PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हत्तेरी यो जाम! यसैले लिइरहेको छ ज्युँदाको ज्यान

हत्तेरी यो जाम! यसैले लिइरहेको छ ज्युँदाको ज्यान

सागर बुढाथोकी/पहिलोपोस्ट


मंसिर २३ गतेको साँझ। रातको साढे सात बजे। भक्तपुरको कौशलटारदेखि कोटेश्वरसम्म लामबद्ध भएका गाडीहरु हर्न बजाइरहेका छन्। अफिस आवर सकिए पनि चर्को जाम छ। उपत्यकामा निषेध गरिएको हर्न लगातार बजाए पनि उनीहरुको अगाडि बढ्ने प्रयास असफल भएको छ।

त्यही बेला गठ्ठाघरस्थित नागरिक अस्पतालको एम्बुलेन्स साइरन बजाउँदै आयो। कौशलटारबाट अलि अघि बढेकाले उक्त एम्बुलेन्स विपरीत दिशाबाट हुइँकिन पाएन। कौशलटार र लोकन्थलीको जाममा साइरन बजाउँदै बसिरह्यो।

घण्टौ जाममा फस्नु उपत्यकावासीकै समस्या हो। जाम यहाँ नौलो होइन। तर, 'सिकिस्त बिरामी लिएर अस्पताल हिडेको एम्बुलेन्स यसरी घण्टौ जाममा फस्यो भने के हुन्छ?

दुई महिना अघि जडीबुटीमा यस्तै ट्राफिक जाम थियो। कौशलटारबाट चालिस मिनेटमा पनि जडीबुटी कट्न सक्ने अवस्था थिएन। कतिपय मानिस त गाडीबाट झरेर हिँडिरहेका थिए। तर, टाढा पुग्नेहरुको लागि गाडीबाट ओर्लेर हिँड्नु सम्भव थिएन। जे जस्तै भएपनि सहनु नै पर्थ्यो।

त्यतिबेला गाडीमा कसैले सुनायो, 'लोकन्थलीमा जाममा फसेको एम्बुलेन्सभित्रै बिरामी मरे रे!' 

गाडीका यात्रुले तत्कालै 'रियाक्सन' जनाए।

'बिचरा, को थियो होला?'

'थुक्क हामी नेपालीको भाग्य।'

'यो देशमा केही गरे पनि हुन्न्।'

'नेताहरु त हेलिकप्टर चढिहाल्छन्। मर्ने जनता त हुन्।'

यति सुनेलगत्तै गाडीबाट झरेर त्यतातिर पुग्दा एम्बुलेन्स लोकन्थलीमा थिएन। भर्खरै हिँडेको रहेछ। त्यहाँको मानिसहरुसँग बुझ्दा थाहा भयो गंगालाल अस्पताल लिएर हिँडेको मुटुका बिरामी परेका रहेछन्। त्यहाँ केही क्षण रुवाबासी भएछ। स्थिति सम्हाल्न गाह्रो। घटनाको बारेमा मलाई जानकारी दिनेहरु बिरक्तिएका थिए। भन्दैथिए, 'मर्नु नपर्ने कारणले मरिरहेका छौं। हेर्नुस् त यसरी घण्टौँ जाम नहुने भए आज यस्तो घटना घट्थ्यो?'

***

यसरी एम्बुलेन्स जाममा फसेर बिरामी मरेका कथा हरेक एम्बुलेन्स चालकसँग छ। केही एम्बुलेन्स चालकहरुले भेटमा भनेका थिए, ‘जामले गर्दा समयमा बिरामी पुर्याउन सकिँदैन। हाम्रो उपाय नै केही हुँदैन, चाहेर पनि हामी बिरामी बचाउन सक्दैनौँ। रोगले भन्दा जामले धेरै बिरामी मर्ने भए।'

एम्बुलेन्स चालक मणिन्द्र थापा ७ वर्षदेखि यही पेशामा कार्यरत छन्। दिनहुँ उनले यस्तो घटना देख्दै आइरहेका छन्। उनी सुनाउँछन्, ‘ट्राफिक जामको कारणले मेरो एम्बुलेन्समै २ जनाले ज्यान गुमाए। ३० मिनेट भन्दा लामो जाममा फसेकाले उनीहरुलाई मैले बचाउन सकिन।’

३५ वर्षका मुटुको बिरामीलाई थापाले नागरिक अस्पतालबाट गंगालाल लिएर गएका थिए। अपरान्ह ५ बजे कोटेश्वरको जाममा फसे। बल्लतल्ल त्यहाँबाट पार भएका उनी फेरि गौशालाको जाममा परे। बैकल्पिक बाटो समेत नभएकाले कुर्नुको विकल्प थिएन। बल्लतल्ल जाम खुल्यो। एम्बुलेन्स अगाडि नबढाउँदै विरामीको ज्यान गयो। १३ मिनेटमा पुग्ने ठाउँ जामका कारण १ घण्टा भन्दा बढी समय लागिसकेको थियो।

यो २ वर्षअघिको घटना थियो। ६ महिना अघि पनि विरामीलाई गंगालाल लिएर जाँदा बाटोमै ज्यान गएको थियो। त्यसको कारण पनि ट्राफिक जाम नै थियो।

अर्का एम्बुलेन्स चालक कृष्ण प्रसाद पराजुलीले पनि ट्राफिक जामले धेरै समस्या भोगेको सुनाउँछन्। एम्बुलेन्स चलाएको ६ वर्षमा ३ पटक त जामकै कारणले उनको एम्बुलेन्समा बच्चा जन्मिएको थियो।
 
अर्का एम्बुलेन्स चालक दीपक घजु जामकै कारण हरेक दिन अत्यन्तै प्रेसर हुने बताउँछन्। गंगालाल, न्यूरो, थापाथली प्रसुती गृह र छाउनी अस्पताल रुटमा 'रिस्की' बिरामीहरु पर्ने भएकाले त्यता जान डर लाग्छ उनलाई।

४ महिना अघिको उदाहरण- एभरेस्ट हस्पिटलमा १२ वर्ष जतिको बच्चा ल्याइयो। त्यहाँ उपचार नहुने भएपछि डाक्टरले कान्ति बाल अस्पताल रिफर गरे। बच्चा बेहोस थियो। 'छिटोछिटो' भन्दै बच्चाकी आमा रोइरहेकी थिइन्। तर, बाटो पूरै जाम। 'बल्लतल्ल अस्पताल पुग्यौँ। म आफैँले बच्चालाई अस्पताल इमर्जेन्सीसम्म बोकेर लगेँ,' एभरेष्ट हस्पिटलका एम्बुलेन्स चालक रामकृष्ण भुजेलले पीडादायी घटना सुनाए, 'समयमा ल्याएको भए बच्चा बचाउन सकिन्थ्यो भन्दै डाक्टरले बच्चालाई मृत घोषणा गरे।’
 
त्यसैले अहिले उनलाई जाम देख्यो कि चिन्ता लाग्छ, ‘कतै जामकै कारण बिरामीलाई अस्पताल पुर्याउन नसकेर मृत्यु हुने त होइन?’


ट्रेन्डिङ पोस्ट

Ncell