PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दुई समयरेखालाई उभ्याउने एउटा मञ्च : अर्थात् 'शकुन्तलाको औंठी'



स्वेच्छा राउत

दुई समयरेखालाई उभ्याउने एउटा मञ्च : अर्थात् 'शकुन्तलाको औंठी'

'यो नाटक डेस्टिनीको बारेमा हो। दु:ख खेप्नु पर्ने बाध्यताको बारेमा हो। महिला पुरुष सम्बन्धको बारेमा हो।' 

शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘शकुन्तलाको औंठी’मा सुनिने संवाद हो यो। संवादले भनेजस्तै नाटककले जिन्दगीका विभिन्न आयामबारे बोल्छ जहाँ कलाकारहरुलाई दुईवटा फरक समय भोग्न र बाँच्न लगाइन्छ। ती कलाकारले दुई युगको कथा भन्छन्, एउटा युग हामी बाँचिरहेको युगसँग पनि मेल खानेखालको छ। 

प्राचिन युगको कथा :
कालिदास लिखित नाटक ‘अभिज्ञान शाकुन्तलम्’लाई मञ्चन गर्ने तयारीमा हुन्छन् निर्देशक कुमार। सोही नाटक रिहर्सलका मुख्य पात्रहरु हुन् ऋषि कन्या शकुन्तला र हस्तिनापुरका राजा दुष्यन्त। एकदिन शिकार खेल्दै गरेका राजा, ऋषि आश्रम छेउ पुग्दा शकुन्तलालाई देख्छन्। आकर्षणले दुवैलाई नजिक्याउँछ। शकुन्तला गर्भवती हुन्छे। तर, दुष्यन्त राजा हस्तिनापुर फर्कन्छ। उसले शकुन्तलालाई बिर्सन्छ। 

नविन युगको कथा:
सोही नाटक मञ्चन तयारीको कथा हो सुरेन्द्र वर्मा लिखित नाटक ‘शकुन्तलाको औंठी’। जसका मुख्य पात्रहरु हुन् कलाकार कनक (दीया मास्के) र नाटक निर्देशक कुमार (सुरज मल्ल) नाटकका लागि शकुन्तला पात्रको खोजी हुन्छन्। त्यसैक्रममा कनक नाटक गर्न एमेचर थिएटर पुग्छिन्। रिहर्सलसँगै कनक र कुमार नजिकिन्छन्। कनक गर्भवती हुन्छे। तर, कुमारका लागि उसको गर्भ स्वीकार्य हुन्न। उ अन्यौलताबीच कनकबाट पर रहन्छ। 

पौराणिक युगकी शकुन्तलाले आफ्नो गर्भमा रहेको बच्चालाई जन्म दिन्छे यद्यपि, दुष्यन्तले स्मरण गुमाएर आफैलाई चिन्दैनन्।

आजकी युगकी कनकले चाहिँ आफ्नो गर्भलाई के गर्छिन्? पतन या पर्दा बाहिरकी अर्की शकुन्तला बन्छिन्? कुमारले पटकपटक सोध्दा प्रष्ट जवाफ दिन्नन्। सायद उनको मौनता जवाफभन्दा बढी प्रतिप्रश्न हो - परिस्थितिबाट भाग्ने, जिम्मेवारीसँग डराउने कुमार जस्ता पात्रलाई। कनकले बच्चा राखिन् कि फालिन्? आज पनि कुमारी आमा ठीक कि बेठीक? बुबा नभएको सन्तानको पहिचान के? भन्नेमा रुमलिएको समाजलाई।

कुमार पात्रले जागिर नहुनुलाई गर्भ स्वीकार्न नसक्ने बहाना बनाउँछ। कनक सबै जिम्मेवारी सम्हाल्न तयार हुन्छे। कुमार पुन: आत्मसम्मानलाई अर्को बहाना बनाउँछ। उक्त घटनाक्रमले बुझाउँछ, समयसँगै महिलाहरु आर्थिक रुपमा त सबल भए तर समाजले महिलालाई हेर्ने र गर्ने व्यवहारको प्रवृत्तिमा कुनै परिवर्तन भएन। 

नाटकले उठान गरेको यो मुद्दा अहिलेको समाजमा पनि नसुल्झिएकै गुत्थी हो। हरेक वर्ष स्वास्थ्य सेवा विभागले सार्वजनिक गर्ने गर्भपतन सम्बन्धी तथ्याङ्कले पनि यही अवस्था बोलिरहेको हुन्छ। यहाँ कानुनी मान्यता बारे जानकार नहुनु, सुरक्षित सेवामा पहुँच नहुनु लगायत कारणहरु जोडिएलान्। तर, गर्भपतनको निर्णयसम्म डोहोर्याउनुमा दुष्यन्त जस्ता पात्रहरु पनि जिम्मेवार हुन्छन् जसले प्रेमिकासँग सम्बन्ध राख्छन् र हराउँछन्। कुमार जस्ता पात्रहरु जिम्मेवार हुन्छन् जो आत्मसम्मान गुम्ने डरले गर्भ तुहाउन दवाव दिन्छन्। 

बरु कनक हर जिम्मेवारी सम्हाल्न तयार हुन्छिन्। कुमारको बेवास्तापछि पनि पुन: रिहर्सलमा फर्कन्छिन्, उनको आत्मसम्मान डगमगाउँदैन। लैङ्गिक समानताको नारा मात्र रट्ने समाजलाई व्यङ्ग्य र सन्देश दुवै पाइन्छ यसमा। 

*** 

निर्देशक कुमार स्क्रिप्ट पढिरहेको दृश्यसँगै नाटक सुरु हुन्छ। उ रिहर्सलका लागि कलाकारहरुलाई पर्खिरहेको छ। सबै जना पालैपालो आउँछन् सुख, दु:ख, पीडा, बाध्यता, रहर र सपनाको कथा लिएर। कसैलाई तीजको दर खान जानु छ त कसैलाई बच्चा स्कूलबाट ल्याएरमा मात्र फुर्सद हुन्छ। श्रीमानलाई एयरपोर्ट छोड्न जानेदेखि नाटककै कारण श्रीमतीको किचकिच सुन्नु पर्ने घटनाक्रमहरु एकै ठाउँमा जम्मा हुन्छ।

केही कलाकार आउँदैनन्। नआउनेहरुको पनि फरक कथा छन्। विजय बरालको मण्डला थिएटरमा नाटक चलिरहेको छ, उ अर्को महिनादेखि मात्र आउन पाउँछ। शकुन्तला बन्न तयार नीशालाई डाक्टरले अचानक बेड रेस्ट गर्न सुझाए। तर, रङ्गमञ्चप्रतिको मोहले नै यी सबैलाई एकै ठाउँमा जोड्छ। 

उनीहरुको कथामार्फत् नेपाली रङ्गमञ्चको अवस्था चित्रण हुन्छ।

यहाँ काम हुन्छ, कमाइ हुँदैन। निर्देशक स्वयम् जीवन चलाउन कुनै कम्पनीमा काम गर्छ। रङ्गमञ्चमा लाग्न हरेक दिन परिवारको किचकिच सहने 'साहस' चाहिन्छ। अभिनयमा लगाव भएकाले कुर्नुपर्छ, दिइएको भूमिकामा चित्त बुझाउनु पर्छ। नाटक नगर्ने विकल्प पनि छ, तर कलाकारहरुमा अभिनयको भोक पनि छ।  

यो रङ्गमञ्चको अभाव र अस्थिरताको चित्र हो। रिहर्सलमा कहिल्यै पूरा टिम एकसाथ देखिँदैन। नाटक मञ्चन अगावै निर्देशक समेत बाहिरिन्छन् - एक हिसाबले ‘अभिज्ञान शाकुन्तलम्’को टिम भत्कन्छ। सत्य यही हो, यहाँ पनि नाटकघर बन्ने र भत्कने क्रम जारी छ। नाटक घरसँगै कलाकारहरु पनि भत्किने क्रम जारी छ। 

रिहर्सलको प्रक्रिया बनावटी लाग्छ - कथा भन्ने मान्छेले आफ्नै कथा बनाइ बनाइ भनेजस्तै। नाटकको पृष्ठभूमि थाहा नभएकाहरुलाई जिज्ञासा लाग्न सक्छ- साँच्चै यति अव्यवस्थित हुन्छ त नाटक बनाउने प्रकिया?  अनि अस्तव्यस्ततालाई यति सहजै स्वीकार्छन् कलाकारले? त्यसो हो भने नेपाली रङ्गमञ्च र नाटकप्रेमीका लागि यो यथार्थ निकै तितो छ।

दीया मास्केले ‘एफेक्टिभ मेमोरी एक्सर्साइज’मा गरेको कामले भने दर्शकको ध्यान खिच्छ। यो मेथडमा कलाकारले विगतको भोगाइलाई पात्रको संवेदनासँग लगेर जोड्छ। जुन भोगाइ विशेषगरी पीडा, डरसँग सम्बन्धित हुन्छ।

पूर्व प्रेमी निलले सम्बन्ध तोडेर गएको घटना सम्झेर कनक बनेकी दीया भक्कानिन्छिन्। उनको रुवाई थोरै पनि बनावटी लाग्दैन। दुष्यन्तले छोडेर जाँदा शकुन्तलामा आँखामा झल्कने पीडासँगै निर्देशकले खोजेकोजस्तो क्रोध पनि ल्याउन सफल हुन्छिन्, उनी। 

उक्त, सिनको रिहर्सल सकिए लगत्तै उनी पुन: कनक पात्रमा परिवर्तित हुन्छिन्। उनको चरित्रसँगै अनुहार र शारीरिक हाउभाउ पनि फेरिन्छ। उनको अभिनय जीवन्त लाग्छ। 

***

विदेशी फेलोसिपको चक्करमा रहेको नाटक निर्देशकको ‘डेस्टिनी’लाई पो कसरी लिने? उसले चाहेको फेलोसीप त पाउँछ तर उसले चाहेको नाटक मञ्चन हुन्छ हुँदैन टुङ्गो छैन। कुमारको जीवनको यो प्राप्तिलाई नेपालीको बढ्दो विदेश मोहसँग जोडेर हेर्न सकिन्छ। अथवा, यतै केही गर्न खोज्दा खोज्दै थाकेर विरक्तिएकाको जीवनसँग जोड्न पनि। 

जिविकोपार्जनका लागि बेग्लै काम गरेर पनि उसले नाटक छोड्न सक्दैन। कार्यालयकै समयमा पनि आफ्नो कामको साटो नाटककै संवाद घोकेर बस्छ। दुईतिरको तालमेल मिलाउँदा मिलाउँदै पनि निराशातिर धकेलिन्छ। कुमार विदेशिनुले व्यक्तिलाई मात्र होइन राज्यलाई नै ऐना अगाडि उभ्याउँछ। किनकि आजको समाजमा विलासिताका लागि विदेशनै जान्छु भन्नेहरु पनि छन् र अवसर खोज्दा खोज्दै थाकेकाहरु पनि। 
कुमार बाहिरिँदै गर्दा कलाकारले सोध्छन् - अब नाटक?  


उसले भन्छ ‘अर्को साता विजय बराल आउँछ अनि गर्नु।’ यो संकेत हुनसक्छ समाजमा अर्को दुष्यन्त वा कुमारको कमी हुने छैन। एउटा गए अर्को आइरहन्छ।


लगत्तै नाटकमा ढिला प्रवेश गर्ने सुदर्शन (अनुप न्यौपाने) ले कनकलाई औंठी लगाइदिन्छ। यसपटक उसको औंठी कुनै प्रप्सको रुपमा प्रयोग हुँदैछैन। उनी बाँधिइन् नयाँ मान्छेसँग। कनकले अब शकुन्तलाको जस्तो औंठी हराउने छिन् या छैनन् दर्शकलाई धारणा बनाउने ठाउँ छोडिदिएका छन् निर्देशकले। 


*** 


एक्टर्स स्टुडियोको प्रस्तुति नाटक ‘शकुन्तलाको औंठी’को नेपाली अनुवाद तथा निर्देशन सुरज मल्लले गरका हुन्। कुमारको रुपमा स्वयम् देखिएका दुईवटा समय बोकेका फरक कथालाई एउटै बनाएर देखाउन सफल भएका छन्। केही दृश्यहरु आवश्यकभन्दा लामा लाग्छन्, जसले छोट्करीमै धेरै कुरा भन्न सक्थ्यो जस्तै : कुमारकी घरबेटी भाउजु कोठामा आउने दृश्य, हल खाली गर्न निर्देशन दिएर गएपछिको दृश्य, कुमारको बिदाइको दृश्य।  

हरेक पटक ‘क्यारेक्टर’मा हुने चियावाला छोटु (सुनिल खड्का)को नाटकप्रतिको मोह आकर्षक लाग्छ। पर्दा पछाडिको तनाव भोगिहरेका कलाकारहरुजस्तै चाह उसमा पनि देखिन्छ। केही आशा बोकेर हुनसक्छ कला देखाउँदै आउँछ। तर, कलाकारहरुले भने नैराश्यता उसँग पनि पोख्छन्। भन्छन्, ’फेस्टिभल गर्ने रङ्गकर्मी त्यस्तै हुन्- चियाको पैसा नै दिँदैनन्।' 

नाटकको सांगीतिक पक्ष सशक्त छ। कुनै घटनाले निम्त्याउने परिस्थिति र ती अवस्थासँगै परिवर्तन हुने पात्रको संवेदनालाई गीतले बोल्छ। जसका लागि धन्यवादका पात्र हुन् गीतकार संयोग गुरागाईं, गायक उत्सव बुढाथोकी, संगीतकर्मीहरु विकास लामा, विशाल नकर्मी र योगेश भुषाल।  


जीवनका निरर्थकता र विवशतापछि भोग्न पर्ने नैराश्यलाई समाज र रङ्गकर्मीको जीवनसँग जोडेर देखाइएको नाटक पुस ७ गतेसम्म मञ्चन हुँदैछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell