अल्जाइमर हुनेको सङ्ख्या चार वर्षको अवधिमा दुर्इ गुणा बढ्ने आकलन गरिएको छ। यसको अर्थ उनीहरूको स्याहार गर्ने मान्छेको सङ्ख्यामा पनि व्यापक वृद्धि हुनेछ।

अनुसन्धानहरूले अल्जाइमर भएका व्यक्तिहरूको स्याहार गर्नेहरूमा शारीरिक, आर्थिक र मानसिक तनाव हुने देखाएको छ। एसोसिएट प्रेस -एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चले गरेको सर्भेमा सहभागी भएकामध्ये एक तिहाइले आफ्नो कामका कारण आफ्नै स्वाथ्यको स्याहार गर्न, बिरामी वा चोट लागेमा चिकित्सक कहाँ जान नसकेको बताएका थिए। डिमेन्सिया भएका व्यक्तिहरूको स्याहार गर्नेहरूमा ३४ प्रतिशत व्यक्तिहरू ६५ वर्षभन्दा माथि रहने भएकाले यस्तो समस्या आएको हो।

अरू बिरामीहरूको स्याहार गर्ने मानिसभन्दा डिमेन्सिया भएकाहरूको स्याहार गर्ने मानिसहरूमा तनाव र डिप्रेसन बढी हुने अध्ययनहरूले देखाएको छ।

'अल्जाइमर भएका व्यक्तिहरूको आचरणमा परिवर्तन आइरहन्छ। उनीहरूमा मुड स्विङको लक्षणका साथै टोलाइरहने बानी हुन्छ। यसबाट अवस्था थप जटिल हुन्छ' नेशनल इन्स्टिच्युट अफ एजिङमा हेल्थ साइन्टिस्ट एड्मिनिस्ट्रेटर रहेकी एलिना फजिओले बताइन्।

उनका अनुसार आफ्नो मन मिल्ने व्यक्तिको मानसिक र शारीरिक सुरक्षाबारे सोच्नुका साथै डिमेन्सियाबाट पीडितहरू एक्लै बस्न रुचाउने हुँदा उनीहरूमा तनाव, डिप्रेसन र एन्जाइटी हुने सम्भावना बढी हुन्छ।

केयरगिभरहरुले कानुन र सेवा सुविधाहरू धेरै नरहेकाले यो आफैंमा एक महंगो पेसा भएको एड्भोकेसी ग्रुपको सर्भेमा सहभागीहरूले बताएका थिए। अल्जाइमरको स्याहार गर्ने करिब ६० प्रतिशत केयरगिभरहरुले आफ्नो कामका कारण आर्थिक समस्या बेहोरेको बताएका छन्।

डेलीले धेरै पटक तनावमा आफ्नी आमाको स्याहार गरेको बताउँदै भनिन्' प्रत्येक पटक उनलार्इ भेट्न जाँदा उनको अवस्थामा कुनै सुधार भएको देखिनँ।'

केयरगिभरहरुको तनावपूर्ण अवस्थालार्इ अहिले धेरै अनुसन्धानकर्ताहरूले चासो दिइरहेका छन्। सेप्टेम्बरमा गरिएको एक अध्ययनले मानसिक र भावनात्मक रूपमा सचेत भएमा केयरगिभरहरुलार्इ तनावपूर्ण स्थितिबाट राहत मिल्ने देखिएको थियो।

नेशनल इन्स्टिच्युट अफ हेल्थले पनि स्ट्रेस म्यानेजमेन्ट ट्रेनिङ र सामाजिक सद्भावले केयरगिभरहरुको मानसिक स्वास्थ्य सुधार्ने र तनाव कम गर्नेबारे अध्ययन गरिरहेको छ।

केयरगिभरहरुमा देखिने तनावपूर्ण समस्याहरूका बारेमा कुरा गर्दा मात्रै पनि त्यसले उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने केयरगिभर हटलाइन सञ्चालन गरिरहेका अल्जाइमर एसोसिएसनका काउन्सिलर रुट ड्रिउले बताए। उपचारमा सहजताका लागि भनेर उक्त हटलाइनमा अल्जाइमरबारे ज्ञान भएका कर्मचारीहरुलार्इ राखिएको छ। अहिले केयरगिभर र अल्जाइमरबारे दक्षता रहेका व्यक्तिबीच अनलाइन सपोर्ट ग्रुप र लाइभ भिडियो कन्फ्रेन्स गराइने गरिएको छ।

फजियो भन्छन्, 'प्रविधिले सबै प्रश्नको उत्तर दिन सक्दैन। हामीले अलि रचनात्मक भएर सोच्नुपर्ने हुन्छ। डिमेन्सिया हुने व्यक्तिहरूको सङ्ख्यामा वृद्धिसँगै उनीहरूको स्याहार गर्ने व्यक्तिहरूको सङ्ख्या पनि वृद्धि हुनेछ। त्यसको लागि हामी तयार हुनुपर्छ।'

अनुवादः टाइम डट कम



अल्जाइमरका बिरामी स्याहार गर्नेलाई 'मानसिक तनाव र डिप्रेसन' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट