PahiloPost

Mar 23, 2019 | ९ चैत्र २०७५

मैले ग्रहण गर्न नसकेको 'प्रसाद' (ब्लग)


ऋषिकेश दाहाल

मैले ग्रहण गर्न नसकेको 'प्रसाद' (ब्लग)

  • ऋषिकेश दाहाल-

केहीअघि बलिउडको धेरै नै अपेक्षा गरिएको फिल्म 'ठग्स अफ हिन्दुस्तान' हेरिरहँदा नै निराश भइएको थियो, फिल्म औसतमात्र देखेर। अपेक्षा बढी हुनु घातक रहेछ। त्यो फिल्मको मध्यान्तरमा देखाइएको ''प्रसाद''को ट्रेलरले चाहिँ छोटै समय भए पनि रमाइलो बनाएको थियो। मतलब ठग्स… हेर्दाको निराशा एकैछिन भए पनि बिर्साएको थियो। सँगै गएका साथीहरूसँग सेयर गरेको थिएँ – अहो! कस्तो राम्रो। यो चाहिँ हेर्नुपर्छ।

राम्रा फिल्म बन्न सक्ने विषय हाम्रै वरिपरि छन् र बन्न पनि थाले भन्ने परेपछि पहिलोपोस्टमा यो फिल्मको कथामाथि लामै आलेख पनि छापियो। त्यसले पनि 'प्रसाद' नहेरी नहुने फिल्मको सूचीमा चढ्नु स्वाभाविक बन्यो। राम्रा फिल्म बनुन् र त्यसलाई निःस्वार्थ सफल बनाउन सकियो भने पनि सन्तोष मिल्छ। पछिल्लो समय नेपाली फिल्ममा परिवर्तनका बाछिटाहरू देखिएकाले पनि आशा बढेको हो।

सिनेमा हलमा पुगेर नेपाली फिल्म हेर्ने लामो समयदेखिको रहर। 'प्रसाद' त्यसका लागि एउटा अवसर। फिल्म हेर्न जानुअघि केही समीक्षाहरु पढेपछि अझै उत्साह लाग्नु स्वाभाविक थियो। मल्टिप्लेक्समा देखिएको भिडले त झन् कौतुहलता थपिरहेको थियो। यो त पृष्ठभूमि न थियो, 'फिल्म तो अभी बाँकी है'।

बेलाबेलामा गुन्जिएको हाँसोसँगै मध्यान्तरसम्म फिल्म हेरिसक्दा मौलिक कथाको बान्की निकै लोभलाग्दो लाग्यो। आञ्चलिक परिवेशलाई दुरुस्त उतारिएको। अभिनयमा खोट लगाउने त ठाउँ नै रहेनछ। निर्देशनको पाटो पनि कतै नबिझाउने खालको। पात्रलाई स्थापित गर्न खर्चिएको समय चाहिँ केही बोझिलो नलागेको होइन। छोट्याउन सक्ने ठाउँ पनि थिए। तर, पनि यत्तिको फिल्म बन्दा ती गौण थिए।

यतिको स्तरमा फिल्म बन्ने हो भने हामीले बलिउड र हलिउडबाट प्रभावित भइरहनै पर्दैन भन्ने पनि लागिरह्यो। तर, जसै मध्यान्तरबाट फिल्म अगाडि बढ्यो, केही क्षण अघिसम्म जब्बर बन्दै गएका विश्वासहरु डगमगाए झैँ लाग्यो। अनि एकाएक मध्यान्तरअघि 'इग्नोर' गरिएका त्रुटिपूर्ण दृश्यहरु मानसपटलमा नाच्न थाल्यो। र, यतिसम्म त भइगयो नि भन्ने दृश्यले पनि बिझाउन थाल्यो।

फिल्मको मध्यान्तरअघि नै एक चिकित्सकले पत्नी नारायणी (नम्रता श्रेष्ठ)सित अस्पताल गएका बाबुराम (विपिन कार्की) लाई पत्नीलाई बाहिर बस्न लगाएपछि यस्तै आशयले भनेको हुन्छ - 'तिमीबाट बच्चा हुन सक्दैन। तर, यो कुरा तिम्री श्रीमतीलाई थाहा नदिनू, नत्र परिवार बिग्रन सक्छ।' सिनेमाप्रतिको आशक्तिका कारण हुनुपर्छ कुनै पनि चिकित्सकले दिनै नसक्ने सुझावलाई मेरो मगजले 'स्केप' गरेको रहेछ।

मध्यान्तरअघि भएको बलात्कारको घटनाले फिल्म अब कुन दिशातिर लाग्छ भन्ने अनुमान जो सुकैले गर्न सक्छ, मैले पनि त्यही रूपमा लिएको थिएँ। तर, त्यो दिशातिर कथा कसरी लगिन्छ वा निर्देशकले कसरी त्यसलाई 'प्ले' गर्छन् भन्ने कौतुहलता चाहिँ बाँकी नै थियो। थाहा पाएकै कथामा पटक-पटक फिल्म बन्दा पनि अब्बल बन्न सक्छ किनकि कथामा गरिएको 'ट्रिटमेन्ट'ले नै त्यसलाई सधैँ नयाँ बनाइरहन सक्छ। पात्रलाई स्थापित गर्न लामो समय खर्चेको फिल्मको कथा टुङ्ग्याउने हुटहुटीले फिल्मलाई लक्ष्यभन्दा वर नै बिच्क्याएको छ।

वडाध्यक्षकी क्षेत्री छोरी नारायणी (नम्रता श्रेष्ठ) निक्कै क्रान्तिकारी छिन्। दलित युवकसँग बिहे गरेर गाउँ त्याग्न सक्ने उनी बलात्कारको विषयलाई सहजै स्वीकार्छिन्। त्यसविरुद्ध उनी मौन रहन्छिन्। यहाँनेर कथाकार वा निर्देशक मात्र होइन स्थापित कलाकार नम्रता आफैँ चुकेकी छिन्। रिलमा होइन रियल जीवनमै पीडित अभिनेत्री नम्रताले बलात्कार जस्तो अपराधको विषयलाई यति हलुकासँग टुङ्ग्याउँदा प्रतिरोध किन गरिनन्? स्क्रिप्ट लेखक या निर्देशकले समेत सोच्न नभ्याउने अवस्थाबाट उनी गुज्रिएकाले उनीबाट यो स्क्रिप्टमा थोरै भए पनि सुधारको अपेक्षा गर्न सकिन्थ्यो। यद्यपि, फिल्ममा नम्रताको अभिनयमाथि कुनै खोट लगाउने ठाउँ छैन, उनी अब्बल छिन्।    

फिल्ममा बलात्कारी पात्र उपल्लो जातको देखाइएको छ। अनि कथित तल्लो जातको बाबुराम भलै ऊ फिल्मको हिरो होस्, निरीह लाग्छ। जसका लागि सिङ्गो समाजसँग विद्रोही भएर हिँडेको ऊ तिनैमाथि बलात्कार हुँदा यति कमजोर किन देखिन्छ? उत्तर कतै छैन। बलात्कारीको वीर्यलाई ''प्रसाद''का रूपमा लिन तयार ऊ गर्भपतनका लागि दबाब दिँदा मात्र जाग्छ तर कतै पुग्दैन। एउटा बलात्कारीलाई अपराधबोधसमेत नगराई, दुर्घटनाको सिकार गराइन्छ। विद्रोही बाबुराम एकाएक बिचरो बन्छ। कथित उपल्लो जातको रमेशको अपराधलाई 'प्रसाद' भनेर ग्रहण गर्न दलित पात्रलाई प्रोत्साहित गर्नु कतै अपराध नै त होइन? अझ भन्नुपर्दा, बलात्कारबाट 'प्रसाद' जन्माइनु दुर्भाग्य होइन?

भिलेनको रोलमा रहेको रमेश दिनदिनै नयाँ नयाँ केटी घुमाएर हिँड्छ। मतलब उसका लागि 'सेक्स' केही पनि होइन। तर, उसैले साथीको श्रीमतीलाई बलात्कार पनि गर्छ। त्यही पात्र फेरि ससुराका अगाडि लल्याकलुलुक पनि हुन्छ। यस्ता प्रसंगले फिल्मलाई फनफनी घुमाइरहन्छ। र, फिल्ममाथिको अपेक्षामाथि लात्ती हानिरहन्छ।  

फिल्म जति टुंगोतिर जान्छ, उति नै धरमराउन थाल्छ। हतारिएको देखिन्छ सक्काउन। फिल्मको अन्त्यमा 'मन्दिरमा जहाँबाट जसरी ल्याएर चढाए पनि त्यो 'प्रसाद' हो' भन्ने तथ्य स्थापित गर्न खोजिएको छ। मतलब भिलेन रमेशको भगवानसँग पो तुलना भइदिन्छ। रावण थिएनन्, अनि सीताको हरण गरेका थिएनन् भने रामको रोल के हुन्थ्यो? अनि रामायण नै कसरी हुन्थ्यो? भन्ने खाले तर्क गरेजस्तो पो लाग्यो अन्तिममा पुग्दा त।  

बलात्कारजस्तो घटनालाई सहज रूपमा स्वीकार्नु, रमेशलाई कहीँ कतै पनि अपराधबोध नै नगराउनु जस्ता प्रकरणले फिल्मले दिन खोजेको सन्देश के भन्ने कतै खुल्दैन। सिनेमाले भयंकर शिक्षा देओस् भन्ने अपेक्षा राखेको होइन। तर, अपराधबोधसमेत नगराउनुलाई कसरी स्वीकार्नु?

व्यक्तिगत रूपमा यो मेरा लागि ग्रहण अयोग्य 'प्रसाद' हो। तर, मैले चिनेको लेखक सुशील पौडेल र निर्देशक दिनेश राउतले योभन्दा धेरै राम्रो फिल्म बनाउन सक्छन्। कथालाई योभन्दा धेरै राम्रोसँग ट्रिटमेन्ट गर्न पनि सक्छन्। यही फिल्ममा झल्किएको आञ्चलिकता र कलाकारबाट लिएको कामलाई मूल्याङ्कन गर्ने हो भने खोट लगाउनुपर्ने ठाउँ नै छैन। बक्स अफिस कलेक्सन र केही हौस्याउनेको 'वाह-वाह' मै नरमाउने हो भने मैले आशा गरेका यी दुई नेपाली सिनेमाका नक्षत्रकै रूपमा स्थापित हुन सक्छन्। यी दुवै सर्जकका फिल्म फेरि पनि म हेर्नेछु किनकि यी दुवैले फिल्ममा भएको कमजोरीलाई आत्मसात गर्ने हैसियत राख्छन्।

  

अन्त्यमा बिट मार्दै गर्दा,

'सिनेमा पत्रकारिता' लाई बिटकै रूपमा जोगाइरहेका पत्रकारको फिल्म लेखन र निर्देशनमा सक्रियता निकै लोभलाग्दो छ। सायद, यसैको कारण हुनुपर्छ पत्रकार जोडिएका जति फिल्म आउँछन् ती सबैका समीक्षा – निक्कै आकर्षक हुन्छन्। पत्रकारको सिर्जनालाई प्रेरित गर्न या समीक्षामा 'कडा टिप्पणी' गरे पनि शीर्षकलाई नरम बनाउनु समीक्षकहरुको बाध्यता हुनसक्छ। समीक्षकहरु नै फिल्म उद्योगका हिस्सा हुन थालेपछि बजारले धेरै कुरा नियन्त्रण गर्छ। स्वतन्त्र रूपमा समालोचना गर्दा आफ्नो काममा पनि आलोचना हुनसक्ने 'फियर साइकोसिस' यहाँ देखिन्छ। यस्तो संस्कार केही समीक्षाहरु पढेर फिल्म हेर्न जाने म जस्ता सामान्य दर्शकका लागि भने चिन्ताको विषय हो।



मैले ग्रहण गर्न नसकेको 'प्रसाद' (ब्लग) को लागी २ प्रतिक्रिया(हरु)

Rabin [ 2018-12-13 13:18:50 ]
रियल जीवनमै पीडित रे ? नहसाउँ न ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Dai [ 2018-12-13 08:42:24 ]
Can you please write “spoiler alert” at the top of these kind of articles. Please.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट