PahiloPost

Mar 21, 2019 | ७ चैत्र २०७५

ह्वाट नेक्स्ट भन्ने प्रश्नले उब्जाएको डाक्टर रमेश सिंह भण्डारीको महत्वकांक्षा

ह्वाट नेक्स्ट भन्ने प्रश्नले उब्जाएको डाक्टर रमेश सिंह भण्डारीको महत्वकांक्षा

सागर बुढाथोकी/पहिलोपोस्ट


काठमाडौं लगन टोलका हीराबहादुर महर्जनको कलेजोमा समस्या देखियो। त्रिवि शिक्षण अस्पताल पुगेर उपचारको प्रक्रिया अघि बढ्यो। त्यही बेला भनियो, 'उपचार गरेर हुन्न। अब कलेजो प्रत्यारोपण गर्नुपर्छ।'

त्यतिबेला नेपालमा कलेजो प्रत्यारोपण सुरु भइसकेको थिएन। भारत जाँदा डेढ करोड भन्दा बढी खर्च लाग्ने। त्यसको जोहो गर्ने सम्भावना न्युन। 'काल पर्खेर बस्नु'को विकल्प उनले केही देखेनन्। त्यो बेला ठाने - 'अब बाँच्दिनँ।'
 
तर, कथा यही टुंगिएन। 

त्यतिखेर नै मानव अंग प्रत्यारोपण नियमावली २०७३ आयो। नियमावलीले कलेजो प्रत्यारोपणसँगै 'ब्रेन डेथ' बाट मृत्यु भएकाको शरीरबाट आठवटा अंग लिन र ती अंग प्रत्यारोपण गर्ने बाटो खुलायो।


हीराबहादुर महर्जन र उनकी छोरी

यसकै आधारमा २०७४ साउन १ गते भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले एउटा इतिहास रच्यो। त्यो दिन नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण भयो। र, मृत्युको विकल्प नदेखिएरहेका हीराबहादुर जीवनको दोस्रो इनिङ्स् मा प्रवेश गरे। हीराकी २४ वर्षीय छोरी सरिताले कलेजो दिएकी थिइन्। 

प्रत्यारोपणको नेतृत्व भारतीय डाक्टरले गरेका थिए। कलेजो प्रत्यारोपण गर्ने 'मल्टी स्पेसलाइज्ड' नेपाली डाक्टरको टोली थिएन। त्यसैले, मानव अंग प्रत्यारोपण केन्द्रले प्रत्यारोपणलाई निरन्तरता दिन सकेन। 

फलश्वरुप, वार्षिक सय भन्दा बढी बिरामी भारत जाने क्रम रोकिएन। नेपालमा १५ देखि २० लाखमा हुने उपचारको लागि करोडौं तिर्नुपर्ने अवस्था कायमै रह्यो। पैसा हुने त भारत जान्थे नहुनेले भने काल कुर्नुको विकल्प पाएनन्।

त्यही डरलाग्दो अवस्थालाई चिर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गर्ने टोली जुटेको छ। लिभर, प्यान्क्रियाज सर्जन डाक्टर रमेशसिंह भण्डारीले टिमको नेतृत्व लिएका छन्। नेपाली डाक्टरहरुको टिम निर्माण भएकाले यो टिमले कलेजो प्रत्यारोपणलाई निरन्तरता दिने भण्डारी बताउँछन्।

***

पुर्ख्यौली सुदूर पश्चिमको बैतडी भए पनि सैनिक परिवारका उनी काठमाडौंमा हुर्किए। भिएस निकेतन स्कुलबाट एसएलसी ‍दिए। वीरेन्द्र सैनिक स्कुलबाट प्लस टू। 



चिन्नेहरुले उनको पढाइमा लगन देखेर भन्थे - 'डाक्टर बन्छस्'। उनको चाहना पनि त्यस्तै। चाहना पछ्याउँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट एमबिबिएस गरे। त्यसपछि त्यही पेडियाट्रिक डिपार्टमेन्टमा काम थाले। त्यसको १० महिनापछि भने धरान नै फर्किए।

पेडियाट्रिकमै एमडी गर्ने चाहना थियो उनको। तर, तालमेल  मिलेन। सन् २००३ मा 'एमएस जनरल सर्जरी' कोर्स गर्न शिक्षण अस्पताल नै फर्किए। काम पनि त्यही थाले।

भण्डारीले शिक्षण अस्पताल महराजगञ्जबाट जनरल सर्जरीमा 'एमसिएच' गरेका छन्। अस्ट्रेलियाको मेलबर्नस्थित रोयल अस्ट्रेलेसियन कलेज अफ सर्जन्सबाट कलेजो प्रत्यारोपण सम्बन्धी फेलोसिप पनि पूरा गरे। र, त्यही 'फेलोसिप' नै उनको जीवनको एउटा महत्वपूर्ण घुम्ती बन्यो। 

'नेपालमा कलेजो प्रत्यारोपण गर्न सकिन्छ कि सकिँदैन?' अष्ट्रेलिया जानुअघि उनी 'कन्फ्युजन'मा थिए। लिभर, प्यान्क्रियाज सर्जरी गरिसकेकाले 'ह्वाट नेक्स्ट?' भन्ने प्रश्न आफैँसँग गरिरहन्थे। अष्ट्रेलियाको 'फेलोसिप'ले 'ह्वाट नेक्स्ट'को जवाफ दियो- 'अब कलेजो प्रत्यारोपण गर्ने।'

सन् २०१० मा अष्ट्रेलियाबाट फर्किए उनी। त्यसपछि जटिल प्रकारका कलेजो र प्यान्क्रियाज सर्जरी गर्न थाले। बिस्तारै जटिल किसिमको सर्जरीमा अभ्यस्त हुँदै पनि गए।



एक पटकको फेलोसिपको ज्ञानले मात्र कलेजो प्रत्यारोपण गर्न सम्भव थिएन। पहिलो पटकको फेलोसिपले अब के? भन्ने प्रश्नको जवाफ त दियो तर कसरी त? भन्ने प्रश्नको उत्तर मिलेको थिएन। जवाफ खोज्न फेरि अष्ट्रेलिया नै भासिए। सन् २०१५ मा मात्रै फर्किए उत्तर सहित। 

उनले जुटाएको जवाफ थियो- 'कलेजो प्रत्यारोपण गर्न अत्यन्तै खर्चिलो हुन्छ। स्पेसल ट्रेनिङ गरेको टिम चाहिन्छ। इक्विपमेन्ट त्यस्तै महँगो। रेडियोलोजिस्ट, एनेस्थेसिया, नर्सहरु पनि स्पेसल ट्रेनिङ गरेकै आवश्यक पर्छ। 'मल्टि स्पेसलाइज्ड' टिम र इक्विपमेन्टबिना असम्भव।'

समस्याको यिनै चाङभित्र 'कसरी?' को जवाफ थियो। भण्डारी लागे टिम बनाउन। आवश्यक जनशक्ति, तालिम र आवश्यक सामान तयार पार्न झन्डै २ वर्ष लाग्यो। अहिले सेट अप तयार भइसकको छ उनको महत्वाकांक्षाको। १२ करोड भन्दा बढीको लगानीमा आवश्यकता अनुसारको 'सेट अप' तयार भएको उनले सुनाए।

भण्डारीका अनुसार भारतको निजी अस्पतालमा उपचार गराउनुपर्ने भएकाले खर्च बढी लाग्ने उपचार अब यहाँ सरकारीमै हुनेछ। र, त्यो निकै सस्तो पनि। 'भारतमा भन्दा नेपालमा सस्तो हुन्छ तर अझै सबैले उपचार गराउन नसक्लान् भन्ने डर चाहिँ छ,' उनले भने, 'किनकि यो खर्चिलो नै छ।'

***

नेपालमा पहिलोपटक मिर्गौला प्रत्यारोपणका लागि पनि वर्षौ कुर्नु परेको थियो। त्यसमाथि पहिलो प्रत्यारोपण नै असफल। डाक्टर दिव्या सिंहले ८ वर्षपछि दोस्रो प्रत्यारोपण सफल रुपमा सम्पन्न गरेकी थिइन्। भण्डारीलाई पनि सुरुवात गर्न कठिन छ। कठिनाई झेल्न तयार छन् उनी। किनकि उनले यो सेट अप तयार गर्दा कम कठिनाई झेलेका छैनन्।




जतिखेर उनले कलेजो प्रत्यारोपण सुरुवात गर्ने योजना बनाए, गगन थापा स्वास्थ्य मन्त्री थिए। थापालाई कुरा बुझाउन उनलाई गाह्रो भएन। योजना लैजाना साथ कार्यन्वयनमा गइहाल्यो। त्यसैले अस्पतालमा फटाफट 'इक्विपमेन्ट'हरु ल्याउने काम भयो। धेरै झन्झट बेहोर्नु परेन। 'स्वास्थ्य मन्त्रीमा गगन थिएनन् भए सायद यति सजिलो हुने थिएन,' उनले भने।

***

मिर्गौला प्रत्यारोपण जस्तै प्रकिया भए पनि कलेजो प्रत्यारोपण अझ बढी संवेदनशील हुन्छ। 'कलेजोको टुक्रो' काटेर प्रत्यारोपण गर्ने भएकाले जोखिम उत्तिकै। त्यसैले पनि कलेजो प्रत्यारोपणमा 'मल्टी स्पेसल' टिम चाहिन्छ। भण्डारी भन्छन्, 'यहाँ भन्दा पहिला प्रत्यारोपण सफल भइसकेकाले पनि सजिलो छ। तर, कलेजो प्रत्यारोपण नेपालमा मात्र हैन विश्वभरी नै हाइ रिस्की ट्रान्सप्लान्ट हो।'




कलेजो प्रत्यारोपण सुरुवात गरेपछि निरन्तरता दिन चाहन्छन् उनी। एउटा ट्रान्सप्लान्ट गरेर 'ब्रेक' लिने पक्षमा छैनन्। त्यसैले पनि सेटअप तयारी भइसक्दा पनि प्रत्यारोपण सुरुवात गरेका छैनन्। 

भण्डारीका अनुसार उनको टिमले शिक्षण अस्पतालमा अहिलेसम्म नभएका अत्यन्तै 'हाइ रिस्क' सर्जरी गरिरहेको छ। उनी टिमसँग तालमेल मिलाइरहेका छन्। कहाँ के कस्तो कमजोरी हुन्छ? अहिले नै औल्याउने पहल हो उनको। पछि गल्ती नहोस् भन्ने चाहन्छन्। भन्छन्, 'अहिले हामीले गरेका सर्जरी विश्वकप खेल्नुअघिको सार्क र एसिया कप खेलेजस्तै हो। विश्वकप खेल्नुअघि टिम त तयार त गर्नु पर्‍यो नि।'

भण्डारी हरेक कुरालाई फुटबल खेलसँग जोड्छन्। फुटबल खेलजस्तै सफल प्रत्यारोपणका लागि पनि टिम वर्कमै भर पर्ने बताउँछन्। किपर, डिफेन्डर, मिड फिल्डर र फरवार्डको टिमवर्कले खेल जिते जस्तै प्रत्यारोपण सफल हुन पनि सबै सदस्यको टिम वर्क हुनुपर्ने उनको तर्क छ। 'अ गूड प्लेयर विन अ गेम, अ गूड टिम क्यान विन च्याम्पियनसीप' भन्छन्, 'ममात्र राम्रो भएर एक दुईवटा सर्जरी गरुँला तर प्रत्यारोपण गर्न त टिम नै राम्रो चाहिन्छ। र, त्यो राम्रो टिम मसँग छ।'



भण्डारी खेलकुदमा पनि कम छैनन्। फुटसलका लागि आफ्नै टिम छ उनको। हरेक बिहीवार फुटसलमा म्याच भ्याउँछन्। स्कुल पढ्दाताका फुटबलका स्ट्राइकर उनी अहिले पनि त्यही भूमिकामा खेल्छन्। उनी क्रिस्टियानो रोनाल्डोका कडा फ्यान। उनको कुनै खेल छुटाउँदैनन्। जसरी मेडिकल क्षेत्रमा भएका नयाँ अनुसन्धानमा अपडेछ छन्, त्यस्तै फुटबलमा पनि। भन्छन्, 'डाक्टर नबनेको भए खेलाडी हुन्थेँ। तर, यो फिल्डमा पनि गोल गर्ने ठाउँमा छु। टिमले विस्वास गरेका छन मलाई।'

***
कलेजो प्रत्यारोपण सुरुवात गरेपछि बिरामीको चाप धान्न नसकिने लाग्छ उनलाई। तर, आफ्नै सेड्युल बनाएका छन्। पहिलो दुई वर्षमा जम्माजम्मी १२ वटामात्र प्रत्यारोपण गर्ने। मतलब, दुई महिनामा एउटामात्र। 

भारतको गंगाराम अस्पतालले कलेजो प्रत्यारोपण सुरुवात गर्दा भोगेको असफलताले उनलाई झस्काइरहन्छ। गंगारामका सुरुका ८ कलेजो ट्रान्सप्लान्ट फेलियर भएका थिए।
 


त्यसैले सेड्युल तयार गरेका हुन्। नेपालको पहिलो मिर्गौला प्रत्यारोपण असफल भएकाले पनि सचेत छन्।

'लिभर र प्यान्क्रियाज सर्जरीमा राम्रो गरिरहेको मान्छे किन प्रत्यारोपणको 'रिस्क' लिए हुँला,' मनमा यस्ता कुरा खेलाइरहन्छन्। धेरै ठाँउमा असफल भएको प्रत्यारोपण भएकाले अरुको गल्तीबाट पाठ सिकेका छन्। 

'अरुले गरेको गल्तीबाट पनि सिक्ने हो। आफैले गल्ती गरेर सुधार्न कहाँ समय हुन्छ र हामीसँग,' हाँस्दै सुनाउँछन्, 'अझ यो त पहिलो हो। फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन। त्यसैले त प्रेसर छ।'


ट्रेन्डिङ पोस्ट