PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

चिनियाँ चासो : बोआओ फोरममा यस पटक सहभागिता शून्य नहोस्, चर्चा राष्ट्रपति सीको नेपाल भ्रमण



विधुर ढकाल

चिनियाँ चासो : बोआओ फोरममा यस पटक सहभागिता शून्य नहोस्, चर्चा राष्ट्रपति सीको नेपाल भ्रमण

काठमाडौँ : लामो समय चर्चामा रहेर पनि हुन नसकेको उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणमाथि पुन: चर्चा सुरु भएको छ। राष्ट्रपति सीको नेपाल भ्रमणको विषयमा बिहीवार मात्र बेइजिङमा भएको दुई देशका अधिकारीहरूबीचको बैठकमा छलफल भएको छ। 

परराष्ट्र मन्त्रालयका अनुसार बेइजिङमा बिहीवार भएको छलफलमा चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणको विषयमा छलफल भएको छ। नेपाल चीन द्विपक्षीय परामर्श संयन्त्रको बैठक बिहीवार बेइजिङमा सम्पन्न भएको हो। 

बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी नेतृत्वको टोली र चीनका तर्फबाट विदेश मन्त्रालयका उपमन्त्री खोङ सुयानयु नेतृत्वको टोली सहभागी थियो। 

छलफलमा दुई देशबीच यसअघि भएका सहमति र सम्झौताको कार्यान्वयनको प्रगतिबारे समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। ‘दुवै पक्षबीच नेपाल–चीन सम्बन्धका विषयमा बस्तुगत र फलदायी छलफल भएको छ,’ पराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा अगाडि भनिएको छ, ‘दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई कनेक्टिभिटी, पूर्वाधार विकास, व्यापार, लगानी र ऊर्जा क्षेत्रमा थप नजिक र फलदायी साझेदारीमा अगाडि बढाउनु आवश्यकता रहेकोमा सहमत भएका छ।’ 

छलफलमा नेपाल र चीन दुवै यसअघि भएका सम्झौता, सहमतिहरूलाई प्राथमिकताका आधारमा योजनाहरू अगाडि बढाउन सहमत भएका छ। ‘बैठकमा दुवै पक्षले उच्चस्तरीय भ्रमणको महत्त्वका विषयमा छलफल गर्दै दुई देशबीच फलदायी साझेदारीका लागि आवश्यक रहेकोमा जोड दिएका छन्,’ मन्त्रालयको वक्तव्यमा भनिएको छ। 

बैठकमा नेपाल पक्षले आफ्ना प्राथमिकताका विषयहरू राख्दै चिनियाँ सहयोगको आग्रह गरेको थियो। त्यस्तै चिनियाँ पक्षले नेपालको विकासमा सहयोग निरन्तरता दिने प्रतिवद्धता जनाएको छ। 

यस्तै छलफलमा दुवै देशका अधिकारीबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरुमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ। बैठकमा नेपालका तर्फबाट राजदूत लीलामणि पौड्याल, मन्त्रालयका उपसचिव गणेशप्रसाद ढकाल लगायत सहभागी थिए भने चिनियाँ पक्षबाट नेपालका लागि प्रस्तावित राजदूत तथा चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने शाखाका डेपुटी डाइरेक्टर जनरल होऊ यान्छी लगायतका अधिकारीहरू सहभागी थिए। 


बैठक अघि परराष्ट्र सचिव बैरागीले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटवार्तासमेत गरेका थिए। भेटमा चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणसहित उच्चस्तरीय साझेदारीको विषयमा छलफल भएको बताइएको छ। ‘भेटमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका राष्ट्रपतिको चीन भ्रमणको विषयमा छलफल भएको छ,’ परराष्ट्र स्रोतले पहिलोपोस्टलाई भन्यो, ‘मिति तय भएको छैन। दुवै देशले आपसी छलफलबाट मिति तय गर्ने र यस विषयमा निरन्तर छलफल गर्ने सहमति भएको छ।’ 

दुई देशबीच सन् १९९६ मा द्वीपक्षीय परामर्श संयन्त्रको स्थापना भएको थियो। गत वर्ष काठमाडौँमा बैठक बसेको थियो। १३ बैठक पुन: काठमाडौंमा बस्नेछ। 

बोआओ फोरमका नेपालको उच्चस्तरीय सहभागिता होस् : चीन

यसैबीच दुई देशबीचको छलफलमा बोआओ फोरममा नेपालको उच्चस्तरीय सहभागिताका विषयमा छलफल भएको छ। 

‘चिनियाँ पक्षले बोआओ फोरममा नेपालको तर्फबाट उच्चस्तरीय सहभागिताको अपेक्षा राखेको छ,’ स्रोतले भन्यो। 

हरेक वर्ष मार्चमा हैनान प्रान्तको बोआओमा हुने बोआओ फोरम फर एसियामा नेपालको उच्चस्तरीय सहभागिता होस् भन्ने चिनियाँ पक्षले चासो दिएको छ। 

नेपाल यो फोरममा २०१५ देखि उच्चस्तरीय सहभागिता जनाउँदै आएको थियो। तर, सन् २०१८ मा (यस वर्ष)को सम्मेलनमा नेपालले सहभागिता जनाएन। प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनकै मितिमा दक्षिणी छिमेकी भारतको भ्रमणमा गएका थिए। 

फोरमकै मेसो पारेर भारतीय प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीलाई भारतमा स्वागत गर्ने योजना बनाएका थिए। 

त्यस भन्दा अगाडि सन् २०१७ मा नेपालको तर्फबाट तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिए। 


२०१८ को बोआओ फोरममा नेपालको सहभागिता शून्य बनाएर भारत गएका प्रधानमन्त्री ओली अघिल्लो कार्यकालमा भने फोरममा सहभागी थिए। सन् २०१६ मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा बोआओ फोरममा सहभागी भएका थिए

त्यस्तै, सन् २०१५ मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादव बोआओ फोरममा सहभागी भएका थिए।

हरेक वर्ष आयोजना हुने सम्मेलनमा एसियाका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरूको उपस्थित हुनेगर्छ। तर, २०१८ मा नेपालको सहभागिता शून्य हुँदा चीनले असन्तुष्टि जनाएको थियो। सम्मेलनमा सहभागिताका लागि आयोजकले निम्तोसमेत पठाएको थियो। 
‘चिनियाँ पक्ष यस पटक सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिता चाहन्छ,’ स्रोतले भन्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell