PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इपीएल : विराटनगर माथि चितवन टाइगर्सको शानदार जित, ललित र सागरको उत्कृष्ट बलिङ, बाबर हायतको ९० रन काम लागेन



पहिलोपोस्ट

इपीएल : विराटनगर माथि चितवन टाइगर्सको शानदार जित, ललित र सागरको उत्कृष्ट बलिङ, बाबर हायतको ९० रन काम लागेन
file photo

काठमाडौँ : बाबर हायतले शानदार ब्याटिङ गरे पनि चितवन टाइगर्सले उत्कृष्ट कमब्याक गर्दै साविक विजेता विराटनगर वारियर्सलाई ५ रनले पराजित गरेको छ। एभरेष्ट प्रिमियर लिग (इपीएल)मा चितवनको पहिलो जित हो।

लगातार तीन खेल हारेको चितवनले विराटनगरमाथि शानदार जित हात पारेपछि प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ। उता लगातार दुई खेल हारेको विराटनगरको चार खेलबाट ४ अंक छ। चितवनको चार खेलबाट २ अंक छ। चितवनले अन्तिम खेलमा पोखरा राइनोजसँग खेल्दैछ। पोखराले पनि लगातार तीन खेल हारिसकेको छ।

इंग्लिस खेलाडी जोन सिम्पसनको अर्धशतक मद्दतमा १९६ रनको स्कोर बनाएको चितवनले बाबर हायतको विष्फोटक ब्याटिङका बावजुत पनि जित हात पारेको हो। १९७ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९१ रन मात्र बनाउन सक्यो।

चौथो ओभरको अन्तिम बलमा कप्तान पारस खड्का पहिलो विकेटको रुपमा आउट भएपछि क्रिजमा पुगेका हायतले शानदार ब्याटिङ गर्दै विराटनगरलाई जिततर्फ अगाडि बढाइरहेका थिए। तर, १५ औँ ओभरबाट विकेट झर्न थालेपछि विराटनगर जितसम्म पुग्न सकेन।

विराटनगर १४ ओभरमा १४५ - २ को बलियो अवस्थामा थियो। तर, १५ औँ ओभरमा चितवनका सागर ढकालले आसिफ शेख र रोलेफ भान डेर मर्वेको विकेट लिँदै डबल विकेट मेडन राखेका थिए। ढकालले बाबर हायत र आसिफको साझेदारी तोडेका थिए। आसिफले २१ बल खेल्दै ३ छक्काको मद्दतमा ३० रन बनाए।

१६ औँ ओभरमा बाबर हायतले पउल स्ट्रलिङलाई दुई छक्का प्रहार गर्दै चितवनलाई १६ ओभरमा १५९-४ को स्थितिमा पुर्‍याएका थिए।

तर, ललित सिंह भण्डारीले १७ औँ ओभरको चौथो बलमा सागर ढकालबाट बाबरलाई शानदार क्याच आउट गराएपछि विराटनगर १६१-५ को अवस्थामा पुग्‍यो। हायतले ४२ बल खेल्दै ५ चौका र ८ छक्काको मद्दतमा ९० रन बनाए। बाबरले छैटौँ ओभरमा दिपेन्द्र सिंह ऐरीसँग २६ रन हानेका थिए। तेस्रो विकेटका लागि हायतले आसिफ शेखसँग ८३ रनको साझेदारी गरे।

हायतलाई आउट गरेका भण्डारीले त्यसको अर्को बलमा हरि बहादुर चौहानलाई बोल्डआउट गरे।

१९ औँ ओभरको चौथो बलमा करण केसी र सुमित महर्जनको तालमेल नमिल्दा महर्जन रनआउट हुन पुगे। त्यही ओभरको अन्तिम बलमा ललितले विराटनगरका पउल भान मिकेरेनलाई शुन्यमा बोल्ड आउट गरे। करण केसीले १८ बलमा नट आउट २४ रन प्रहार गरे पनि विराटनगर जितबाट ५ रनले टाढा रह्यो।

लगातार तेस्रो खेलमा ओपनिङ गरेका विराटनगरका कप्तान पारसले १५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रन बनाए। अनिल शाहले १२ रन जोडे।

चितवनलाई यस सिजन पहिलो जित दिलाउन ललित सिंह भण्डारीले ४ तथा सागर ढकालले ३ विकेट लिए। चार ओभर बलिङ गर्दा दुवैले समान २४ रन खर्चिए। सागरले एक मेडन समेत राखेका थिए।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवन टाइगर्सले जोन सिम्पसनको अर्धशतक मद्दतमा ५ विकेट गुमाएर २० ओभरमा १९६ रन बनाएको थियो।

उच्च स्कोर बनाउने क्रममा विदेशी खेलाडी जोन सिम्पसनले सर्वाधिक ७८ रन बनाए। ओपनरद्वय सन्दिप सुनार पउल स्ट्रलिङले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरे। सुनारले २२ बलमा ३० रन बनाए।

छैटौँ ओभरमा क्रिजमा पुगेका सिम्पसनले दोस्रो विकेटका लागि स्ट्रलिङसँग ५२ रनको साझेदारी गरे भने तेस्रो विकेटका लागि दीपेन्द्र सिंह ऐरीसँग ६९ रनको साझेदारी गरे। सिम्पसनले ४४ बल खेल्दै ६ चौका र ५ छक्काको मद्दतमा ७८ रन बनाए।

२२ बल खेलेका दीपेन्द्र ३ छक्का प्रहार गर्दै ३२ रन जोडे। दीपेन्द्र आउट भएपछि १८औँ ओभरमा क्रिज पुगेका जर्ज स्कटले १० बल खेल्दै ३ छक्काको मद्दतमा नटआउट २० रन बनाए।

बलिङमा विराटनगरका सबै बलर महँगा सावित भए। बलरमध्ये किफायती बनेका डच खेलाडीद्वय भान डेर मर्वे र भान मिकेरेनले ४ ओभरमा मान २५ रन खर्चिए। भान मिकेरेनले १ विकेट लिए। बसन्त रेग्मीले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए।

करण केसीले ४ ओभरमा ५४ रन खर्चिए। कप्तान पारस खड्काले ३ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell