PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

ब्याज बढाउने प्रतिस्पर्धामा बैंकहरु नै लाग्दा सेयरमा दोहोरो अंकले ओरालो



पहिलोपोस्ट

ब्याज बढाउने प्रतिस्पर्धामा बैंकहरु नै लाग्दा सेयरमा दोहोरो अंकले ओरालो

काठमाडौं : ठूला बैंकहरु नै ब्याज दरमा प्रतिस्पर्धा गर्न थालेपछि शेयर बजार ओरालो लागेको छ। लगानीकर्ताको आन्दोलन र सरकारले पूँजी बजारको सूधारका लागि अध्यन समिति बनाएसँगै लगगातर चार दिनदेखि बढेको शेयर बजार मंगलबार दोहोरो अङ्कले घटेको हो। 

हिमालयन बैंक र नबिल बैंकले समेत ब्याज दर बढाएर साढे १३ प्रतिशत पुर्याएपछि त्यसको असर बजारमा देखिएको हो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १४.६१ अङ्कले घटेर ११६८.१७ अंकमा ओर्लिएको छ। 

गत मङसिर १९ गतेदेखि बजारमा सुधार देखिएको थियो। त्यसयताको कारोबारमा शेयर सूचक एक दिन मात्रै झिनो अङ्कले घट्यो भने बाँकी सबै दिन बजार बढेको थियो। लगातारको वृद्धिले सूचक ६४.६५ अङ्कले उक्लिएको थियो।

बैंकहरुले फेरि ब्याज दरमा बृद्धि गर्न थालेपछि शेयर बजार घटेको इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए। "बैंकको व्याज बढ्छ भन्ने खबरसँगै बजार घटेको हो," ढकालले भने।   

दिनभरिमा १५९ कम्पनीका १४ लाख ७८ हजार कित्ता शेयर किनबेच भएको छ। कुल ५३ करोड २३ लाख रुपैयाँका शेयर किनबेच भएका छन्। सबैभन्दा बढी नेपाल बैंकको पाँच करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। 

उपसूचक मिश्रित देखिएका छन्। १० समूहको कारोबारमा दुई समूह बढेका छन् भने बाँकी सबै समूह घटेका छन्। सबैभन्दा बढी अन्य समूहको उपसूचक ०.७५ प्रतिशतले बढेको छ। निर्जिवन बिमा समूह ३.५२ प्रतिशतले घटेको छ। 

समिट माइक्रोफाइनान्सका शेयरधनीले १० प्रतिशतले कमाएका छन् भने बिजय लघुबित्तका शेयरधनीले करिब आठ प्रतिशतले गुमाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell