PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जानकी मेडिकल कलेजका ३४ भारतीय विद्यार्थी प्रवेश परीक्षाविनै एमबिबिएस भर्ना, परीक्षा दिन रोक



जानकी मेडिकल कलेजका ३४ भारतीय विद्यार्थी प्रवेश परीक्षाविनै एमबिबिएस भर्ना, परीक्षा दिन रोक

काठमाडौं: जनकपुरको जानकी मेडिकल कलेजले एमबिबिएस कार्यक्रममा प्रवेश परीक्षा नै नदिएका ३४ विद्यार्थीहरुलाई भर्ना गराएपछि विवादमा आएको छ। कलेजले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबिबिएसमा भर्ना गरेको थियो।  
आइओएमको कोटा नै नभएपनि ३४ भारतिय विद्यार्थीलाई कलेजले भर्ना लिएको हो।

चिकिसा शास्त्र अध्ययन संस्थानका डिन डाक्टर जगदिश अग्रवालकाअनुसार एमबिबिएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी र विदेश जाने नेपाली विद्यार्थीले आइओएमको प्रवेश परीक्षा उत्तीर्ण हुनै पर्ने प्रावधान छ। तर, ती ३४ विद्यार्थीले प्रवेश परीक्षा नै दिएका छैनन्।


कलेजले एमबिबिएस प्रथम वर्षको अन्तिम परीक्षाका लागि ८० विद्यार्थीको फर्म आइओएमलाई पठाएको थियो। प्रक्रियाविपरीत भर्ना लिइएका विद्यार्थीहरूलाई आज बिहिवार सुरु हुने परीक्षामा सहभागी हुनबाट आइओएमले वञ्चित गरेको हो।

‘कलेजमा एमबिबिएस पहिलो वर्षमा ४६ विद्यार्थी अध्ययन गरिरहेको तथ्यांक मात्र हामीसँग छ,' डा.अग्रवालले भने, 'बाँकी विद्यार्थीलाई हामीले चिनेका नै छैनौँ। उनीहरुलाई के गर्ने विद्या परिषदको बैठक बसेपछि मात्रै थाहा हुन्छ।'

जानकी मेडिकल कलेजले प्रवेश परीक्षा बिना पढिरहेका विद्यार्थीहरुलाई परीक्षामा सहभागी गराउन अदालतमा हालेको रिट खारेज भएको छ। आइएओएमको प्रवेश परीक्षा नदिएर एमबिबिएसमा भर्ना भएका ३४ भारतीय विद्यार्थीलाई पहिलो वर्षको परीक्षामा सामेल गराउन कलेजले एउटा पुरानो नजिर टेक्दै उच्च अदालत, पाटनमा रिट दिएको थियो। तर, साताअघि अदालतले कलेजको रिट खारेज गरिदिएको छ। 

आइओएमको परीक्षा दिन नपाउने ३४ विद्यार्थी भारतको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल, पञ्जाव, नयाँदिल्ली, गुजरात र राजस्थानका छन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell