PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

श्रीलंकाली राष्ट्रपतिद्वारा नियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षेद्वारा राजीनामा



श्रीलंकाली राष्ट्रपतिद्वारा नियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षेद्वारा राजीनामा

कोलोम्बो : श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा नियुक्त गरिएका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन्।  

राजापाक्षेले देशमा देखिएको राजनीतिक संकट समाधानका लागि मार्ग प्रशस्त गर्दै स्थायित्वका लागि राजीनामा दिएको बताएका छन्। 

अक्टोबर २६ मा श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलाई अपदस्थ गरी नाटकीय ढंगमा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि त्यहाँ राजनीतिक अस्थिरता बढेको थियो।

एक वक्तव्य जारी गर्दै राजापाक्षेले आम निर्वाचनबिना आफूलाई प्रधानमन्त्रीका रुपमा बस्ने कुनै इच्छा नरहेको बताएका छन्। यस्तै, उनले अब देशमा विद्यमान रहेको राजनीतिक संकट समाधान गर्न प्रान्तीय र संसदीय निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। आगामी दिनमा आफ्नो पार्टीले सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने उनले उल्लेख गरेका छन्। 

जनताको चाहना अनुसार बनेको आफ्नो सरकारको अन्त्य भएको तर जनताले चाहेको परिवर्तन कसैले पनि चाहेर परिवर्तन गर्न नसक्ने राजापाक्षेले बताएका छन्। 

राष्ट्रपतिले प्रधानमन्त्रीका रुपमा नियुक्त गरे पनि संसद र सर्वोच्च अदालतले भने उनको नियुक्ति स्वीकार गरेको थिएन। संसदले दुईपटक उनीविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको थियो भने सर्वोच्चले उनको सरकारलाई काम गर्न प्रतिबन्ध लगाएको थियो।

राजापाक्षेको राजीनामासँगै श्रीलंकाको युनाइटेड नेश्नल पार्टीका नेता एवंम पूर्व प्रधानमन्त्री रनिल विक्रमासिङ्गे नयाँ प्रधानमन्त्री बन्ने प्राय निश्चित भएको श्रीलंकाली संचारमाध्यमले जनाएको छ। उनले आइतवार प्रधानमन्त्रीको सपथ लिन सक्ने बताइएको छ।

केही दिन अघि संसदले अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलाई पुन: प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रस्ताव पारित गरेको थियो। शुक्रवार सिरिसेनाले भने विक्रमासिङ्गेसँग पुन: काम नगर्ने प्रतिक्रिया दिएका थिए। तर अहिले विक्रमासिङ्गेलाई प्रधानमन्त्री बनाउन सिरिसेना सहमत भएको बताइएको छ। 

राजापाक्षेको राजीनामापछि गठन हुने नयाँ सरकारको नेतृत्व र उसले गर्ने कामका आधारमा श्रीलंकाली राजनीतिमा देखिएको अस्थिरता समाधान हुने विश्वास लिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell