PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

दुई तिहाईको कम्युनिस्ट सरकारको राष्ट्रियता कमजोर, अबको निर्वाचनमा ने क पाले गम्भिर धक्का खाने वामदेवको विश्लेषण



विधुर ढकाल

दुई तिहाईको कम्युनिस्ट सरकारको राष्ट्रियता कमजोर, अबको निर्वाचनमा ने क पाले गम्भिर धक्का खाने वामदेवको विश्लेषण

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतमले कम्युनिस्टको सरकार भएकै बेला नेपालको राष्ट्रियता खतरामा परेको टिप्पणी गरेका छन्। शनिबार बसेको पार्टीको स्थायी कमिटीको बैठकमा उनले पेश गरेको फरक मतमा यस्तो आरोप लगाएका हुन्।

‘नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाई समर्थन प्राप्त सरकार भएको अवस्थामा नेपालको राष्ट्रियतासँग सम्बन्धित विषयहरुमा कमजोरी देखापर्न थालेका छन्,’ उनको फरक मतमा अगाडि भनिएको छ, ‘बहुराष्ट्रिय सैनिक अभ्यासमा नेपालको सहभागिता, बेलायती सेनामा नेपाली महिलाहरुको भर्तिको शुरवातदेखि एशिया–प्रशान्त क्षेत्रीय सम्मेलनका साथै नागरिकतासम्बन्धी विधेयकमा यस्ता कमजोरी प्रकट भएका छन्।’

उनले नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकारले राष्ट्रियताको झण्डालाई बुलन्द गर्न नसके भविष्यमा हुने निर्वाचनमा पार्टीले ठूलो धक्का खाने विश्लेषण गरे।

‘भविष्यमा जनताको प्रतिक्रिया कस्तो होला? समयमै विचार गर्नुपर्छ की!,’ उनले अगाडि भनेका छन्, नेपाली इतिहासको पहिलो स्थीर र शक्तिशाली सरकारको यही गति र अवस्था रह्यो भने अब हुने आमनिर्वाचनमा सरकारले आफूलाई मात्र होइन इतिहासको पहिलो शक्तिशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई समेत गंभीर धक्का लगाउने पक्का देखिन्छ।’

कार्यकर्ता बेरोजगार भए

नेता गौतमले पार्टी एकताको सात महिना बित्दा पार्टीका सात लाख सदस्य बेरोजगार भएको बताएका छन्।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का करिब ७ लाख पार्टी सदस्यहरु तथा लाखौं समर्थक र शुभचिन्तकहरुमा सरकारको गतिहिनता र पार्टीमा संगठनात्मक शून्यताका कारण कुण्ठा, निराशा र हतोत्साह देखापर्न थालेको छ,’ थप भनिएको छ, ‘निर्वाचन पछि आज एक वर्षसम्म पार्टी सदस्यहरुले कुनै गतिविधि गर्न नपाउनु पार्टी एकीकरण पछि ७ महिनासम्म संगठीत हुन नपाउनु, आफ्नै पार्टी अध्यक्षको नेतृत्वमा रहेको सरकारका काम कारबाहीमा भाग लिन नपाउनु, पार्टी एकीकरण जस्ता यति ठूल्ठूला परिवर्तनमा आफ्ना विचार राख्न नपाउनु र तमाम घटनाहरुमा पार्टीका दृष्टिकोणहरु आधिकारिक रुपले प्राप्त गर्न नसक्नु तथा पार्टी सदस्यता दिने, नविकरण गर्ने जस्ता अत्यावश्यक संगठनात्मक कामहरु ठप्प हुनुका कारणहरु सिंगो पार्टी पंक्तिले बुझ्न चाहेको छ। तर, पार्टीको मुख्य नेतृत्व कार्यकर्ताहरुलाई ओठे जवाफ दिएर चुप लगाउने कोशिश गर्दैछ।’

उनले केन्द्रीय सदस्यहरु अहिलेसम्म परिचालित हुन नसकेको भन्दै केन्दीय कमिटी निर्वाचन आयोगमा दर्ता गर्ने वेलामा निवेदनमा हस्ताक्षर गर्नु बाहेक कुनै अर्को काम नगरेको उनले टिप्पणी गरे।

पार्टीको टाउको हल्लियो हात खुट्टा पलाएकै छैनन्

नेता गौतमको फरक मतमा पार्टी एकताको सात महिना पुग्दा पार्टीका हात खुट्टा पलाउन नसकेको उल्लेख गरेका छन्।

‘कुनै पनि राजनीतिक पार्टीका निम्ति केन्द्रीय कमिटी टाउको हो भने त्यसका मातहत कमिटीहरु हात खुट्टा झैं अवयवका रुपमा रहेका हुन्छन्। आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संग केही सिद्धान्त, विचार र नीतिसहितको टाउको त छ, तर हात र खुट्टासहितको अवयव छैन,’ फरक मतमा अगाडि भनिएको छ, ‘६ महिनासम्म यो पार्टीको टाउको त केही हदसम्म चलमलाएको देखिन्छ तर हात र खुट्टासहितका अवयवहरु बनेकै छैनन्। बनेका कमिटीका बैठकहरु पनि हुनसकेका छैनन्। केन्द्रीय कमिटीका सदस्यहरुको अहिलेसम्म कार्य्विभाजन भएको छैन। कार्य्विभाजन नभएपछि केन्द्रीय कमिटी सदस्य हुनु र नहुनुमा केही फरक परेको छैन।’

‘७ लाख पार्टी सदस्यहरुले केन्द्रीय कार्यालय तर्फ मुख फर्काएर बसेका छन् तर उनीहरुले सिंगो पार्टीको अनुहार देख्न पाएका छैनन्,’ उनले अगाडि भनेका छन्, ‘केही महिना पहिले मात्र नेकपाका दुई ठूला पार्टीलाई मतदान गरेका झण्डै ५० लाख जनता पार्टीलाई खोज्न आँखा घुमाउछन् तर पार्टी कहीँ पाउँदैनन्। यति ठूलो शक्तिशाली पार्टीको यो अवस्था! कसैले पत्याउन सक्दैन। तर पार्टीको बेहाल अवस्था बस्तुगत सत्य भएको  छ।’

उनले पार्टीको राजनीतिक प्रतिवेदन पनि गायब पारिएको आरोप लगाएका छन्। ‘पार्टीले राजनीतिक प्रतिवेदन, विधान र त्यसको नियमावली गरी तीन वटा दस्तावेजहरु पारित गरेको हो। तर राजनीतिक प्रतिवेदन ७ महिनादेखि गायव छ,’ फरक मतमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell