PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रिङरोडमा मोनोरेल निर्माणको डिपिआर तयार पार्न चिनियाँ कम्पनीलाई जिम्मा



पहिलोपोस्ट

रिङरोडमा मोनोरेल निर्माणको डिपिआर तयार पार्न चिनियाँ कम्पनीलाई जिम्मा

काठमाडौं : काठमाडौं र ललितपुर महानगरपालिकाले चक्रपथमा मोनोरेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न चिनियाँ कम्पनीलाई जिम्मा दिएको छ।

राजधानीमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र चाइना रेलवे २५औं व्युरो ग्रुप कम्पनी लिमिटेड ओभरसिस विजेनस म्यानेजमेन्ट विभागका प्रमुख झ्यु ग्वाङबिङबीच द्वीपक्षीय सम्झौता (एमओयु) भएको छ।

डिपिआर तयार भएपछि निर्माण कार्य अघि बढाउने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए। 'मोनोरेल निर्माण, सञ्चालन र हस्तान्तरण (बुट प्रणाली) अन्तर्गत तयार हुने छ,' शाक्यले भने।

चक्रपथमा निर्माण गर्न लागिएको मोनोरेलको फिजिविलिट स्टडी पनि सोही चिनियाँ कम्पनीले गरेको थियो। महानगर र चिनियाँ कम्पनीबीच ६ महिनामा फिजिविलिटी रिपोर्ट तयार पार्ने गरी सम्झौता भएको थियो। चिनियाँ कम्पनीले ३ महिनाअघि अध्ययन सकेर गत भदौमा रिपोर्ट बुझाइसकेको छ। 

त्यही फिजिविलिटी रिपोर्टलाई आधार मानेर डिपिआरको जिम्मा पनि उक्त चिनियाँ कम्पनीलाई दिइएको छ। सम्झौता अनुसार चिनियाँ कम्पनीले ६ महिना अध्ययन गरेर डिपिआरको ड्राफ्ट बुझाउने छ। एक वर्षमा भित्रमा फाइनल डिपिआर तयार पारेर काठमाडौं महानगरपालिकालाई बुझाउने छ। चीन सरकारको स्वामित्व रहेको कम्पनीले डिपिआरका लागि लाग्ने सम्पूर्ण लागत आफैले व्यहोर्ने छ।

'हामी सबैको साझा एजेण्डा थियो महानगरपालिकामा ट्राफिक जाम हटाउने। त्यसका लागि हामीले मोनोरेल बनाउन लागेको हौं,' शाक्यले भने।। उनका अनुसार, तीन वर्षमा काठमाडौंको चक्रपथमा मनोरेल कुद्नेछ।

महानगरका अनुसार टेण्डरमा डिपिआर तयार गर्ने कम्पनीले समेत भाग लिन पाउनेछ। तर, निर्माण जिम्मा भने योभन्दा उपयुक्त अरु पाइए उसैलाई दिइने छ। यदि अरु कम्पनीले निर्माणको जिम्मा पाए सम्भाव्यता अध्ययन र डिपिआर निर्माणको लागत चाइना रेलवे २५औं व्युरो ग्रुप कम्पनीले पाउनेछ। यसरी महानगरपालिकालाई कुनै आर्थिक भार नपर्ने गरी सम्झौता गरिएको मेयर शाक्यले दाबी गरे।

सम्झौता अनुसार डिपिआरमा माटो परीक्षणसहित वातावरणीय प्रभाव मुल्याङकन (इआइए), मोनोरेलको डिजाइन, प्राविधिक एवम निर्माण क्षमता, लागत अनुमान, ट्राफिक व्यवस्थापनको अनुमान, योजना संचालनको चरण र लाभ समेत विश्लेषण हुनेछ।

साढे २७ किलोमिटरको चक्रपथमध्ये ललितपुर महानगर क्षेत्रमा १० किलोमिटर पर्दछ। चक्रपथमा अहिलेको अवस्थालाई आंकलन गरी ३ चरणमा निर्माणको काम गर्दा उपयुक्त हुने सम्भाव्यता अध्ययनले देखाएको छ। 

भर्खरै चक्रपथ सुधार एवम विस्तार भएको कोटेश्वर-कलंकी खण्डमा पहिलो चरणमा, कलंकी-महराजगंजमा दोस्रो खण्डमा र महराजगंज-कोटेश्वर तेस्रो खण्डमा निर्माण गर्दा उपयुक्त हुने उल्लेख छ। सम्भाव्यता अध्ययनले देखाएको लागत करिब १ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell