PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सचिव विवादले बदनाम स्वास्थ्य मन्त्रालय : चौधरी भन्छिन्, स्वास्थ्य मन्त्रालय छोडेर अन्त जाँदै जान्न



सागर बुढाथोकी

सचिव विवादले बदनाम स्वास्थ्य मन्त्रालय : चौधरी भन्छिन्, स्वास्थ्य मन्त्रालय छोडेर अन्त जाँदै जान्न

काठमाडौँ : सरकारले स्वास्थ्य मन्त्रालय पठाइएका प्रशासन समहुका सचिव केदार बहादुर अधिकारीलाई फिर्ता नलिने भएपछि पूर्व स्वास्थ्य सचिव पुष्पा चौधरीले पनि स्वास्थ्य मन्त्रालय जान नछोड्ने बताएकी छिन्।

सरकारले स्वास्थ्यमा प्रशासन समूहकै सचिवले निरन्तरता पाउने बताएपछि पनि चौधरीले आफू स्वास्थ्य मन्त्रालय हाजिर गर्न जान नछोड्ने बताइन्। भनिन्, 'मलाई सर्वोच्च अदालतले स्वास्थ्य मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको छ। म भोलीपनि स्वास्थ्य मन्त्रालयमै हाजिर हुन जान्छु।'

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रीपरिषद्को निर्णय सुनाउने क्रममा सचिव सरुवाको निर्णय फिर्ता नहुने सुनाएका थिए। भने, 'यो विषयमा सरकारले जे सहज हुन्छ त्यही गर्छ। पहिलाको सचिवको काम हेरेरै हेरफेर गरेको हो।’

अधिकारी स्वास्थ्य मन्त्रालयमा हाजिर भइसकेका छन् भने चौधरी पनि स्वास्थ्य मन्त्रालयमा हाजिर गर्न जान नछोड्ने बताउँछिन्। भन्छिन्, 'सर्वोच्चको आदेश अनुसार म स्वास्थ्य मन्त्रालय छोडेर अन्त जाँदै जान्न्।'

चौधरीको यो अभिव्यक्तीले स्वास्थ्य मन्त्रालयमा फेरि एकपटक विवाद सिर्जना गरेको छ।

सम्बन्धनको 'च्याप्टर क्लोज' भइसकेको काठमाडौं नेसनल मेडिकल कलेजकै कारण स्वास्थ्य सचिव चौधरीलाई प्रधानमन्त्री कार्यलयमा सरुवा गरिएको थियो। सरकारले गत २८ कात्तिकको निर्णय भन्दै गत ९ कात्तिकमा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा भएको पत्र पठाएको थियो। त्यसको एक साता नबित्दै चौधरीले सरकारको निर्णयविरुद्ध सर्बोच्चमा रिट दायर गरेकी थिइन्।

उक्त रिटको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले उनको पक्षमा अन्तरिम आदेश दिएको थियो। सोही आदेशअनुसार उनी कार्तिक १८ गते स्वास्थ्य मन्त्रालयमा हाजिर हुन पुगेकी थिइन्।

यसरी एउटा विवाद नटुंगिंदै स्वास्थ्य मन्त्रालयमा फेरि नयाँ विवाद सुरु भएको छ। एकपछि अर्को विवाद बढ्दै गएपछि स्वास्थ्य मन्त्रालय नै 'अस्वस्थ' बन्दै गएको छ।

गत १७ गते बसेको मन्त्रीपरिषद बैठकले केदार बहादुर अधिकारीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको हो। सरुवाको खबर बाहिरिनासाथ नेपाल चिकित्सक संघले भन्यो, 'प्रशासन समूहका सचिवलाई हामी मान्दैनौँ। यो निर्णय सच्याइयोस्।'

तर, सरकारले स्वास्थ्य मन्त्रालय पठाइएका प्रशासन समहुका सचिव अधिकारीलाई फिर्ता नलिने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रीपरिषद्को निर्णय सुनाउने क्रममा स्वास्थ्यमा प्रशासन समूहकै सचिवले निरन्तरता पाउने बताएका हुन्। उनले सचिव सरुवाको निर्णय फिर्ता नहुने सुनाए। व्यंग्य गर्दै भने, 'स्वास्थ्य मन्त्रालयमा डाक्टर ल्याउने अनी प्रधानमन्त्री कार्यालयमा अल्टवर्ट आइन्स्टाइन ल्याउने?

 

यसरी एकपछि अर्को विवादमा स्वास्थ्य मन्त्रालय फस्द‌ै गएको छ। त्यसको ज्वलन्त उदारण हो, वीर अस्पतालकम डाक्टर ध्रुवराज अधिकारी। सरकारी सेवामा पदोन्नतीका लागि घुस र चाकडी अनिवार्य भएको भन्दै मंसिरको पहिलो साता डाक्टर अधिकारीले राजिनामा दिएका थिए। स्वास्थ्य मन्त्रालयलाई सम्बोधन गरेर लेखेको उक्त पत्र सार्वजानिक भएपछि चर्को विवाद भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell