PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

प्रदेश १ मा प्रदेश लिग र अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल हुने, प्रदेश सरकारले दुवै प्रतियोगिताको लागि पाँच वर्षसम्म वार्षिक १ करोड दिने



पहिलोपोस्ट

प्रदेश १ मा प्रदेश लिग र अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल हुने, प्रदेश सरकारले दुवै प्रतियोगिताको लागि पाँच वर्षसम्म वार्षिक १ करोड दिने

विराटनगर : अखिल नेपाल फुटबल संघ एन्फाले प्रदेश नम्वर १ मा दुई ठूला फुटबल प्रतियोगिता आयोजना गर्ने गरी प्रदेश नम्वर १ सरकारसँग पाँच वर्षको लागि सम्झौता गरेको छ।

देश संघिय संरचनामा गइसकेको र फुटबललाई पनि त्यही अनुसार प्रदेश संरचनामा लैजाने निर्णय गरेको एन्फाले आफ्नो आयोजनामा प्रदेश नम्वर १ सरकारको सहकार्यमा मुख्यमन्त्री कप प्रदेश स्तरिय लिग फुटबल आयोजना गर्ने भएको हो।

उक्त लिग सञ्चालनको लागि प्रदेश १ सरकारबाट नगद १ करोड उपलब्ध गराइने सम्झौता भएको छ। यस्तै अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता प्रदेश १ पनि आयोजना हुने भएको छ। यसका प्रतियोगिता सञ्चालन गर्न प्रदेश सरकारले एन्फा र प्रदेश खेलकुद बोर्डको परामर्शमा मन्त्रिपरिषदद्वारा गठिन आयोजक समितिलाई १ करोड नगद उपलब्ध गराउने निर्णय गरेको छ।

दुवै प्रतियोगिताको लागि प्रदेश १ सरकारले एन्फासँग पाँच वर्षको लागि कूल १० करोडको सम्झौता गरेको हो। प्रदेश सरकारले दुइ प्रतियोगितालाई पाँच वर्षसम्म वार्षिक १-१ करोड उपलब्ध गराउनेछ।

यससम्बन्धी सम्झौता पत्रमा प्रदेश नम्वर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र एन्फाको तर्फबाट अध्यक्ष कर्मा छिरिङ शेर्पाले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ।

प्रदेश स्तरिय लिग एन्फाले गर्ने र आमन्त्रण प्रतियोगिता प्रदेश सरकारसँगको सहकार्यमा आयोजक समिति बनाएर गर्ने एन्फा प्रवक्दा किरण राईले जानकारी दिए।

'हामीले प्रदेश एक बाट यो अभियान सुरु गरेका छौँ। अब प्रदेश ३ सँग छलफल हुँदैछ र अन्य प्रदेशहरुमा पनि प्रदेश स्तरिय लिग गर्ने योजनामा छौँ।' राईले भने।

दुवै प्रतियोगिताको मिति भने सार्वजनिक गरिएको छैन। अहिले ए डिभिजन लिग सञ्चालन भइरहेको छ र यो पुषसम्म चल्नेछ। त्यसपछि एन्फाले पाँच महिनाका लागि मोसफलमा हुने २३ गोल्डकपको लागि मिति छुट्याइसकेको छ। त्यसैले प्रदेश १ मा हुने यो दुई प्रतियोगिता वैशाख/जेठ मा आयोजना हुने प्रवक्ता राईले बताए।

प्रदेश १ स्तरिय लिगमा प्रदेश १ अन्तर्गत रहेका १४ जिल्लाका फुटबल टिमलाई अनिवार्य सहभागि गराउने निर्णय भएको छ। यस लिगमा पहिलो र दोस्रो हुने टिमले अन्तर प्रदेश स्तरिय प्रतियोगिता (एन्फा प्रेसिडेन्ट कप) मा सहभागिता जनाउन पाउनेछ।

यस लिग आयोजना र सञ्चाल गर्न प्रदेश सरकारसँग परामर्श गरी एन्फाले प्रदेश स्तरिय लिग कमिटि निर्माण गर्ने विज्ञप्तीमा जनाइएको छ।

यसैगरी प्रदेश सरकारको सहकार्यमा अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगितसमेत हुनेछ। यस प्रतियोगितामा सात प्रदेशका उत्कृष्ट टिमहरु,  ए डिभिजनका क्लबमध्येबाट उत्कृष्ट ६ (पहिलो देखि छैटौँ) र विदेशी आमन्त्रित फुटबल टिमहरु (३) गरी बढीमा १६ टिमको सहभागिता रहनेछ।

सम्झौता कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै राष्ट्र र प्रदेशको पहिचान एवं प्रतिष्ठा खेलकूदबाट बढ्ने हुँदा खेल र खेलाडीको मनोबल बढाउन प्रदेश सरकार लागिपर्ने बताए।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले यस प्रदेशस्थित केही खेलकूद मैदानलाई छनौट गरी अन्तर्राष्ट्रियस्तरको बनाउने योजनामा सरकार रहेको बताए।

अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलकूद क्षेत्रको विकास तथा विस्तारका लागि प्रदेश सरकारले ठोस योजना तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell