PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

श्लेषमान्तक वनमा निर्मित ‘कन्क्रिट’ परिपथ सम्पदा बचाउ अभियन्ताले भत्काए, ५ जना प्रहरीको नियन्त्रणमा



सहयोग रञ्जित

श्लेषमान्तक वनमा निर्मित ‘कन्क्रिट’ परिपथ सम्पदा बचाउ अभियन्ताले भत्काए, ५ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं: विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रस्थित श्लेषमान्तक वन र विश्वरुपा मन्दिर क्षेत्रमा  निर्माण भइरहेको परिपथ, सम्पदा बचाउ अभियानका अभियान्ताहरुले भत्काएका छन्।

निर्माण गरिएको परिपथ भत्काएको भन्दै अभियानको नेतृत्व गरिरहेका गणपतिलाल श्रेष्ठसहित ५ जना सम्पदा अभियान्ताहरुलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ। हाल उनीहरुलार्इ प्रहरी वृत्त गौशालामा राखिएको छ।

सर्वोच्चले निर्माण कार्य रोक्न दिएको आदेशको प्रतिलिपि उनीहरुले ठेकेदारका प्रतिनिधि र त्यहाँ उपस्थित प्रहरीलार्इ बुझाउँदै सांकेतिक विरोध गरेका थिए।

 बिच्छयाइएका ढुंगाहरु निकालेको कारण उनीहरुलाई नियन्त्रणमा लिइएको गौशाला वृत्तका प्रमुख सुनिल मल्लले जानकारी दिए। 

सम्पदा अभियान्ताहरुले उनीहरुलाई नियन्त्रणमा लिएको अवस्थाले राज्य जीवन्त सम्पदाहरु संरक्षणभन्दा विनाशतर्फ उनमुख देखिएको आरोप लगाए। नियन्त्रणमा लिइएका अभियान्ताहरुलाई तत्काल रिहा गर्दै वार्ताको माध्यमबाट समस्या सुल्झाउन उनीहरुले माग गरेका छन्। पशुपति विकास कोषले सम्पदाको विषयमा राजनीति गरिरहेको उनीहरुले आरोप लगाएका छन्। 

प्रहरीले एकपक्षलार्इ मात्र दु:ख दिएको अभियान्ताहरुको गुनासो छ। तर वृत्त प्रमुख मल्लले भने पशुपति विकास कोषबाट कोही नआएकाले छलफल सुरु नभएको जानकारी दिए। नियन्त्रणमा लिइएकाहरुलाई छलफलपछि रिहा गरिने समेत बताए।

विश्व सम्पदा सूचीमा रहेको भागमा सिमेन्ट, बालुवा, कन्क्रिट, इट्टा जस्ता आधुनिक निर्माण समाग्रीको प्रयोग गरिएको भन्दै त्यसले पशुपतिको महत्व घटाउने उनीहरुको तर्क छ।  

हाल भूकम्पले क्षतिग्रस्त विश्वरुपा मन्दिरदेखि श्लेशमान्तक वन परिसरमा बाटो निर्माण कार्य भइरहेको छ। प्रहरीले 'माथिको आदेश' भन्दै विश्वरुपा मन्दिरभित्र तस्विर खिच्न दिएन।

सर्वोच्चले समेत वन क्षेत्रको प्राकृतिक बनावट नबिग्रने गरि निर्माण कार्य गर्नु भनेर आदेश दिएको अवस्था र पुरातत्व विभागले समेत निर्माण कार्य रोक्न दिएको निर्देशन अटेर गर्दै कोषले मनोमानी ढंगमा निर्माण कार्य सुरु गरेको आरोप छ।

यसअघि पशुपति क्षेत्र विकास कोषमा अभियान्ता र कोषका अधिकारीहरुबीच छलफल भएको थियो। कोषका सदस्य सचिव प्रदिप ढकाल लगायत कोषका पदाधिकारीहरु भने कार्यालयमा उपस्थित थिएनन्। अभियान्ताहरुले कोषका वरिष्ठ निर्देशक श्याम शेखर झालार्इ विरोध पत्र दिँदै निर्माणकार्य तत्काल बन्द गर्न आग्रह गरेका थिए। तर सदस्य सचिव नभएकाले आफूलार्इ सो अधिकार नभएको भनेपछि अभियान्ताहरु आक्रोषित भए। सदस्य सचिवसँग फोनबाट कुरा गर्न खोजिए पनि त्यो सम्भव भएन। कुनै विकल्प नदेखेको भन्दै उनीहरुले विश्वरुपा मन्दिर पुगेर निर्माण गरिएका ढुंगाहरु भत्काएका हुन्। 

दुई महिनाअघि कोषसँग निर्माण कार्य रोक्ने सहमति भएको अभियान्ताहरुले बताए। तर कोषले निर्माण कार्य पुन: सुरु गरेकाले तत्काल रोक्न उनीहरुले कार्यलयमा गएर विरोध पत्र समेत बुझाएका थिए।

अधिवक्ता समेत रहेका संजय अधिकारीले कोषले सर्वोच्चले दिएको निर्देशन पालना नगरेको भन्दै कोषबाट सर्वोच्चको अपमान भएको जनाए।

वनको बीचमा बाटो बनाउने कार्यले पशुपतिको ढुकुटीको दुरुपयोग गरेको हुनसक्ने आशंका सहभागीहरुको छ। गिट्टी, बालुवा, कन्क्रिटको प्रयोग गर्दै जमिन मुनी पानी जाने प्रक्रिया रोकेको र यसबाट पवित्र पशुपति क्षेत्रमा भूक्षय हुन खतरा रहेको तर्क अघि सारे।

विश्वरुपा क्षेत्रमा बनाइएका संरचना देख्दा आफूलाई दु:ख लागेको बताउने अर्जुन राणा मगर भन्छन् ,' संसारमा विश्वरुपाको मन्दिर यहीमात्रै छ। भूकम्पले भत्किएपछि त्यसको निर्माणबारे कोषले सोच्नुपर्ने हो। तर मन्दिर बनाउनुको साटो अबैध बाटो निर्माण गरिरहेको छ।' कन्क्रिटको बाटो हेर्न पर्यटक नआउने उनको निचोड रहेको छ।

सम्पदा संरक्षण अभियानको नेतृत्व गरिरहेका गणपतिलाल श्रेष्ठले पशुपति विकास कोष भएको नाताले आफूहरुले यसको संचालनबारे धेरै ध्यान नदिएको तर सबैभन्दा धेरै समस्या कोषमा नै देखिएको बताए। पशुपति क्षेत्रलाई विश्व सम्पदा सूचीबाट हटाउने बारे युनेस्कोले पहिला पनि सचेत गराएको र मनोमानी कार्य नरोके पशुपति क्षेत्रको महत्व विश्वसामु घट्ने बताए।

कोषको तर्फबाट उपस्थित निर्देशक झाले भने सदस्य सचिवलाई त्यसबारे जानकारी गराउने बताए। भने,’अभियन्ताहरु पक्राउ परेको बारे कुनै जानकारी छैन।‘ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell