PahiloPost

Jun 18, 2019 | ३ असार २०७६

'जनयुद्ध'का घाइते लडाकुको आक्रोश: यस्तो अन्याय गर्लान् भन्ने थियो भने कमाण्डरलाई नै बमले उडाइदिन्थ्यौं

'जनयुद्ध'का घाइते लडाकुको आक्रोश: यस्तो अन्याय गर्लान् भन्ने थियो भने कमाण्डरलाई नै बमले उडाइदिन्थ्यौं

सागर बुढाथोकी/पहिलोपोस्ट


काठमाडौं : माइतीघर मण्डलामा ५ जना लम्सार परेर लडिरहेका छन्। मैलो ज्याकेट, फाटेका लुगा। कसैले जुत्ता लगाएका छन् त कोही फुकालेर सुतेका। शरीरमा झिँगा भन्किरहेको। नजिकै बैशाखी पनि लडिरहेको। सबै कुनै न कुनै रुपमा अपाङ्ग। 

'अपांगता भएका व्याक्तिको परिवारलाई रोजगारको व्यवस्था गर।'

'जनयुद्धमा भएका घाइतेलाई उपचार खर्चको व्यवस्था गर।'

'जीवनभर औषधि खाइरहनुपर्ने जनयुद्धका अपाङ्गहरुलाई नि:शुल्क औषधिको व्यवस्था गर।'

यस्ता मागहरु लेखिएका ब्यानर र पम्प्लेट उनीहरुको नजिकै छ। यिनीहरु अरु कोही होइनन्, राज्यको रुपान्तरण गर्ने भन्दै माओवादीको 'जनयुद्ध'मा शरीरका अंग गुमाउनेहरु हुन्। 

मंसिर २७ गतेदेखि खुला आकासमुनि यसरी नै आमरण अनशनमा बसिरहेका छन्। अर्धचेत अवस्थामा रहेका उनीहरुलाई बोलाउन खोज्दा बोल्न नसक्ने इशारा दिन्छन्।

यहाँ बसेका कालीकोटका चन्द्रवीर विक घाइते लडाकु हुन्। छाती र तिघ्रामा गोलीको छर्रा अझै छ उनको। भर्खरै त्यहाँ आइपुगेकाले अनशन भने सुरु गरिसकेका छैनन्। अनशन गर्नकै लागि कालिकोटदेखि काठमाडौँ आएको बताउँछन् उनी। भन्छन्, 'यो अन्तिम आन्दोलन हो। माग पूरा नगरे बिष खाएर सामूहिक आत्महत्या गर्छौं।'

कसरी आयो त यस्तो अवस्था?


चन्द्रवीरका अनुसार द्न्द्वकालका घाइते लडाकुलाई सरकारले अहिलसम्म दीर्घकालीन व्यवस्थापन गरेको छैन। जीवन निर्वाह भत्ता द्वन्द्वकालका घाइतेहरुलाई भन्दा नेताका नजिकका आफन्तलाई बाँडिएको छ। वास्तविक घाइते अपाङ्ग शरीर र शरीरमा गोलीको छर्रा बोकेर बाँचिरहेका छन्। उपचार र औषधिका लागि सरकारले आर्थिक सहयोग गरोस् भन्ने उनीहरुको माग हो।

'हामीलाई प्लेन किन्देउ, करोड रुपैयाँ देउ भनेको हैन्,' चन्द्रवीर भन्छन्, 'हामीलाई अहिलेका नेता, मन्त्रीले गणतन्त्रका लागि लडाएका हुन्। घरमा बस्दा घाइते भएको भए उपचार गरिदे सरकार भन्दै यसरी अनशन बस्दैन थियौं।'

गत कार्तिक २२ गते प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल लगायतको टोलीसँग उनीहरुले भेट गरेका थिए। भेटमा प्रधानमन्त्री ओलीले आश्वासन पनि  दिए। 'मंसिर २ गतेपछि तपाईँहरुका शरीरमा कृत्रिम अंग हुने छैनन्। गोलीको छर्रा झिकिन्छ। तपाईँहरुले अपाङ्ग अनुभूति गर्नुपर्दैन,' ओलीले यसै भनेका थिए।

प्रधानमन्त्रीको आश्वासनले उनीहरु ढुक्क भए। घर फर्किए। तर, मंसिरको तेस्रो साता बित्दा पनि प्रधानमन्त्री कार्यलयले कुनै 'रेस्पोन्स' दिएन। उनीहरु भेट्न गए, भेट्न पनि पाएनन्। मंसिर २३ गते गृह मन्त्रीका स्वकीय सचिवसँग कुराकानी भयो। उनले केही गर्ने सहमति पनि जनाए। तर, त्यो सहमति कार्यान्वयनमा जाँदैन भन्दै गृह मन्त्रालयबाटै फोन आयो। अनि मंसिर २७ गते माइतीघरमा आएर आमरण अनशन बस्न सुरु गरे, उनीहरुले।

'अन्तिम लडाइ' भन्दै उनीहरु माइतीघरमा आएर लम्पसार परेको ५ दिन भइसकेको छ। आजसम्म सरकारले कुनै रेस्पोन्स दिएको छैन। सरकारले माग पूरा नगरे सामुहिक देह त्याग गर्ने 'धम्की' दिएका छन्।
 
दैलेखका नरवीर दमाइको शरीरभित्र गोलीको छर्रा अझै छ।  खुट्टामा पनि रड हालिएको । कालिकोटका संग्रामे सार्की पनि वैशाखीको सहाराबिना हिँड्डुल गर्न सक्दैनन्।

जुम्लाको वीरबहादुर दमाइको आँखा अर्घाखाँचीको आक्रमणमा गुम्यो। उनी एउटा आँखा देख्दैनन्। त्यहीँ लम्पसार परेका उनले भने, 'उपचारका लागि धेरै साथीहरुले घर जग्गा बेचे। तर, पनि गोलीको छर्रा झिक्न सकेनन्। यस्तो भएर बाँच्नु भन्दा त मर्छौ बरु।'

मकवानुरको मंगलसिहं प्रजाको टाउकोमा म्याग्दीकै आक्रमणमा गोलीको छर्रा लाग्यो। खर्च अभावले त्यो  छर्रा अझै झिक्न सकेको छैनन्। बर्दियाको लीला चन्दको पनि अवस्था त्यो भन्दा फरक छैन। चन्दले भने, 'जनयुद्धका घाइतेलाई दिने जीवन निर्वाह भत्ता नपाएका म जस्ता धेरै छन्। त्यसैले हामीले यो आन्दोलन गरेका हौं।' 

चन्दका अनुसार अनशन बस्नेहरु ६० सालभन्दा अघि युद्ध लडेका छन्। अधिकांशले सरकारले दिने जीवन निर्वाह भत्ता समेत नपाएको दावी गरे। घाइतेभन्दा नेताको आसेपासेलाई पैसा पाएकाले आक्रोशित भएको सुनाउँछन्। 'जनयुद्ध लडेर अपांग हुने हामी। परिवार गुमाउने हामी। सत्तामा पुग्ने नेता। जीवन निर्वाह भत्ता पाउने उनीहरुको आसेपासे?,' आक्रोशित हुँदै भन्छन्, 'हाम्रो कमाण्डरले यस्तो अन्याय गर्छन् भन्ने थाहा पाएको भए युद्धमा आफैँ बमले उडादिन्थ्यौं।'

चन्द्रवीरका अनुसार अर्घाखाँची, रूकुम, दाङ र  मुगुको आक्रमणमा घाइते भएकाहरु अहिले अनशन बसिरहेका हुन्। युद्धका अन्य घाइतेहरु पनि अनशन बस्न आउँदै गरेको उनीहरुले सुनाए। 



ट्रेन्डिङ पोस्ट